प्रुडेन्सियल इन्स्योरेन्सको ३०% हकप्रद निष्कासन, नपुग ४४ करोड पूँजी जुटाउन कम्पनीले के गर्ला?

बिजमाण्डू
२०७४ मंसिर २९ गते ११:१७ | Dec 15, 2017
प्रुडेन्सियल इन्स्योरेन्सको ३०% हकप्रद निष्कासन, नपुग ४४ करोड पूँजी जुटाउन कम्पनीले के गर्ला?

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्कासन गरेको छ। कम्पनीले मंसिर १४ गतेसम्म कायम भएका शेयरधनीहरुको लागि पुस ९ देखि माघ २१ गतेसम्म हकप्रद निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले प्रति शेयर सय रुपैयाँको दरमा १२ लाख ८३ हजार कित्ता हकप्रद निष्कासन तथा बिक्री खुल्ला गरेको हो। कम्पनीको हकप्रद आवेदनको लागि एनआर्इसी एसिया क्यापिटल बबरमहल, आस्वा सुविधा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुबाट, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयबाट गर्न सकिनेछ।

कम्पनीको हालको चुक्ता पूँजी ४२ करोड ६७ लाख रुपैयाँ छ भने हकप्रद निष्कासन पछि ५५ करोड ५९ लाख रुपैयाँ पुग्नेछ। हकप्रद शेयर बाँडफाँड सँगै कम्पनीको संस्थापक तर्फका शेयरधनीको ८० प्रतिशत अर्थात ४४ करोड ४७ लाख रुपैयाँ पुग्नेछ भने सर्वसाधारणतर्फ २० प्रतिशत अर्थात ११ करोड ११ लाख रुपैयाँ पुग्ने छ।

बीमा समितिले निर्देशन गरे अनुरुप एक अर्ब रुपैयाँ पुर्याउन कम्पनीले अझै ४४ करोड ४० लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ भने नाफा १७ करोड १३ लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको नाफा तथा जगेडा कोष प्रयोग गरी पूँजी जुटाउने आधार भए पनि बलियो रहेको कोषलार्इ पूँजीमा परिणत गर्ने भन्दा पनि कम्पनीले पूँजी जुटाउने अरु कुनै बाटो रोज्न सक्ने देखिन्छ।

कम्पनीको हालको शेयर संरचनालार्इ मध्य नजर गर्दै कम्पनीले ऐन कानुन अनुसार सर्वसाधारण तर्फ ३० प्रतिशत पुर्याउने हकमा थप एफपिओ निष्काशन गर्ने बाटो रोज्न सक्ने पनि देखिन्छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ छ जुन अन्य बीमा कम्पनीको भन्दा राम्रो हो। त्यसैले कम्पनीले आफ्नो आम्दानी बलियो बनाउन कोष पनि बलियो बनाउनुपर्ने हुन्छ त्यसैले कम्पनीले थप पूँजीको बाटो रोज्न सक्ने देखिन्छ।