बीमा कम्पनीका सिइओलार्इ ‘परफरमेन्स-बेस्ड’ तलब, काम अनुसार सुविधा लिन खुला

बिजमाण्डू
२०७४ मंसिर २८ गते १५:५१ | Dec 14, 2017

काठमाडौं। बीमा समितिको नयाँ निर्देशिकाले बीमा कम्पनीका सिइओको तलब तथा सुविधा बृद्धिको बाटो खोलेको छ।

Tata
GBIME
Nepal Life

जीवन तथा निर्जीवन बीमा कम्पनीको सिइओको तलब भत्ता तथा अन्य सुविधाकालागि समितिले तयार पारेको मार्गदर्शन अनुसार अब बीमा कम्पनीका सिइओले ‘परफरमेन्स-बेस्ड’ तलब लिन सक्नेछन्। निर्देशिकाले स्पष्ट खुलाइदिएपछि कम्पनीले अवका दिनमा बीमा समितिमा गएर तलव भत्ताको सुविधाको स्वीकृति लिनु पर्ने वाध्यताको समेत अन्त्य भएको छ।

समितिले दिएको मार्गदर्शन वैज्ञानिक भएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताए। उनका अनुसार यस भन्दा अगाडि सिइओको तलब भत्ता औसत कर्मचारी खर्चको १५ प्रतिशत तथा साधारणसभामा गएमा २५ प्रतिशतसम्म पाउने अस्पष्ट नीति थियो तर अहिलेको निर्देशिकामा विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको छ प्रतिशतसम्म हुने भन्ने रहेको छ। साथै तीन आर्थिक वर्षहरुको अन्तको औसत कूल सम्पत्तीको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म पाउने व्यवस्था गरिएको छ।

विकसित मुलुकमा बैंक तथा वित्तीय संस्थाका सिइओभन्दा बीमा कम्पनीका सिइओले राम्रो तलव सुविधा पाउने गरेका छन्। तर नेपालमा बाणिज्य बैंकका सिइओभन्दा चार तह मुनिकाले पाउने तलब बीमा कम्पनीले दिने अवस्थामा बीमा समितिको मार्गदर्शनले कम्पनीलार्इ नाफामा लैजाने सिइओले राम्रो तलब पाउने बाटो खुलेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए।

निर्देशिका अनुसार यसभन्दा अगाडि सिइओले खाइपाइ आएको सुविधा रोक्न नपर्ने व्यवस्थाले सिइओहरु उत्साहित भएका छन्। नयाँ आएका कम्पनीमा मेरो तलव सुविधा यति हुनु पर्यो भनेर वार्गेनिङ गर्नेलार्इ निर्देशिकाले रोकेको छ। अब पुराना कम्पनीमा काम गर्दै आएका कर्मचारीले नयाँ संचालनमा आएका कम्पनीमा तलब भत्ताको वार्गेनिङ गर्न पाउने छैनन्।

कुनै कम्पनीले राम्रा सिइओलार्इ राम्रो काम गर्दा गर्दै कम तलव सुविधा दिएका रहेछन् भने राम्रो तलब माग गर्ने बाटो खुलेको छ भने काम नगरी तलव सुविधा मात्र माग गर्ने कर्मचारीले माग गर्दागर्दै पनि नपाउने भएका छन्। निर्देशिकाले सिइओले पाउने तलव सुविधामा पारदर्शितालाई ध्यानमा राखेको छ।

कम्पनीले नियमित रुपमा अडिट गर्नुपर्ने तथा बीमा समितिले नियमित अनुगमन गरेमा अनावश्यक तलब दिने काम रोकिने जानकारहरु बताउँछन्।
मार्गदर्शनमा कार्यकारी प्रमुखले बार्षिक तलब भत्ताको अतिरिक्त कर्य सम्पादनमा आधारित आर्थिक सुविधा पाउने व्यवस्था पनि गरेको छ।मार्गदर्शनमा कार्यकारी प्रमुखले सावधिक तथा दुर्घटना वीमाको सुविधा पाउने तथा उसका परिवारका सदस्यले स्वास्थ्य बीमाको सुविधा पाउने व्यवस्था गरेको छ। साथै सिइओले एक एक वटा ल्यापटप, मोवाइल सेट, फोन सुविधा, इन्टरनेट सुविधा पाउने छन्।