४५ वटा लघुवित्तका सिइओ र सञ्चालकले राष्ट्र बैंकलाई के भने? स्प्रेड वा ब्याजको क्याप हटाउन माग

बिजमाण्डू
२०७४ मंसिर २७ गते १६:१९ | Dec 13, 2017
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले थोक तथा खुद्रा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको सहभागितामा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ। 


 
बैंकका अध्यक्ष सुरेन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका साथै नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लघुवित्त प्रवर्द्धन तथा सुपरिक्षेण विभागका कार्यकारी निर्देशक उपेन्द्रकुमार पौडेल तथा निर्देशकहरु देवकुमार ढकाल, बमबहादुर मिश्र र उपनिर्देशक डिलाराम सुवेदी समेत उपस्थित थिए। 
 
कार्यक्रममा ३ वटा थोक लघु कर्जा प्रदायक लघुवित्त संस्था र ४२ वटा खुद्रा लघु वित्त कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालकहरुको सहभागिता रहेको थियो। 
 
कार्यक्रममा ब्याज दरको क्याप वा स्प्रेडमध्ये एक मात्र लागू गर्नुपर्ने माग उठेको थियो। लघुवित्त क्षेत्रको करको दरमा छुटको ब्यवस्था हुनुपर्ने, लघुवित्त संस्थाको संख्यामा रोक लगाई हाल संचालनमा रहेका लघुवित्तलाई प्रोत्साहित गर्नुपर्ने समेत माग राखिएको थियो। कार्यक्रममा  डुप्लिकेसन कम गर्ने उपायको खोजी गर्न राष्ट्र बैंकले आग्रह गरेको थियो।


 
लघुवित्तकर्मीहरुले वित्तीय स्रोतको सहजता हुनुपर्ने, ग्रामीण भेगमा वित्तीय पहुँच बनाउन राष्ट्र बैंकले शाखाको स्वीकृत गर्दा बैंक तथा वित्तीय संस्था नभएको क्षेत्रमा स्वीकृत गर्नुपर्ने, संचालक शिक्षाका लागि राष्ट्र बैंकले कार्यक्रमहरु संचालन गर्नु पर्ने, एनएफआरएसको कार्यान्वयनमा स्पष्टता हुनुपर्ने तथा डाटा म्यापिङको अवस्था बाहिर आउनु पर्ने माग राखेका थिए। 
 
नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तका समस्या तथा चुनौतीका बारेमा धारणा राखेका थिए। 
 
डेपुटी गभर्नर श्रेष्ठले ब्याज दरको प्रावधान लामो समय नरहने बताए। उनले  लघुवित्त संस्थाको लाइसेन्स बन्द भइसकेको जानकारी दिँदै संचालक शिक्षाका लागि संस्थाले आफै ट्रेनिङ इन्ष्टिच्युटहरुसँग सहकार्य गर्न सुझाए। 

Tata
GBIME
Nepal Life