नेपाल राष्ट्र बैंक भन्छ- मूल्यबृद्धि न्यून बिन्दुमा झर्यो, तीन महिना पछि शोधनान्तर बचत

बिजमाण्डू
२०७४ मंसिर ३ गते १९:०७ | Nov 19, 2017
काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको रिपोर्ट अनुसार गत बर्षको तुलनामा मूल्यबृद्धि दर खुम्चिएको छ। गत बर्षको असोजमा ६.७ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति दर यसपाली ३.१ प्रतिशतमा सिमित भएको केन्द्रिय बैंकले जनाएको हो। 
 
उपभोक्ताले तरकारीको चर्को मूल्य बृद्धि खेपि रहनु परेका बेला खाद्यान्न मुद्रास्फीति भने ०.५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ। गत बर्ष खाद्यान्नको मूल्यबृद्धिदर ५.७ प्रतिशत थियो। 
 
तीन महिनामा २० अर्ब ४३ करोड रुपैयाँको वस्तु निर्यात हुँदा आयात दुई खर्ब ५७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। निर्यात ७.९ र आयात १६.९ प्रतिशतले बढेको छ। 
 
मुलुकमा विदेशी मुद्रा भित्र्याउने प्रमुख माध्यमको रुपमा रहेको रेमिट्यान्स बृद्धिदर थप खुम्चएको छ। राष्ट्र बैंकका अनुसार असोजसम्ममा गत बर्षको सोही अवधिको तुलनामा २.६ प्रतिशतले बृद्धि भइ रेमिट्यान्स एक खर्ब ७६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो। गत बर्षको असोजमा रेमिट्यान आप्रवाह ३.२ प्रतिशतले बढेको थियो। 
 
चालु आर्थिक वर्षको पहिलो दुर्इ महिना लगातार घाटामा रहेको शोधानान्तर (मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) अवस्था असोजमा बचतमा फर्केको छ। आर्थिक बर्षको पहिलो तीन महिनामा चार अर्ब २७ करोड रुपैयाँले सोधनान्तषर बचत भएको हो। गत वर्षको असोजमा शोधानान्तर अवस्था १९ अर्ब ७० करोडले बचतमा रहेको थियो। सोधनान्तर बचत भए पनि असोजमा चालु खाता घाटा २१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
 
गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा असोजमा बढेर १० खर्ब ९९ अर्ब ८२ करोड पुगेको छ। 

Tata
GBIME
Nepal Life