समृद्धिको नारा पुरा गर्न बाम गठबन्धनले कसलाई बनाउला अर्थमन्त्री? यस्तो हुनसक्छ सम्भावना

बिजमाण्डू
२०७४ मंसिर २५ गते १५:०३ | Dec 11, 2017
समृद्धिको नारा पुरा गर्न बाम गठबन्धनले कसलाई बनाउला अर्थमन्त्री? यस्तो हुनसक्छ सम्भावना


काठमाडौं। वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेतर्फ अग्रसर भएपछि सरकार गठनको चर्चा सुरु भएको छ। बाम गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन्। 
 
समृद्धि मुख्य नारा बनाएर चुनावमा होमिएको बाम गठबन्धनले अब बन्ने सरकारमा देशको ढुकुटीको तालाचाबी कसलाई जिम्मा देला? बाम गठबन्धनले जनतालाई विकास र समृद्धिको सपना देखाएकाले त्यसलाई पूरा गर्न अब बन्ने सरकारकालागि अर्थ सबैभन्दा बलियो मन्त्रालय हुने छ। विकास निर्माण र अर्थतन्त्रलार्इ चलायमान बनाउने प्रमुख भूमिका अर्थको रहने भएकोले बाम गठबन्धनका दुबै दल एमाले र माओवादीको पहिलो नजर यसमै रहने निश्चित छ।


 
विकास निर्माणकालागि आवश्यक पर्ने स्रोत जुटाउने मूख्य अभिभारा अर्थ मन्त्रालयलाई छ। राजस्व परिचालनदेखि वैदेशिक सहायता जुटाएर उसले समृद्धिको सपना पूरा गर्नुपर्ने हुन्छ। अर्थतन्त्र सुधारदेखि नयाँ कार्यक्रम कार्यान्वयनसम्म अर्थमार्फत हुने भएकोले यसलाई शक्तिशाली मानिन्छ।
 
बाम गठबन्धनबाट आगामी अर्थमन्त्रीका रुपमा स्वभाविक दावी पहिले अर्थको तालाचाबी समाएकाहरुकै हुन्छ। नेकपा एमालेबाट विण्णु पौडेल र सुरेन्द्र पाण्डे स्वभाविक दावेदार हुन्। नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र कृष्णबहादुर महराले पनि अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका छन्।
 
ओली निकट रहेका कारण विष्णु पौडेल अर्थमन्त्रीका प्रवल दावेदार मानिन्छन्। ओलीकै पालामा अर्थमन्त्री बनेका पौडेलले आर्थिक वर्ष ०७३/०७४ को बजेटमा बृद्धभत्ता दोब्बर पारेका थिए। यसपाली चुनाव जित्नकालागि उनको बजेटको पनि धेरथोर भूमिका छ। 
 
ओली निकट मात्र नभएर बाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण पनि पौडेल अर्थमन्त्रीका बलिया दाबेदार हुन्। बजेट ल्याएपनि कार्यान्वयनका समयमा भने सरकार परिवर्तनपछि माओवादीबाट कृष्णबहादुर महरा अर्थमन्त्री बनेर आएका थिए। एमालेभित्रबाट अर्थमन्त्रीकालागि सुरेन्द्र पाण्डे पनि बलिया दाबेदार हुन्। माधवकुमार नेपाल गुटका पाण्डे अर्थमन्त्रीको परीक्षामा सफल भएका व्यक्ति हुन्। ओलीले आफ्नो दलको राजनीतिक हिस्सा मिलाउन पाण्डेलार्इ अर्थमन्त्रीको रुपमा ल्याउन पनि सक्छन्।
 
०६८ भदौदेखि ०६९ चैतसम्म डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका बर्षमान पुन पनि अर्का दावेदार हुन्। अर्थको नेतृत्व गरे पनि बजेट ल्याउन नपाउने 'अभागी' अर्थमन्त्री हुन् पुन। संविधानसभा विघटन भएका कारण पुनले आंशिक बजेट मात्र ल्याउन पाए। उनले बेरोजगार भत्ता लगायतका केही नयाँ कार्यक्रम ल्याउने तयारी गरेका थिए। बर्षमान पुन पूर्ण बजेट ल्याएर अर्थतन्त्रमा गति दिने अपूर्ण इच्छा पूरा गर्न चाहन्छन्। 
 
उपप्रधान तथा अर्थमन्त्री बनेका कृष्णबहादुर महराले बजेट प्रस्तुत गरेपनि नयाँ कार्यक्रम केही पनि ल्याउन पाएनन्। निर्वाचन आचार संहिताका कारण उनले अघिल्ला अर्थमन्त्री विष्णु पौडेलकै कार्यक्रमलाई निरन्तरता दिनुपर्यो। एनसेल लाभकर लगायतका महत्वपूर्ण मुद्दामा चुकेका महरा बाम गठबन्धन निर्माण हुनेताका ओझेलमा थिए। तैपनि शक्ति सन्तुलनकालागि माओवादी केन्द्रबाट उनी अर्थमन्त्रीका रुपमा बलिया दाबेदार हुन्। 
 
यसबाहिरबाट पनि अर्थमन्त्रीका रुपमा अरुले दावी गर्न सक्छन्। बामदेव गौतमले चुनाव हारेका कारण उनको कोटाबाट रविन्द्र अधिकारी अर्थमन्त्रालय पुग्न सक्छन्। अधिकारी संसदको विकास समितिका सभापति पनि भइसकेका छन्। 
 
दलहरुले पछिल्लो समय अर्थमन्त्रालयमा अर्थतन्त्रको ज्ञान नभएकाहरुलाई समेत ल्याएका कारण यसपाली पनि त्यस्तै 'सरप्राइज' दिन सक्छन्। तर यसपाली स्थिर सरकार बन्ने र राजनीतिक मुद्दाबाट बाहिर निस्किएर आर्थिक मुद्दामा काम गर्नु पर्ने भएकाले अर्थमन्त्रालयको जिम्मेवारी 'उपयुक्त' पात्रलाई पनि दिन सक्छन्।
 
बाम गठबन्धनले दिएको नारा अब कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसका लागि स्रोत जुटाउनेदेखि उचित ब्यवस्थापन गर्नेसम्म क्षमता भएको ब्यक्तिलाई अर्थको साँचो दिनुपर्ने हुन्छ। यसो हुँदा गठबन्धनले माथिल्लो सदनमा विज्ञलाई ल्याएर उसैलाई अर्थमन्त्री बनाउने सम्भावना पनि रहन्छ।
 
गठबन्धनले राजनीतिक क्याडर बाहिर गएर 'टेक्नोक्रयाट'बाट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एंव पूर्व गभर्नर डा. युवराज खतिवडालाई समेत अर्थमन्त्रीका रुपमा ल्याउन सक्छन्। वा माओवादीले पनि आफ्नो उम्मेद्वार छनौट गर्न सक्छ। घोषणापत्र लगायत निर्माणमा उनले महत्वपूर्ण भूमिका समेत निभाएका थिए। 
 
खतिवडाले राष्ट्रिय योजना आयोगमा बसेर १४औं त्रिबर्षिय योजना निर्माण गरिसकेका छन्। माओवादीले डा. मीनवहादुर श्रेष्ठको नाम पनि दावी गर्न सक्छ। यद्यपी खतिवडा र श्रेष्ठको सम्भावना भने एकदमै न्यून छ, किनभने गठबन्धन सरकार भएका कारण जितेकै सांसदहरुको ब्यवस्थापन गर्नु पर्ने दवाव ठूलो हुन्छ। 

Tata
GBIME
Nepal Life