जापानी लगानीको कन्सार्इ नेरोल्याकको ट्रेडमार्क खोसिएपछि जापानी राजदूत पुगे वीरगंज




वीरगंज।जापानी संयुक्त लगानीमा संचालनमा रहेको पेन्ट्स उद्योग केएनपीको नेपालका लागि जापानका राजदूत मशासी ओगावाले अवलोकन गरेका छन्।जापानी लगानीमा उत्पादनमूलक क्षेत्रमा लगानी भएको यो पहिलो उद्योग हो।



कन्सार्इ नेरोल्याक पेन्ट्सको ट्रेडमार्क खोसिएपछि राजदूत ओगावा पहिलो पटक वीरगंज आएर उद्योगको अवलोकन गरेका हुन्।वीरगंज जाँदा उनी मात्रै गएनन् जापानी लगानीकर्तालार्इ समेत लिएर गए र लगानीका लागि हौस्याए।

जापानी लगानीको उद्योगको ट्रेडमार्क खोसिएपछि दूतावास समेत सक्रिय भएको थियो।तर 'लोप्रोफाइल'मा बस्ने दूतावासले ट्रेडमार्क खोसिएपछि केही शीर्षत राजनीतिक दललार्इ समेत भेटेर लगानी फिर्ता हुनेसम्मको जानकारी गराएको थियो।‘हाम्रा लगानीकर्ता निराश भएका छन्।बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क पहिलै दर्ता गरेर कब्जा गर्नु नाजायज हो।त्यसलार्इ वैधानिकता दिनु अझ आश्चर्यजनक विषय हो’दूतावासले सरकारी निकायमा गुनासो गर्दै भनेको थियो।



वीरगंजमा राजदूत ओगावाले जापानी लगानीकर्ताको लागि वीरगंज आसपासमा ठुला लगानी गर्ने सम्भावना रहेको बताए ।जापानी लगानीको लागि नेपाल अवसरयुक्त देश भएकोले वीरगंजका व्यवसायीहरुसंग छलफल गरी जापानी लागानीकर्ताहरुले यहाँ लगानी गर्ने वातावरण मिलाउने उनले प्रतिबद्धता गरे ।नेपाली,भारतीय र जापानी लागानीकर्ताको संयुक्त लागनीमा पाँच वर्ष पहिले नेपालमा स्थापना भएको केएनपी जापान उद्योगको प्रगति जापानका व्यवसायीहरुकोलागि प्रेरणाको स्रोत बन्नेमा आफु ढुक्क रहेको उनले जानकारी दिए ।

जापान चेम्बर अफ कमर्श सिङ्गापुरका अध्यक्ष टोचिओरी टाकुहिकोले केएनपी उद्योगको गत वर्षको खुद मुनाफाको बारेमा सुनेर धेरै खुशी लागेको  बताए ।कम्पनीले गत आर्थिक वर्षमा २० प्रतिशत खुद मुनाफा गरेको छ ।यो सफलताको कुरा सुनेर आगामी दिनमा जापानी लागानी भित्र्याउन सहयोग पुग्ने छ,उनले भने ।‘हामी अहिले १२ जनाको समुह वीरगंज आएका छौं ,जसमा जापानी आठ वटा मुख्य कम्पनीहरुका प्रतिनिधिहरु छन् ,’अध्यक्ष टाकुहिकोले भने ,‘यहाँबाट फर्केर सिङ्गापुरमा नेपाल र वीरगंजको सम्भावनाको बारेमा छलफल चलाउँछु,ठुलो लगानी भित्रिने सम्भावना देखेको छु ।’


 
उनले जापानी लागानीकर्ताले कार्गो,व्यापार,वित्त,पर्यटनलगायतको क्षेत्रमा लगानी गर्न चाहेको बताए ।जापानी दूतावासको टोलीमा ओकाडा टाकुया ,कोवायासी नबगहिसा,नोमुरा काजुहिरो,ओमोरी योसीहिको,सुजुकी टाकासिगे ,माट्सुफुजी टेटसुया ,हासिमोटो कोहिइ,कुडो टाकाको,नागाओ केन्टारो ,कोडेरा रिसु,असारी सिगेरु वीरगंज आएका हुन् ।

यसरी खोसिएको थियो ब्राण्ड
माओवादी द्वन्द्व समाप्तिसँगै जापानी वहुराष्ट्रिय कम्पनी 'कान्साइ पेन्ट्स' नेपालमा लगानी गर्ने रणनीतिमा पुग्यो। २०५० सालबाटै कान्साइका उत्पादनहरु नेपालमा बिक्री हुन थालिसकेको थियो।


कारखाना खोलेर उत्पादन थाल्ने योजना अनुसार कान्साइले आफ्नो ७४.२२ प्रतिशत शेयर स्वामित्व रहेको भारतीय कम्पनी कान्साइ नेरोल्याक पेन्ट्स लिमिटेड मार्फत नेपाल भित्रिने रणनीति तय गर्यो। २०६७ सालमा भारतीय कम्पनीले नेपाली 'बेष्ट पार्टनर' खोज्न थाल्यो।

