नेपाली सिमेन्ट उत्पादकले १२ करोड हालेको खानीलार्इ चिनियाँ कम्पनीले ६० करोडमा बोलकबोल

बिजमाण्डू
२०७४ मंसिर २८ गते १०:१९ | Dec 14, 2017
नेपाली सिमेन्ट उत्पादकले १२ करोड हालेको खानीलार्इ चिनियाँ कम्पनीले ६० करोडमा बोलकबोल

काठमाडौं।तात्कालिन उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रतिस्पर्धा नगरि कौडीको मूल्यमा खानी बिक्री गर्ने परम्परालार्इ परिवर्तन गर्दै प्रतिस्पर्धामा दिने निर्णय गराए।

Tata
GBIME
Nepal Life


ह्वासिनको कम्बोडियामा रहेको सिमेन्ट उद्योग

उनले निर्णय गराएको झण्डै एक वर्षपछि खानी तथा भूगर्भ विभागले धादिङमा रहेको चुनढुंगा खानीको विश्वव्यापी(ग्लोबल टेण्डर)गरायो। विभागले वैशाख २१ गतेको टेण्डरमा सात लाख रुपैयाँ भन्दा नघटाई मूल्य हाल्नु पर्ने प्रस्ताव थियो। ग्लोबल टेण्डरमा केही स्वदेशी र विदेशी कम्पनीले टेण्डर हाले।विभागका कर्मचारीले टेण्डर हालेका कम्पनीको बोलकबोल हेर्न थाल्यो।

ह्वासिनको लगानी स्वीकृत गर्दै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली

बोलकबोलमा एउटा कम्पनीले हालेको मूल्य देखेर विभागका कर्मचारीनै आश्चर्यचकित बने।बोलकबोलमा नेपालका अम्बे र युनाइटेड सिमेन्ट सहभागी भएका थिए।अम्बेले दुर्इ करोड र युनाइटेड सिमेन्टले १२ करोडमा खानी किन्ने प्रस्ताव हाले। तर एउटा विदेशी कम्पनीले भने ६० करोडमा खानी किन्ने प्रस्ताव हालेको पाइएपछि विभागका कर्मचारी आश्चर्यचकित भएका हुन्।

सात लाख रुपैयाँ भन्दा कम मूल्यमा टेण्डर हाल्न नपाइने प्रस्तावका आधारमा स्वदेशी कम्पनीले सस्तो मूल्यमा बोलकबोलमा सहभागी भएकै कारण विभागका कर्मचारी आश्चर्यचकित भएका हुन्।विभागमा अहिलेसम्म १० करोड भन्दा बढी मूल्यको प्रस्ताव परेकै थिएन।स्वदेशी लगानीकर्ता भन्दा झण्डै ६ गुणा बढी मूल्य हाल्ने कम्पनी छिमेकी मुलुक चीनको ह्वासिन सिमेन्ट थियो।

चीनको ह्वासिन सिमेन्टले ६० करोडमा खानी किन्न गरेको प्रस्ताव विभागले सदर गर्यो।चीनको यो कम्पनी तात्कालिन प्रधानमन्त्री केपी ओलीका पालामा लगानीका लागि आएको थियो।ओली प्रधानमन्त्री भएकै बेला लगानी बोर्डमार्फत २०७२ मंसिर २६ गते ह्वासिनले नेपालमा १४ अर्ब रुपैयाँ सिमेन्ट उद्योग खोल्ने प्रस्ताव स्वीकृत भएको थियो।लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने प्रावधान छ।खानीका लागि नाइजेरियाको डोगंटे समेत सहभागी थियो।तर यो कम्पनीको मूल्य कम भएकोले खानी पाएन।

आगामी पुस ५ गते भित्र द्धिपक्षीय सम्झौता गरेर ह्वासिनलार्इ खानी दिइने प्रवक्ता कृष्णदेव झाले बिजमाण्डूलाई बताए। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा पर्ने उक्त चुनखानी क्षेत्रमा चार वर्षभित्र अध्ययन सकेर उत्खनन् कार्य सुरु गर्ने लक्ष्य राखिएको छ। ह्वासिनले अहिले ३० भन्दा बढी देशमा खनिज उद्योगमा काम गरिरहेको छ।आफैले उत्खनन गरेको चुनढुङ्गाबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने ह्वासिनको योजना छ।

 १४ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्ने
लगानी बोर्डले ह्वासिनको लगानी स्वीकृत गरेपनि आयोजना विकास सम्झौंता(पिडिए) भने हुन बाँकी छ।लगानी स्वीकृत गरेपछि दुर्इ वर्षभित्र पिडिए गर्नुपर्छ।खानीका लागि दुर्इ वर्ष भन्दा बढी कुरेका कारण ह्वासिनको पिडिएको मिति सार्ने बोर्डको तयारी छ।

सुरुमा नेपाली साझेदार सहित लगानी ल्याउने योजनामा रहेको उक्त कम्पनीले अहिले शतप्रतिशत चिनियाँ लगानीमा उद्योग स्थापना गर्ने भएको हो।पहिला नेपाली साझेदार ल्याउन ह्वासिन नारायणी नाम राखेको कम्पनीले अहिले नाम परिवर्तन गरे ह्वासिन सिमेन्ट मात्रै राखेको छ।यो नाम समेत बोर्डले स्वीकृत गरिसकेको छ। सुरुमा वीरगञ्ज औद्योगिक करिडोर वरपर उद्योग स्थापना गर्ने योजना सहित २०७२ सालमै लगानी बोर्डमा निवेदन दिएपनि अहिले धादिङ/मकवानपुरमा रहेको चुनढुङ्गा खानीको अध्ययन/उत्खननको जिम्मा पाएसँगै धादिङको नौबिसेमा उद्योग स्थापना गर्ने भएको छ।

खानीमा यसरी सुरु भयो प्रतिस्पर्धा
पहिले ८० प्रतिशत प्राविधिक र २० प्रतिशत मात्रै आर्थिक मूल्याङ्कन गरेर खानी अध्ययन तथा उत्खननको जिम्मा दिने गरिएको थियो। तत्कालिन उद्योगमन्त्री जोशीको पहलमा ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत आर्थिक मूल्याङ्कन गर्ने गरि कानुन संसोधन भएको थियो।

कानुनको उक्त संसोधनपछि खनिज उद्योगमा लगानी गर्ने विदेशी कम्पनीलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने, उपकरण आयातमा भन्सार छुट दिने र उत्खनन प्रवेशद्वारसम्म प्रवेश मार्गको निर्माण गरिदिने लगायतका नीति पनि मन्त्रालयले अघि सारेको थियो।अव सरकारले विदेशी लगानी ल्याउने उद्योगलाई जग्गा अधिग्रहण र वनसँग सम्बन्धित विषयलाई मात्रै सल्टाई दिएमा ठूलो लगानी भित्रिने झा बताउँछन्।