मेलम्चीको पानी ल्याउने सुरुङ खन्ने काम ९६ प्रतिशत सकियो, अब एक किलोमिटरभन्दा कम बाँकी

बिजमाण्डू
२०७४ मंसिर ७ गते १२:४८ | Nov 23, 2017
मेलम्चीको पानी ल्याउने सुरुङ खन्ने काम ९६ प्रतिशत सकियो, अब एक किलोमिटरभन्दा कम बाँकी
काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब एक किलोमिटरभन्दा कम मात्र बाँकी छ। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बुधबारसम्म सुरुङ खन्ने काम ९९९ मिटरमा  झरेको बताए। बाँकी सुरुङ पुसभित्र सकिने छ।
 
सुरुङ मार्ग खन्ने काम १ किमीभन्दा तल झरेसंगै राजधानीवासीमा मेलम्चीको आश पलाउन थालेको छ।


 
सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्म कुल २७.५ किमी लम्बार्इको सुरुङ मार्ग निर्माण कार्य ९६ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ। अम्बाथान-ग्याल्थुमको खण्डमा ४१६ मिटर र ग्याल्थुम सिन्धुखण्डमा ५८३ मिटर सुरुङ मार्ग खन्ने काम बाँकी छ। प्रवक्ता पन्तका अनुसार, दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम भैरहेकाले पुस मसान्तसम्ममा सुरुङमार्गको व्रेक थ्रु हुने छ। 
 
माघ,फागुन र चैत तीन महिना सुरुङमार्गको आरसीसी  र हेड बक्स (बाँध) निर्माण गर्ने लक्ष्य लिर्इएको छ।
 
आयोजनाका अनुसार अहिले सुरुङ मार्गसँगसँगै  भित्ता र सुरुङको माथिल्लो भागमा आरसिसी ढलानको पनि काम भैरहेको छ। २.१ किमी सुरुङ मार्ग फिनिसिङ पुरा भएको छ भने २५.४ किमी सुरुङ मार्ग फिनिसिङ गर्ने बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।  
 
भुँर्इ ढलानका लागि १२ वटा मिक्सचर केही दिनमै आइपुग्ने छ। मिक्स्चर आएपछि सुरुङ मार्ग भित्रै लगेर फिनिसिङको काम गरिने प्रवक्ता पन्तले जानकारी दिए। 
 
आगामी चैत्रसम्म सुरुङमार्गको फिनिसिङ सक्ने आयोजनाले जनाएको छ तर यही गतिमा काम हुने हो भने लक्ष्य अनुसार काम हुन नसक्ने देखिएको छ।


 
गत दशै अगावै राजधानीबासीलार्इ मेलम्चीको पानी खुवाउने योजना थियो। तर सुरुङ मार्गमा नरम चट्टान भेटिएको र अन्य प्राविधिक कारणले छ महिनापछि धकेलिएको थियो।
 
मेलम्चीखोलाको पानी सुरुङ मार्ग मार्फत सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टमा ल्यार्इनेछ। त्यहाबाट पानी ट्रिटमेन्ट भएर राजधानीवासीका धारामा आउने छ। अहिले साढे ८ करोड लिटर पानी ट्रिटमेन्ट गर्न सक्ने प्लान्टको परिक्षण सफल भएको छ भने अर्को साढे ८ करोड लिटरको ट्रिटमेन्ट प्लान्ट धमाधम निर्माण भैरहेको छ। 
 
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयल प्रमुख तिरेश खत्रीले पुससम्ममा ट्रिटमेन्ट प्लान्ट र पाइपलार्इन तयार हुने बताए। उनले पाइपलार्इन विस्तार ९५ प्रतिशतभन्दा माथि सकिएको दाबी गरेका छन्। निर्देशनालयका अनुसार अहिले बागमतीको पानी मार्फत पाइपलाइनको परीक्षण भइरहेको छ।

Tata
GBIME
Nepal Life