सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक माघ ११गते हुने, इन्फोटेकमा यस्तो हुनेछ आकर्षण

बिजमाण्डू
२०७४ मंसिर २९ गते ०९:२२ | Dec 15, 2017
सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक माघ ११गते हुने, इन्फोटेकमा यस्तो हुनेछ आकर्षण

काठमाडौं।क्यान महासंघले माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक गर्ने भएको छ।महासंघले २२ वर्षदेखि सूचना प्रविधिको विकास विस्तारका लागि क्यान इन्फोटेक गर्दै आएको छ।

Tata
GBIME
Nepal Life

६ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्था, विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने महासंघले जनाएको छ।'प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुयाउनेछ भन्ने हामीले आशा गरेका छौं । साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन्', महासंघका अध्यक्ष विनोद ढकालले भने,'अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।'

क्यान ईन्फोटेकको शीर्ष प्रायोजन सुविसु केबलनेट प्रालि  रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको महासंघले जनायो। महासंघका अनुसार मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रेसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेको महासंघले जनायो ।मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई एक सय रुपैयाँ र विद्यार्थीहरुलाई पचास रुपैयाँ  तोकिएको महासंघले जनायो ।

महासंघका अनुसार बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु रहने महासचिव विश्व बलामीले बताए।