कम्युनिस्ट सरकार आए अर्थतन्त्र बलियो पार्ने ओलीको दावी, कुरा भन्दा काम गर्ने महतको भनाइ

बिजमाण्डू
२०७४ मंसिर ४ गते १७:२५ | Nov 20, 2017
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने दावी गरेका छन्। 
 
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धिः राष्ट्रिय आर्थिक बहस’मा ओलीले कम्युनिष्ट सरकार आए अर्थतन्त्र तहसनहस नभई झन् बलियो हुने बताएका हुन्।

Tata
GBIME
Nepal Life


 

उनले कम्युनिस्ट सरकारमा बन्द हडताल नहुने र रोजगारीका लागि विदेश गएका ४० लाख युवालाई देशभित्रै काम दिने समेत दावी गरे। वाम गठबन्धनको चुनावी घोषणापत्र महत्वकांक्षी जस्तो देखिए पनि पूरा गर्ने उनको भनाइ थियो।
 
'महत्वाकांक्षी योजना नबनाउने हो भने त सधैँ यथास्थितिमा बसे भैगोनि, विकासका लागि महत्वाकांक्षी योजना जरुरी छ, उनले भने। 
 
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले अर्थतन्त्रको विकासका लागि कुरा मात्र नभई स्पष्ट योजना हुनुपर्नेमा जोड दिए। दिगो विकासको लक्ष्य पूरा गर्न निकै मेहनत साथ सोही अनुरुपका योजना बनाउनु पर्ने कांग्रेस त्यसका लागि सक्षम रहेको उनको भनाइ थियो।


 

एमाओबादी नेता कृष्णबहादुर महराले राजनीतिक स्थायीत्व र आर्थिक विकासका लागि बाम गठबन्धन प्रतिबद्ध रहेको बताए। 
 
आसन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन लक्षित महासंघले आर्थिक बहस आयोजना गरेको हो। कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणाले स्थिर सरकार आएपछि मुलुकको अर्थतन्त्र बलियो हुनेमा आशावादी रहेको र निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।