सँधै टपर प्रविण पन्दाकको ‘मिसन पूँजीबजार’, नायिकाका यस्ता छन् सुधार योजना

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ कात्तिक २७ गते ०९:५२ | Nov 13, 2017
सँधै टपर प्रविण पन्दाकको ‘मिसन पूँजीबजार’, नायिकाका यस्ता छन् सुधार योजना


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत छनौटको प्रतिस्पर्धाको उत्कृष्ठ पाँचौं सूचीमा परेपछि प्रविन पन्दाक धेरैको नजरमा परिन्। त्यसभन्दा धेरैअघि उनी नेपाली चलचित्रकी हिरोइनको रुपमा समेत देखिइन् र चर्चामा आईसकेकी थिइन्, भलै उनले यसैलार्इ मात्र आफ्नो करियरको रूपमा अघि नबढाएकोले स्क्रिनले उनलाई उस्तो फराकिलो परिचय दिन सकेको थिएन।

 
अभिनयमा रुचि भएकी पन्दाक चलचित्रमा भन्दा शैक्षिक र प्रशासनिक क्षेत्रमा अब्बल ठहरिनु संयोग मात्र नभई उनकै मेहनतको नतिजा थियो। विद्यालयदेखि नै अघिल्लो लहरमा देखिने प्रविनले स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरिन्, त्यो पनि दुर्इ दुर्इवटा संकायबाट। अभिनय उनको सानैदेखिको सौख थियो। त्यही सौख पूरा गर्न फिल्म पनि खेलिन् तर फिल्मी क्षेत्र उनको गन्तब्य थिएन, त्यसैले  उनले करियरको बाटो अन्तै मोडिन्। 
 
प्रविन हाल नेपाल स्टक एक्सचेन्जको सातौं तहकी कर्मचारी हुन्। उनले नेप्सेको प्रमुख कार्यकारी छनौटको प्रतिस्पर्धामा आफ्नो करियरको अनुभवसहित नेप्सेलार्इ कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्नेबारेको प्रस्तावसहित प्रमुख कार्यकारी अधिकृतमा आफूभन्दा धेरै पाकाहरुसँग भिडेकी थिइन्।
 
लिम्बु समुदायकी प्रविन ताप्लेजुङबाट काठमाडौं झर्दा आठ कक्षा पढ्दै थिइन्। पद्मोदय स्कूलबाट २०५५ सालमा एसएलसी सकेपछि उनले सिद्धार्थ वनस्थलीबाट व्यवस्थापनमा प्लस टु र ग्लोबल म्याजमेन्टबाट बिबिएस सकिन्। सामान्य आकांक्षाहरु छँदै  थिए अभिनयको हुटहुटीले उनलार्इ डोहोर्यायो।
 
शंकरदेव क्याम्पसमा एमबिएस अध्ययन गरेकी पन्दाकले महिलाको तर्फबाट त्रिभुवन विश्वविद्यालय टप गरिन्।


 
टपर हुनु कम्ता खुशीको कुरा होइन। उनी पनि असाध्यै खुशी भएकी थिइन्। उनको खुशी त्यतिबेला दोब्बर भयो जब उनले कानून संकायको एलएलएममा समेत त्रिभूवन विश्वविद्यालय टप गरिन्। सफलता यसरी उनको पोल्टामा पर्यो कि सबै चकित परे। 'टप गर्छु भनेर त पढेकी थिइनँ' उनी भन्छिन् 'पढार्इमा अब्बल भएर उभिनुले बेग्लै गर्व हुँदोरहेछ।'
 
डबल डिग्री त्यसमा पनि दुर्इवटा गोल्डमेडल लिएर उनी उत्रिइन् सरकारी सेवाको मैदानमा। नेपाल स्टक एक्सचेन्जको छैठौं तहमा खुल्ला प्रतिश्पर्धाबाट छिरेकी प्रविनले त्यहाँ पनि टपर भएर देखाइन्। २०६४ सालमा खुला प्रतिस्पर्धाबाट उनले एक नम्बरमा नाम निकालिन्।
  
हाल सातौं तहमा कार्यरत पन्दाकले अहिले आठौं तहमा खुल्ला प्रतिस्पर्धाको लिखितमा पनि नाम पनि निकालेकी छिन्। आफूलार्इ उत्कृष्ट सावित गरेकी उनले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन दिएर प्रशासनिक क्षेत्रमा पनि टप बन्ने लक्ष्य स्थापित गरिन्। अब उनीसँग आफूलार्इ सावित गर्न पोर्टफोलियो र समय दुबै छ। 
 
सरकारी सेवामा पस्नुअघि उनले विभिन्न कलेजहरूमा दश जोड दुई तथा स्नातक तहमा ७ वर्ष प्राध्यापन समेत गरिन्।  
 
फिल्मी क्षेत्रप्रतिको मोहले उनलार्इ तानेर १५ वर्षअघि नै प्रताप सुब्बाको तालिम इन्स्टिच्यूटमा पुर्यायो। सानैदेखि नाच्न गाउन मन पराउने प्रविनले अभिनयको तालिम लिँदालिँदै फिल्ममा ब्रेक पाइन्। उनमा नृत्यप्रति यति लगाव थियो कि विश्राम नलिइ घण्टौं नाच्न सक्थिन्। सानो छँदा एकपटक लगातार १४ घण्टासम्म नाचेको सुनाउँदा उनी यति फुरुङ्ग परिन् कि उनका आँखाका पुतलीहरु पनि नाचिरहे झैं देखिन्थे। 


 
‘२०५८ मा मैले 'बगर (सङ्घर्ष जिन्दगीको)' भन्ने फिल्ममा ब्रेक पाएँ', उनी नोस्टाल्जिक भइन् 'मैले सह-नायिकाको रुपमा अभिनय गरेँ। हिरोसँग अफेयर चलेको भूमिका मैले गर्नुपर्ने थियो।’ 
 
