सौरभ ज्योतिको मोटरवाइक शौख, चाहेर पनि त्यो वाइक किन्न सकिन, १९६९ देखिका बाइक

बिजमाण्डू
२०७४ मंसिर १६ गते ११:१८ | Dec 2, 2017

 
म मोटरसाइकल पारखी हुँ । १४ वर्षकै उमेरमा मोटर साइकल चलाउन सिकेँ,  त्यसबेला होण्डाको सिडी र बेण्ड्ली मोडल थिए । बाराको परावानीपुरमा हाम्रो फ्याक्ट्री थियो, जुन अहिले पनि छ । फ्याक्ट्री भएकै क्षेत्रमा खाली जमिन प्रसस्त थियो । त्यही मैले मोटर साइकल सिकेको हुँ । त्यतिबेलै भाइहरु र परिवारका सदस्यलाई बाइकको पछाडि राखेर गन्तव्यसम्म पुर्याउँथे ।
 
मैले सुरुमा ड्याक्स ७० मोटरसाइकल चलाएको हुँ, यो १९६९ को मोडल हो । यो बाइक बुबाको थियो । यो ७० सिसीको मंकी बाइक हो, सानो थियो । यो बाइक मलाई धेरै मनपरेको थियो तर बुबाले पछि अक्सिजन प्लाण्टका म्यानेजरलाई बेच्नु भयो ।
 
कलेजको अध्ययन पुरा गरेर स्वदेश फर्किएपछि त्यही बाइक म्यानेजरसँग फेरि मैले किनेँ । १९६९ को त्यो बाइक मसँग अहिले पनि सुरक्षित छ । अझै कहिले काँही चढ्छु । यो बाइक अहिलेसम्म पनि राम्रो कन्डिसनमा छ, नयाँ जस्तै छ, पाटपुर्जा सबै फेरिसकेको छु ।
 
जुन वातावरणमा हुर्के, त्यो मोटरसाइकलसँग प्रत्यक्ष सम्लग्न हुने थियो । हामीले होण्डा मोटरसाइकल नेपाल ल्याएर विक्री गर्न थालेकै करिव ४७ वर्ष भयो । यसले पनि मलाई मोटरसाइकलको पारखी बनाएको हो ।


 
बुबाले मान्नु भएन बाजेले किनिदिनु भयो
मलाई पहिलो मोटरसाइकल बाजे मणिहर्ष ज्योतिले किनिदिनु भएको हो । म कलेज सकेर नेपाल फर्किँदा ‘शो रुम’ मा एनएक्स २५० भन्ने बाइक थियो ।
 
त्यो मोटरसाइकल मलाई एकदम मन परेको थियो । किनिदिन बुबालाई भने, आमालाई भने, दुबैले मान्नु भएन । पछि बाजेलाई भने । उहाँले लेउ न त भनेर किनिदिनु भयो । यसपछि धेरै मोटरसाइकल किने । किनेका अधिकांस मोटरसाइकल मसँगै छन् ।
 
१९६९ देखिका बाइक छन्
मसँग बाइक पुराना पुराना बाइकहरु छन् । अहिले मैले चलाइरहेको बाइक भने होण्डाको १००० सिसीको सिवआर रेसिङ, अर्को सिविआर १००० आरआर, इटालियन स्ट्रिट बाइक सिबी १००० आर, सिविआर २५० हुन् । यी बाहेक पुराना धेरै बाइक मसँग छन् । पुराना बाइक किनेर स्टोर गरेको छु । जस्तो ड्याक्स ७०, १९७७ को बेण्ली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट बाइक छ ।
 
हाम्रो सर्भिस सेन्टरमा कसैले फालेर गएको पिसी ५० मोटरसाइकल पनि बनाएर रि–स्टोर गरेर राखेको छु । यो मोपेड हो, ५० सिसीको इन्जिन भएको यो मोटरसाइकल साइकल जसरी चलाउन पनि सकिन्छ । यस्ता दुई दर्जन जति पुराना बाइक रि–स्टोर गरेर राखेको छु ।
 
होण्डाको लामो र गौरवपूर्ण इतिहास छ । पहिले त मोटरसाइकल भन्दा होण्डा मात्रै बुझिन्थ्यो । विभिन्न शो रुममा, विशेष समारोहमा डिस्प्ले गर्ने उद्देश्यले यस्ता बाइकहरु संकलन गरेर राखेको हुँ ।


 
चाहेर पनि किन्न सकिन
मोटो जिपी जितेको एउटा बाइक होण्डाले ‘लिमिटेड प्रोडक्ट’ निकालेको थियो । मार्क मार्केजले त धेरै पटक जितेको छ । मोटो जिपी जित्ने स्ट्रिट बाइक आरसी २१३ भि बाइक हो । यो विश्वभरमा तीन सय वटाको हाराहारीमा होला । यो विक्रीमा पनि आएको थियो ।
 
अत्याधुनिक प्रविधिको यो बाइक मलाई किन्न मन थियो । तर मूल्य सुनेपछि किनिन । करोडभन्दा बढी थियो मुल्य । मोटरसाइकलकै इतिहासमै महँगो मध्येमा पर्छ यो बाइक । अहिलेसम्म किन्न मन लागेर पनि नकिनेको यही एउटा बाइक हो ।
 
