गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द, नारायणगढ- मुग्लिनजस्तै भीर काट्न आजदेखि सडक बन्द

रासस
२०७४ पुष १ गते १०:४८ | Dec 16, 2017
त्रिशूली। गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ । 
 
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ ।  प्रअिजको अध्यक्षतामा आज बसेको सरोकार भएकाहरुको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो । 
 
योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको सुरुवात हुन लागेकाले सडक बन्द गरिएको हो।
धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमी सडकमध्ये ४६ किमी क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । 
 
उत्तर–दक्षिण(चीन र भारत) जोड्ने छोटो नाकाका रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने जनाइएको छ । 
 
यो योजना विसं २०७३  वैशाख २५ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम शुरु भए पनि जग्गा अधिग्रहण, बिजुलीका खम्बा र वन क्षेत्रका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।
 
 

Tata
GBIME
Nepal Life