कुबेर मर्चेन्ट र ललितपुर फाइनान्स ‘समस्याग्रस्त’ मुक्त, चुक्तापूँजी ८० करोड पुर्याउने सर्त

बिजमाण्डू
२०७४ मंसिर २७ गते १३:४३ | Dec 13, 2017

काठमाडौँ। लामो समयदेखि राष्ट्र बैंकको ‘समस्याग्रस्त’ घोषणामा परेका कुबेर मर्चेन्ट बैंक र ललितपुर फाइनान्स समस्याग्रस्त मुक्त  भएका छन्। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै दुबै कम्पनीहरु समस्याग्रस्त अवस्थाबाट मुक्त भएको जनाएको हो।    

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले कुबेर मर्चेन्ट बैंकलार्इ २०६९ साल पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो। यस्तै ललितपुर फाइनान्स लिमिटेडलाई २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा गरिएको थियो।  राष्ट्र बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्ता पूँजी र पूँजीकोष कायम गरेको र नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुधार गरेका कारण समस्याग्रस्त घोषणाबाट ससर्त मुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले  दुबै कम्पनीलार्इ चुक्ता पूँजी ८० करोड  पुर्याउन निर्देशन समेत दिएको छ। दुबैले आगामी २०७६ मंसिर १८ गतेसम्म ८० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने सर्त राखिएको छ।

कम्पनीले ३५ दिन भित्रै पूँजी वृद्धिको योजना पेश गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन समेत दिएको छ। खराब कर्जा घटाउनु पर्ने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणालीमा र जोखिम ब्यबस्थापन चुस्त दुरुस्त पार्नुपर्ने राष्ट्र बैंकको सर्त रहेको छ।

हाल तोकिएको चुक्ता पूँजी नपुगेको अवस्थामा एकल ग्राहक कर्जा सीमा (कोर क्यापिटल)को १० प्रतिशत कायम गर्नुपर्ने तथा तोकिएको चुक्ता पूँजी पूरा भएको अवस्थामा हाल बिद्यमान ब्यबस्था अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम हुनुपर्ने थप सर्त केन्द्रीय बैंकले राखेको छ।

ललितपुर फाइनान्सले पनि ३५ दिनभित्रै केन्द्रीय बैंकले तोकेको चुक्ता पूँजी वृद्धिको योजना पेस गर्नुपर्ने छ।  संस्थालाई समस्याग्रस्त अवस्थामा पुर्याउन जिम्मेवार ब्यक्तिहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने केन्द्रीय बैंकको सर्त रहेको छ।

सर्त बमोजिम भएको प्रगति विवरण दुई महिना भित्र पेस गर्न पनि राष्ट्र बैंकले दुबै बित्तीय संस्थालार्इ सूचित गरेको छ।