ब्याजदर नघट्दा शेयर बजार प्रभावित, नेप्से सूचकांक ९ अंकले ओर्लदा सबै उपसूचक रातो

बिजमाण्डू
२०७४ पुष ५ गते १५:५१ | Dec 20, 2017

काठमाडौँ। साताको पहिलो दिन देखिनै घटेको शेयर बजारले चौथो दिन पनि निरन्तरता पायो। बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापक सूचक २.०७ अंकले घटेर ३१२.६८ अंकमा ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लोपटक लगातार शेयर बजार घट्नुमा शेयर कारोबार गर्दा सदस्य दलाल कम्पनीले लिने कमिसनमा भ्याट लाग्ने बिषयको पून उठान हुनु र बैंकको ब्याज दर नघट्नु मुख्य कारण रहेको इन्भेस्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको भनाई छ।

यसै पनि हकप्रद र बोनस शेयर बजारमा लगातार थपिएका थिए। खरिद आदेश भन्दा बिक्री आदेश बढी आउने क्रम बढेको बेलामा भ्याटको बिषयले प्रवेश पाउँदा लगानीकर्ताको मनोबल घटेको रौनियारको तर्क छ। त्यसपछि बैंकहरुले बचतमा १० प्रतिशत ब्याज दिने बिज्ञापननै प्रकाशन गर्न थालेपछि लगानीकर्ता थप हच्किएको रौनियारको विश्लेषण छ। तर केही समय यस्तो देखिए पनि बजारमा सकारात्मक परिवर्तन हुनेमा रौनियार बिस्वस्त छन्। "यो छोटो समयको गिरावट हो।" रौनियारले भने।

बुधबार शेयर बजारमा १५५ कम्पनीका नौ लाख ८३ हजार कित्ता शेयर ४२ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल टेलिकमको चार करोड रुपैयाँको शेयर किनबेच भयो।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ०.५३, होटल ०.०१, जलबिद्युत १.३१, विकास बैंक ०.४, फाइनान्स ०.१५, बीमा ०.५६, उत्पादनमुलक १.४, अन्य १.२४, अन्य १.२४ र लघुवित्त ०.४२ प्रतिशतले घटेका छन्।

सिन्धु विकास बैंकका शेयरधनीले सबैभन्दा बढी ६.७१ प्रतिशत कमाएका छन्। हिमालयन डिस्टिलरीका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।