एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको वामदेवको खुलासा

बिजमाण्डू
२०७४ पुष १ गते ११:३६ | Dec 16, 2017
काठमाडौँ। स्थिर सरकारको नाराका साथ निर्वाचन अभियानमा लागेको वाम गठबन्धनबीच सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको गठबन्धनका मुख्य सूत्रधारमध्येका एक एमाले उपाध्यक्ष वामदेव गौतमले खुलासा गरेका छन्। 
 

शुक्रबार बीबीसी नेपालीसँगको कुराकानीमा गौतमले पार्टी एकता र तालमेल गर्ने सम्बन्धमा एमाले र माओवादी निश्कर्षमा पुग्दा प्रधानमन्त्री आलोपालो गरी बन्ने सहमति भएको बताएका हुन्। 
 
'आलोपालो त हामीले पहिले निर्णय गरेकै हौँ', उनले भने, 'पार्टी एकता र तालमेल गर्ने सम्बन्धमा हामी एउटा निश्कर्षमा पुग्दाखेरी यस्तो निर्णय पनि हामीले गरेका थियौँ।'
 
आलोपालो गर्न सहमति भए पनि अवधि भने नतोकिएको उनले बताए। उनले भने, 'आलोपालो भनेको पाँच वर्ष एउटा नेताले  पाँच वर्ष अर्को नेताले  पनि हुनसक्छ।  एक कार्यकालमा पनि कसैले दुई वर्ष गर्ने, कसैले तीन वर्ष गर्ने  पनि हुनसक्छ। कसैले एक वर्ष गर्ने कसैले के गर्ने पनि हुनसक्छ। आलोपालो भनेको त फलानो ठ्याक्कै यो मितिदेखि भन्ने त हुँदैन नि।'
 
आलोपालो गर्ने सहमति पहिले भए पनि पछि वाम गठबन्धन घोषणामा त्यो विषय समावेश नभएको उनले बताए, 'पछि हामीले घोषणा गर्दाखेरी त्यो विषय समावेश भएको छैन। त्यसलाई के गर्नुभाछ मलाई थाहा छैन।'
 
यसअघि केपी ओली प्रधानमन्त्री हुँदा पनि सरकारको नेतृत्व आलोपालो गर्ने 'भद्र सहमति' कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेससित मिली आफू सहभागी सरकारविरुद्ध गत वर्षको साउनमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। 
 
ओलीले राजीनामा दिएपछि कांग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए र कांग्रेससित भएको आलोपालो नेतृत्वको भद्र सहमति अनुसार १० महिनापछि गत जेठमा राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरबहादुर देउवा हालसम्म कायम छन्। माओवादी पनि बिना विभागीय मन्त्री कै रुपमा भए पनि सरकारमा सहभागी नै छ। 
 
यस पटक प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा आउने सिटसहित जोड्दा एमालेलाई सरकार बनाउन माओवादीको सहयोग अनिवार्य देखिन्न। दुई मधेसवादी दलमध्ये एकको सहयोगबाट नै सरकार बनाउन वा टिकाउन आवश्यक बहुमत पुग्न सक्छ। 
 
यद्यपि माओवादी, मधेसवादी दुई दल र कांग्रेससहितको गठबन्धन भयो भने पनि सरकार बनाउन पुग्ने बहुमत जुट्न सक्छ। 

Tata
GBIME
Nepal Life