रंगरोगन क्षेत्रमा काम गरिरहेका ४/५ वटा नेपाली लगानीकर्तासँग उसले कुराकानी गर्यो। त्यसबीचमा उसले रुक्मणी केमिकल्स लिमिटेडका श्रवणकुमार गोयलदेखि शालिमार पेन्ट्सका अशोककुमार वैद्यसम्मलाई भेटेर संयुक्त लगानीमा नेपाल आउन चाहेको रणनीति सुनायो।

२०६८ सालमा श्रवणकुमार वैद्यको शालिमार पेन्ट्सको 'मेजोरिटी शेयर' किनेर औपचारिक रुपमा नेपाल भित्रियो। शालिमारमा अशोककुमारसँगै जीवनकुमार अग्रवाल, विजयसिंह वैद्य, राजकुमार वैद्य लगानीकर्ता छन्। शालिमारमा ६८ प्रतिशत शेयर हालेर भित्रिएको कान्साइ नेरोल्याकमा चार जनाको ३२ प्रतिशत शेयर स्वामित्व छ।वीरगञ्जको परवानीपुरमा कारखाना स्थापना गरेर कान्साइ नेरोल्याक पेन्ट्स नेपाल कम्पनीले 'नेरोल्याक' ब्राण्डमा उत्पादन सुरु गर्यो।

आक्रामक बजार विस्तारमा नलाग्दै कम्पनी कानुनी 'लफडा' मा पर्यो। २०७३ फागुन २४ गतेबाट कान्साइ नेरोल्याकले नेपालमा उत्पादन गर्न नपाउने भएको छ। कम्पनीका कान्साइ नेरोल्याक ब्राण्डका सबै उत्पादन कानुनी रुपमै अवैध भएका छन्।


गोयलले हाने छिर्के

वित्तीय क्षेत्रमा समेत लगानी रहेको श्रवणकुमार गोयलसँग नेपाल आउने बारे सामान्य कुराकानी गरेपनि कान्साइ नेरोल्याकले अशोककुमार वैद्यलाई साझेदार रोज्ने पक्कापक्की भयो।

कागजमा सीमित रुक्मणी केमिकल्स प्रालिका मालिक गोयललाई कान्साइ नेरोल्याकसँग जसरी पनि साझेदारी गर्ने महत्वकांक्षा पलायो। उनले कानुनी रुपमै कान्साइलाई रोक्न 'नेरोल्याक' र 'कान्साइ' नामक ब्राण्ड र कम्पनी दर्ता गरे।

उद्योग विभागले गोयलको रुक्मणी केमिकल्स इन्डस्ट्रिजको छोटकरी रुप आरसिआइ जोडेर नेरोल्याक ब्राण्ड दर्ता गरिदियो। अर्थात विभागले नेरोल्याकको एकाधिकार गोयललाई मात्र दिएन।त्यसपछि भारतीय कम्पनी मार्फत आएको कान्साइ नेरोल्याकले पनि ब्राण्ड दर्ता गर्यो। उसले नेरोल्याकमा एकाधिकार पायो।

कान्साइ नेरोल्याक ब्राण्ड र कम्पनीको नाम आफ्नोमा दर्ता भएपछि कम्पनी जसरी पनि आफूसँगै साझेदारी गर्न आउँछ भन्ने बुझाइ गोयलको थियो। तर विभागले ब्राण्ड दर्ता गरिदिएपछि गोयल सपना पुरा भएन।

गोयल कानुनी दाउपेचतिर लागे। नेरोल्याकको वास्तविक उत्पादक पनि गोयलले अनधिकृत रुपमा ब्राण्ड र कम्पनीको नाम होल्ड गरेको आरोपमा अदालत पुग्यो। । गोयलले कान्साइ नेरोल्याक नाम गरेको कम्पनी पनि दर्ता गरेर नाम कब्जा गरिसकेका थिए। भारतीय पक्षले त्यो पनि पाएन। उसले केएनपी जापान भन्ने नाम राख्नु पर्यो।
लफडा ट्रेडमार्क दर्तामा

ट्रेडमार्क दर्ता हुनुहुँदैन र भएको ट्रेडमार्क बदर हुनुपर्छ भन्ने मुद्दा पर्यो। दुवै पक्षले एकले अर्कालाई मुद्दा हाले। विश्वभरीनै नेरोल्याक आफ्नो ब्राण्ड भएकाले नेपालमा पनि आफू मात्र नेरोल्याकको हकदार भएको तर्क भारतीय पक्षको थियो।

उसले २०५० सालबाटै नेपालमा नेरोल्याकका उत्पादनहरु बिक्री वितरण हुन थालेको भन्सार प्रज्ञापनपत्र प्रमाणका रुपमा अदालतमा बुझायो। विभाग हुँदै सुरु भएको मुद्दामा अन्तिम फैसला दिँदै पाटन उच्च अदालतले गोयलको पक्षमा फैसला गर्यो।


Share this Story

   

जापानी लगानीको कन्सार्इ नेरोल्याकको ट्रेडमार्क खोसिएपछि जापानी राजदूत पुगे वीरगंज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.