औसत मूल्यको गाडी चढ्दा पनि २०÷२५ लाख रुपैयाँ परिहाल्छ । यही मुल्यमा त सुपर बाइक आउँछ । त्यसैले मलाई के जस्टिफाइड लाग्छ भने, औसत गाडी चढ्नु भन्दा संसारकै सुपर बाइक चढ्नु ठिक हो ।
 
हप्ताको एक पटक ग्यारेजमा
हप्ताको एक पटक ग्यारेजमा गएर बाइकहरु मेन्टिनेन्स गर्छु । ठूलै मेन्टिनेन्स छ भने वर्कसप पठाउँछु तर सामान्य छ भने म आफै गर्छु । नियमित मेन्टिनेन्स गर्दा मात्रै मोटरसाइकल राम्रो कन्डिसनमा राख्न सकिन्छ । मोटरसाइकल मेन्टिनेन्स गर्नु पनि अर्को रमाइलो काम हो । यसले आफ्नो बाइकहरु कस्तो अवस्थामा छन् भनेर आफैले अनुभव गर्न सकिन्छ । मोटरसाइकल चलाउने मात्रै होइन, सामान्य मर्मत गर्न आफैले जान्नु पर्छ ।


 
मसँग होण्डा मात्रै छैनन्
म होण्डाको मात्रै मोटरसाइकल चलाउँछु भन्ने होइन । धेरै ब्राण्डका मोटसाइकल मसँग छन् । गाडीको बजार सीमित छ, गाडीहरु सीमित छन् । मोटरसाइकलको बजार भने निकै बढेको छ । वातावरणको कुरा गरौं, किन्न सक्ने क्षमताको कुरा गरौं, सडक पुर्वाधारको कुरा गरौं, यी पक्षका कारण पनि मोटरसाइकलको बजार विस्तार भइरहेको छ । काठमाडौंको असनमा गाडी कहाँ पार्किङ गर्ने ? मोटरसाइकल भयो भने घर भित्रै जान्छ ।
 
मोटरसाइकल त अनिवार्य आवश्यकता जस्तै भइसकेको छ । यो फेमिली भेहिकल जस्तो छ । स्कूटरको बजार किन बढ्यो भने यो फेमिली भेहिकल नै भइसक्यो । आमा, छोरी, छोरा, बुहारी सबैले चलाउँछन् । यो त मोविलिटी र फ्रिडम जस्तै भयो । यसले आर्थिक विकासमा पनि सहयोग पुर्याइरहेको छ ।
 
प्राथमिकतामा मोटर स्पोट्स
अब मोटर स्पोट्सलाई प्रमोट गर्नुपर्छ । नेपालले क्रिकेटमा यति राम्रो गरिरहेको छ, फुटवलमा पनि राम्रो गरिरहेको छ, अस्ति भर्खर नेपालको टिमले जितेको छ, तेक्वान्दोमा हामी पहिले देखिनै राम्रो गरिरहेका छौं । मोटर स्पोट्स पनि अन्तराष्ट्रिय गेम हो । त्यसैले कन्ट्रोल इन्भायरोमेन्टमा प्रपर टेक्निक र सेफ्टी राइडिङ हुनुपर्छ । यति गर्न सकियो भने यो गेम पनि फष्टाउँछ । मोटर स्पोर्ट्स पनि हाम्रा युवाहरु कम छैनन् । अन्तराष्र्टि«य म्याचमा भाग लिइरहेका छन् ।
 
हामी आफैले पनि डियो स्कूटरको डिभा कम आयोजना गरिरहेका छौं । रेसमाण्डूमा स्पोन्सर गरिरहेका छौं । हामीले तयार गरेको पूर्वाधारमा पनि यस्ता खेल सञ्चालन गरिरहेका छौं । हाम्रो प्राथमिकता सुरक्षामा छ । अन्तर्राष्ट्रिय स्तरका गेममा पनि नेपाली युवाहरुले सहभागिता जनाउन् भन्ने हाम्रो चाहना हो । मोटर स्पोर्टसले खेल पर्यटनमा निकै ठूलो योगदान दिन्छ । हाम्रो जस्तो मुलुकमा यसको संभावना पनि छ । खेलकुद पनि हुने र मुलुकको अर्थतन्त्रलाई पनि यसले योगदान दिन्छ ।
 
रेसरको तालिम लिन्छु
म अफिसियल रेसर होइन । लाइसेन्स लिएको छैन । तर केही गेमहरुमा भाग लिएको छु । तालिम नै लिएर यस्ता गेममा सहभागिता जनाउने इच्छा छ । भविष्यमा तालिम लिने योजनामा छु । सेफ्टी राइडिङको तालिम र सर्टिफिकेट चाहीँ लिएका छु ।
 
