स्याङबोचे र डाँडाखर्कमा टेलिकमको मोबाइल सेवा, जोमसोम कोरला हाइवेमा मोबाइल चल्ने

बिजमाण्डू
२०७४ मंसिर १९ गते १५:१८ | Dec 5, 2017

काठमाडौं। नेपाल टेलिकमले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा गत मंसिर १५ र डाँडाखर्कमा गत मंसिर ११ गते देखि सेवा सञ्चालनमा आएको हो ।

Tata
GBIME
Nepal Life

मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र माथिल्लो मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउँछ । टेलिकमका अनुसार यसबाट माथिल्लो मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आउने पर्यटकका साथै सो क्षेत्रका चार सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् ।

त्यसैगरी दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने टेलिकमको दाबी छ । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने टेलिकमले जनायो।यी दुबै स्थानमा कुराकानीका साथै डाटा समेत चलाउन सकिने टेलिकमले जनायो।