हिमालयन बैंकमा खेतानले खोजे सञ्चालक पद, सुरु भयो विवाद, श्रेष्ठ समूहलाई पर्यो अफ्ठ्यारो

बिजमाण्डू
२०७४ कात्तिक २६ गते ०९:५० | Nov 12, 2017


काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (वाफिया)ले सञ्चालक समितिमा सात जनालाई सिमित गरेपछि त्यसको असर बैंकको वोर्डमा देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

सात जनाभन्दा बढी सञ्चालक समितिलाई व्यवस्थापन गरेर कसरी सात जनामा झार्ने भन्ने नेपाल राष्ट्र बैंकको स्पष्ट दिशानिर्देश नभएपछि अहिले त्यसको मार हिमालयन बैंकको वोर्डमा परेको हो।

हिमालयन बैंकमा आठ प्रतिशतभन्दा धेरै शेयर हुने छ जना शेयरधनी छन्। त्यसमध्ये सबैभन्दा बढी हबिब बैंकको २० प्रतिशत शेयर छ। हबिबकातर्फबाट सञ्चालक समितिमा सलिम अमलानीलाई सञ्चालक सदस्यमा मनोनयन गरेको छ।

त्यसपछिको ठूलो शेयरधनी कर्मचारी सञ्चय कोष(१४ प्रतिशत)ले जितेन्द्र धिताललाई सञ्चालक समितिमा मनोनयन गरेर पठाएको छ भने तेस्रो ठूलो शेयरधनी एन ट्रेडिङ कम्पनी(१२.७१ प्रतिशत)ले मनोजबहादुर श्रेष्ठलाई सञ्चालक समितिमा मनोनयन गरेको छ। उनी सञ्चालक समितिको अध्यक्ष समेत छन्।

बैंकको चौथो ठूलो शेयरधनीमा खेतान समूहको म्युचुअल ट्रेडिङ कम्पनी (११.८५ प्रतिशत) छ। यो कम्पनीबाट सन् २०१२ सम्म पिपि खेतान सञ्चालक रहँदै आएका थिए। तर दुई ठूला शेयरधनीका रुपमा रहेका मनोजबहादुर श्रेष्ठ(अध्यक्ष) र बैंकका संस्थापक हिमालय शम्सेर राणाका छोरा अशोक राणा (सिईओ)को कार्यकालसम्वन्धी विवादपछि उनले सञ्चालक समितिमा नोट अफ डिसेन्ट लेख्दै बैंकको सञ्चालक पद छाडेका थिए।

श्रेष्ठ र राणावीच एकले अर्कोलाई हटाउने विवाद र त्यसपछि एकले अर्कलाई त्यही पदमा थमौती गर्ने गरी सहमति भएपछि खेतानले २०१२ मा नोट अफ डिसेन्ट लेखेका थिए। त्यसयता बैंकमा म्युचुअल ट्रेडिङका तर्फबाट सञ्चालक मनोनयन हुन सकेको छैन्।

बैंकमा पाँचौ ठूलो सेयरधनी राणा समूहको आभा इन्टरनेशनल(११.३८ प्रतिशत)को तर्फबाट सुशिलविक्रम थापा सञ्चालक छन्। त्यसैगरी बैंकमा छैठौं ठूलो सेयरधनी छायाँ इन्टरनेशनल(८.८९ प्रतिशत)को तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ सञ्चालक छन्। बैंकमा एक जना व्यावसायिक सञ्चालक उपेन्द्रकेशरी न्यौपाने तथा सर्वसाधारण समूहबाट सुरेन्द्र सिलवाल सञ्चालक छन्।

खेतानले खोजे सञ्चालक पद
हिमालयन बैंकमा समग्रमा चौंथो ठूलो सेयरधनी तथा व्यक्तिगत रुपमा दोस्रो ठूलो शेयरधनी खेतान समूहले सदस्य पद खोजेपछि हिमालयन बैंकमा अहिले ठूलो विवाद सिर्जना भएको छ।

खेतानको कम्पनी म्युचअल ट्रेडिङले बाफिया पारित भएपछि भदौ ४ गते हिमालयन बैंकमा आफ्नोतर्फबाट सञ्चालक पदमा मनोनयन गर्न बैंकलाई पत्र लेखेको थियो।

खेतानले प्रसाद ज्ञवालीलाई सञ्चालक चयन गर्न लेखेको पत्रको जवाफ दिंदै हिमालयन बैंकमा पहिल्यै नै सात जना सञ्चालक रहेको र वाफिया तथा नजिक आउँदै गरेको साधारणसभालाई देखाउँदै सञ्चालक मनोनयन गर्न नसकिएको जवाफ दिएको थियो।

त्यसलगत्तै कम्पनीले अविलम्व साधरण सभा बोलाउन बैंकसँग माग गर्दै पत्र लेखेको छ। खेतानको कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डलाई समेत यसको जानकारी दिएको छ। तर बैंकले आर्थिक वर्ष सकिएको चार महिना वित्दा समेत आगामी साधारण सभा आव्हान गरेको छैन्।

चेपुवामा तीन ठूला सेयरधनी
संस्थापकसँग भएको बैंकको ८५ प्रतिशतमध्ये झण्डै ४६ प्रतिशत शेयर साझेदारी भएका हबिब बैंक पाकिस्तान, कर्मचारी सञ्चय कोष र खेतान समूहले लामो समयदेखि अवसर पाउन सकेका छैनन्। बैंकमा श्रेष्ठ समूहले लामो समयदेखि अध्यक्ष तथा राणा समूहले सिईओ पद लिएर एकआपासमा तालमेल गर्दै आएका छन्। बैंकमा १५ प्रतिशत शेयर सर्वसाधरण समूहसँग छ।

साधारण सभामार्फत चुनावबाट सञ्चालक मनोनयन गरेमा हबिब बैंक, कर्मचारी सञ्चय कोष र खेतानसँग एक/एक जना सञ्चालक गरी तीन जना हुनेछन्। श्रेष्ठ  र राणा समूहसँग तीन जना हुनेछन्। सर्वसाधारण समुहबाट निर्वाचित एक जना सञ्चालक बैंकको सञ्चालक समितिको अध्यक्ष चयनका लागि निर्णायक हुने अवस्था हुनेछ। यस्तो अवस्थामा श्रेष्ठ समूह सञ्चालक समितिको अध्यक्ष पदको 'रेस'बाट बाहिर जान सक्छन्।