हामीले स्याकार सेफ्टी राइडिङ सेन्टर सञ्चालन गरेको पाँच वर्ष भयो । त्यसअघि मलाई सेफ्टी राइडिङको विषयमा सबैकुरा थाहा छ जस्तो लाग्थ्यो । १४ वर्षको उमेरदेखि बाइक चलाएको, मलाई के थाहा छैन र जस्तो लाथ्यो । तर जब सेफ्टी राइडिङ सेन्टर सञ्चालन आएपछि के लाग्यो भने कसरी सुरक्षित ड्राइभ गर्ने भनेर मलाई थाहा नै रहेनछ । सडक सबैको हो, हरेकले अर्को सडक प्रयोगकर्तालाई सम्मान गर्नुपर्छ, रेस्पेक्ट टु इन्डिभिजुअल । सैद्धान्तिक र व्यवहारिक ज्ञान सबै मोटरसाइकल चालकले लिनु आवश्यक छ ।
 
हामीले सञ्चालन गरेको सेफ्टी राइडिङको सिस्टम नै अहिले यातायात व्यवस्था विभागले लाइसेन्स दिँदा प्रयोग गर्न लागेको छ । यो विगिनर्स टे«निङ हो । डिफेन्सिङ ट्रेनिङ मोटरसाइकल चलाइरहेकाहरुले पनि लिनु पर्छ । यस्तो तालिमले चालकलाई रि–फ्रेस गराउँछ । यो पढ्ने जस्तै हो । मेसिनरी कुरा हो, अपडेट भइराख्नु पर्छ ।
 
सबैका आआफ्नै सोख हुन्छन् । मलाई मोटरसाइकल चलाउन जस्तो आनन्द अरु कुरामा लाग्दैन । नेपालमा यस्ता यस्ता रमाइला स्थानहरु छन्, जहाँ मोटरसाइकल लिएर जान निकै आनन्द आउँछ । समय मिल्यो भने मोटरसाइकल लिएर गइहाल्ने हो ।
 
रारा अबको गन्तव्य
मोटरसाइकलमा पोखरा धेरै पटक गएको छु । मुक्तिनाथ पुगेको छु । चरिकोटसम्म पनि मोटरसाइकलमा गएको छु । धुलिखेलदेखि वर्दिवाससम्म मोटरसाइकलमा गएँ । जुम्ला, मुगुको रारा तालसम्म सडक पुगेको छ । सडक राम्रो भयो भने मोटरसाइकल राइडरका लागि यी गन्तव्य निकै राम्रा छन् ।
 
लामो दुरी मात्रै होइन, काठमाडौं भित्रै पनि म धेरै मोटरसाइकल चलाउँछु । मिटिङ जाने बेलामा ट्राफिक जाम धेरै हुन्छ । मोटरसाइकलमा गयो भने मिटिङमा समयमै पुगिन्छ, समय पनि बच्छ । यो मेरो विशुद्ध शोख हो । सुरक्षित रुपमा चलायो भने मोटरसाइकलमा कुनै डर हुँदैन । हाइवेमा चाही अलि सचेत भएर चलाउनु पर्छ ।
 
कलेज स्टुडेण्डदेखि ५० नाघेका पनि साथी
बाइकका पारखीहरुको एउटै उमेर समूह छैन । मेरा साथीहरु कलेजका विद्यार्थीदेखि ५० वर्ष उमेर पार भएकाहरु पनि छन् । मोटरसाइकल चलाउनेहरु एकैछिनमा साथी बन्छन् । एउटाले आफ्नो अनुभव अर्कोलाई सेयर गर्छ । बाइक चलाउन युवा नै हुनुपर्छ भन्ने पनि छैन । हामी धेरैजसो समूहमा ड्राइभिङमा जान्छौं । यस्तो समूहमा कलेज पढिरहेका विद्यार्थी देखि ५० वर्ष पार गरेकाहरु पनि छन् । उनीहरु सबै मेरा बाइक ड्राइभिङका साथी हुन् ।
 
जानकार छन् उपभोक्ता
मेरो व्यक्तिगत छनौट र उपभोक्ताको छनौटमा ठूलो अन्तर छैन । म बाइकको शोखिन हुँ, ग्राहकहरु पनि त्यति नै जानकार भएर बाइक किन्न आउँछन् । बाइकका बारेमा ग्राहकले नजानेको र मैले धेरै जानेको हुँदैन । अहिले नेटमा धेरै कुरा हेर्न पाइन्छ । ग्राहकले आफूले के खोजेको पहिले नै नेटमा हेरिसकेका हुन्छन् । फेरि नेपालको मोटरसाइकल मार्केट केही म्याचुअर छ, भारतीय बजारमा नआएका मोटरसाइकल पनि नेपालमा आइसक्छन् । संसारका उत्कृष्ट बाइकहरु नेपाली बजारमा पाइन्छन् ।
 
प्रोडक्ट ल्याउँदा भने हामी केही पक्षमा ध्यान दिन्छौं । माइलेज कति दिन्छ, हाम्रो रोडलाई कति सुहाउँदो छ भनेर हेर्छौ । त्यसैले होण्डाको निकै धेरै प्रोडक्टमध्ये पनि नेपालीलाई उपयुक्त हुने सेलेक्टेड उत्पादन मात्रै नेपाल ल्याउँछौं ।

Tata
GBIME
Nepal Life