चार आर्थिक वर्षको ब्याज र जरीवानासहित भ्याट तिर्न ब्रोकरलार्इ पत्र, ब्रोकरमा भुर्इँचालो!

बिजमाण्डू
२०७४ मंसिर २८ गते १४:३७ | Dec 14, 2017
चार आर्थिक वर्षको ब्याज र जरीवानासहित भ्याट तिर्न ब्रोकरलार्इ पत्र,  ब्रोकरमा भुर्इँचालो!

काठमाडौँ।आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा ब्रोकर कम्पनीलार्इ १५ दिनभित्र मूल्य अभिवृद्धि कर(भ्याट) तिर्न पत्र पठाएको छ।

Tata
GBIME
Nepal Life

सुन्धारा सेक्युरिटिज,सेवा सेक्युरिटिज र इन्भेस्टमेन्ट म्यानेजमेन्ट ब्रोकर कम्पनीलार्इ आर्थिक वर्ष २०६९/०७०देखि चालु आर्थिक वर्षसम्मको भ्याट,ब्याज र जरीवाना गरि कर निर्धारण गरेको छ।स्रोतका अनुसार तीन वटा ब्रोकर कम्पनीलार्इ करिब २ करोड ९० लाख रुपैयाँ कर निर्धारण गरिएको छ।स्रोतका अनुसार सुन्धारा सेक्युरिटिजलार्इ ६३ लाख रुपैयाँ, सेवा सेक्युरिटी ब्रोकरलार्इ १ करोड १० लाख रुपैयाँ र इन्भेष्टमेन्ट म्यानेजमेन्टलार्इ करिब १ करोड १७ लाख कर निर्धारण गरिएको छ।कार्यालयका प्रमुख शिशिर घिमिरेले कर निर्धारण गरेर १५ दिनभित्र चुक्ता गर्न तीन वटा ब्रोकर कम्पनीलार्इ पत्र पठाइएको जानकारी दिए।

घिमिरेका अनुसार गत साउनमा त्रिपुरेश्वर कर कार्यालयले प्रारम्भिक कर निर्धारण गरि तीन ब्रोकर कम्पनीलाई भ्याट तिर्न निर्देशन दिएको थियो। तर नेपाल स्टक ब्रोकर एशोसिएसन र अर्थमन्त्रालयबीच विगतमा भ्याटको समस्या मोडालिटी बनाएर सल्टाउने र अबदेखि भ्याटको दायरामा आउनेगरि सहमति भएको बारेमा जानकारी नभएको उनले बताए। कर अधिकृतलाई चार वर्षको कर निर्धारण गर्ने अधिकार हुन्छ। सोही अधिकार भित्र रहेर अहिले तीनै कम्पनीको अन्तिम कर निर्धारण गरिएको घिमिरेले बताए।

‘हामीले सुरुमा प्रारम्भिक कर निर्धारण गरेका थियौ। प्रारम्भिक चरणमा निस्किएको दायित्व र थप प्रमाणका आधारमा अन्तिम कर निर्धारण गरिएको हो,उनले भने।कर कार्यालयको निर्देशन चित्त नबुझे कम्पनीले अन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष अपिल गर्न सक्छ।महानिर्देशकले समेत कर तिर्नुपर्ने निर्णय भएमा राजस्व न्यायधिकरणमा करदाता जाने बाटो रहन्छ। घिमिरेका अनुसार सबै ब्रोकर कम्पनीलाई समान भ्याट लाग्ने छ। ‘अन्य ब्रोकर कम्पनी रहेका क्षेत्रमा  कर कार्यालयले पनि कर निर्धारण गरिरहेको जानकारी पाएको छुँ, उनले भने, ढिलोचाँडो सबै भ्याटमा दर्ता भएर ब्रोकर कमिशनमा भ्याट तिर्नुपर्छ।‘

तर भ्याट निर्धारण भएको कम्पनी सुन्धारा सेक्युरिटिजका संचालक बद्री गोविन्द श्रेष्ठले अहिलेनै भ्याट नतिर्ने बताए। ब्रोकर कम्पनीले प्राप्त गर्ने कमिसनमा नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड र सरकारको समेत एकै पटक कमिसन काटिने भएकोले भ्याट तिर्ने बारे आफू स्पस्ट नभएको उनले बताए। पछिल्लो समय मूल्य अभिवृद्धि कर निर्देशिका,२०६९ (पहिलो संशोधन २०७३)को दफा ४.१७ मा वित्तीय सेवामा शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्कासन वा ब्यबस्थापन वा खरिद बिक्रिसँग सम्बन्धित सेवालाई वित्तीय सेवा मानेकोले पनि भ्याट तिर्न नपर्ने श्रेष्ठको जिकिर छ।            

ब्रोकरलार्इ अर्थले बोलायो
अर्थमन्त्रालयले  शेयर कारोबारमा भ्याट कार्यान्वयनका बारेमा छलफल गर्न ब्रोकर एशोसिएसनका पदाधिकारीलार्इ बोलाएको छ।राजस्व सचिव शिशिर ढुंगानाले ब्रोकर एशोसिएसनका पदाधिकारीसँग छलफल गरेर भ्याट कार्यान्वयन टुंगो लगाउने बताए।