राजेश हमाल र बिपना थापा लिड रोलमा थिए। लिड रोल नपाएपनि उनले महानायक राजेश हमालसँग अभिनय गर्ने अवसर पाइन्। त्यस्तै उनले शस्त्र र ए सोमिम्मे (ए सोल्टिनी) जस्ता चलचित्रमा पनि अभिनय गरिन्। नरोउ मायालु भन्ने लोकभाकाको म्युजिक भिडियोमा पनि उनले अभिनय गरिन्। औंला भाँच्दा झण्डै एक दर्जन टेलिफिल्ममा अभिनय गरेकी रहिछन् प्रविनले। 
 
‘समय मिलेमा अझै पनि फिल्म खेल्छु’ उनमा अझै पनि अभिनयको हुटहुटी बाँकी रहेछ। सानैदेखिको लगाव रहेको क्षेत्रप्रतिको मोह यति छिटै त के भत्किन्थ्यो र, उनले बताइन्! 
 
जागिरमा मात्र खुम्चिने स्वभाव छैन प्रविनको। उनलार्इ लिम्बु भाषा र संस्कृतिको संरक्षणको लागि पनि काम गर्न मन छ। लिम्बु भाषाको केही सर्ट मुभीमा अभिनय गरेकी प्रविन लिम्बु भाषाको फिल्म तथा डकुमेन्ट्री बनाउन चाहन्छिन्। उनले २०६८ सालमै लिम्बु भाषाको 'लाटो पहाड' भन्ने चलचित्रमा पनि अभिनय गरेकी थिइन्। 
 
कला क्षेत्रमा जम्न नसकेपनि उनले अनुभव निकै बटुलिन्। फिल्मी क्षेत्रका केही कटुसत्यहरु पनि बुझिन्। ‘पढाइमा एक्लै मेहनत गरेपनि सफल भइने तर कला क्षेत्रमा सफल हुन टिम चाहिने रहेछ’ उनले बुझेको कटुसत्य हो यो। पढाइ र जागिरमा सफल भएपनि उनलार्इ सँधै बिझिरहन्छ ‘म कला क्षेत्रमा भने कतै हराएँ।’
 
उनको अर्को चिनारी अधिवक्ता पनि हो। अर्काको कोख भाडामा लिएर सन्तान जन्माउने (सरोगेसी) कार्य नेपालमै ब्यावसायिक रुपमा फस्टाउँदै गएपछि त्यसलार्इ रोक्न उनी र उनको समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। मुद्दामा सुनुवार्इ गर्दै सर्वोच्च अदालतले व्यावसायिक सरोगेसीमा रोक लगाइसकेको छ। त्यस्तै, लिम्बु संस्कृतिसँग जोडिएका पुरातात्विक महत्वका ढुङ्गाहरू विकास निर्माणका क्रममा मासिदै गएकोले त्यस्ता महत्वका ढुङ्गाहरूको संरक्षण गर्री पाऊँ भनी प्रविन तथा उनको समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले त्यस्ता पुरातात्विक एवं ऐतिहासिक महत्वका ढुङ्गाहरूको संरक्षण गर्न सरकारलई परमादेशको आदेश जारी गरिसकेको छ। त्यस्तै, विदेश बस्ने नेपालीहरूले सोही देशको दूतावास तथा वाणिज्य दूतावासमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ भनी सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन छ। 


 
सरकारी सेवामा भिडेर नेपाल स्टक एक्सचेन्ज पस्दा प्रविनलार्इ सँधै लाग्यो नेप्सेमा सुधार गर्नुपर्ने कुराहरु धेरै नै रहेछ। नेप्सेमा प्रयोग भएका प्रविधि तथा कानुनी संरचनाहरु एकदमै प्रारम्भिक अवस्थाका छन्। लगानीकर्ताले आफ्नो अर्डर आफैँले गर्न पाउने व्यवस्था छैन। न कुनै अन्तराष्ट्रिय स्तरको प्रविधि छ न यस क्षेत्रको मनोबल नै उच्च बनाउन सकिएको छ। प्रविन सोचमग्न हुन्छिन्। मनमनै गम्छिन् यसो गर्न पाए उसो गर्न पाए नेप्सेलार्इ कति राम्रो बनाउन सकिन्थ्यो!  
 
यहि मेसोमा उनले नेप्सेलार्इ कसरी सुधार्न सकिन्छ भन्ने प्रपोजल नै तयार पारेर प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धाको दौडमा सामेल भएकी थिइन्। नतिजा उनको पक्षमा नआएपनि उनलार्इ त्यस दौडले अझ फराकिलो क्षितिज देखाएको छ। उनी अझै पनि नेप्सेलार्इ सुधारको बाटोमा लैजाने विषयमै विमर्श गरिरहन्छिन्। 
 
नेप्सेको क्षेत्र एकदमै साँघुरो भएजस्तै लाग्छ प्रविनलार्इ। पहिलो काम त प्रविधिनै अन्तराष्ट्रिय स्तरको हुनुपर्छ। उनी पूँजी बजारको नियमित निरिक्षण हुनुपनि अत्यावश्यक छ भन्छिन्। सरकारको योजना तथा मोडल अन्तर्गत संचालित नेप्सेको दायरा अझै फराकिलो होस् भन्ने उनी चाहन्छिन्। ‘रियल स्टेटलार्इ पनि नेप्सेको दायराभित्र ल्याउन सके क्यापिटल मोबिलाइजेसनमा अझ सशक्त भएर काम गर्न सकिन्छ’ यो प्रविनको बुझाइ हो।