अनिल शाह सेञ्चुरी जालान् कि नबिल? सेञ्चुरी बैंकमा तलवले विगार्यो कुराकानी, नबिल जान लबिङ

बिजमाण्डू
२०७४ पुष ९ गते १५:५२ | Dec 24, 2017

काठमाडौं। पुस १७ गतेबाट हाजिर हुने गरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने बिषय अनिश्चित बनेको छ। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए।

Tata
GBIME
Nepal Life

सञ्चालक समितिले करारपत्रमा तोकेको तलव सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको तलवमा सेञ्चुरी जाने/नजाने अनिश्चित भएको हो। शाह भने सेन्चुरीको विकल्पमा नबिल बैंक जाने बाटो बनाइरहेका छन्।

शशिन जोशीले बैंक छाडेपछि नबिल खाली छ। 'यता तलव नमिलेको र उता पुरानो बैंक खाली भएका कारण शाह सेञ्चुरी नजाने सम्भावना नै बढि छ' स्रोतले भन्यो, 'नबिलको सञ्चालक समितिले शाहलाई सकारात्मक रुपमै लिएको बुझिएको छ।'

सेञ्चुरीसँग शाहले मासिक १२ लाख बढि तलव सुविधाको सम्झौता गरेका थिए। राष्ट्र बैंकको तलव सुविधासम्बन्धि निर्देशनले प्रमुख कार्यकारीलाई १२ लाख बढि तलव दिन सेञ्चुरीको वासलातको क्षमताले मिल्दैन। तलव घटेर ८/९ लाख रुपैयाँ हाराहरीमा आउँछ।

राष्ट्र बैंकको तलव सुविधासम्बन्धि मार्गदर्शन विपरित किन बढि दिएको भन्दै सेञ्चुरी बैंकलाई पत्र लेखेको थियो। बैंकले आगामी बर्षहरुमा हुने नाफा र मर्जरपछि बढ्ने क्षमताका आधारमा तलव १२ लाखमाथि तोकिएको जनाएको छ।

राष्ट्र बैंकले भविष्यलाई हेरेर अहिले निर्णय गर्न नमिल्ने भनेपछि करारमा उल्लेख भएको तलव शाहले नपाउने भएका हुन्। यही कारण शाह सेञ्चुरी जाने बाटो टर्दै गएको हो। शाहले नबिल बैंकका लागि लबिङ गरिरहेको स्रोतको दावी छ।

शाहले नबिलबाटै करियर सुरु गरेका थिए। उनले त्यहाँ इन्टर्न गरेका थिए। त्यसपछि तत्कालिन ग्रीन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा गएका थिए। त्यहाँबाट नबिलमा महाप्रबन्धकका रुपमा भित्रिएका थिए। बैंकमा प्रमुख कार्यकारी हुँदै नेपाल बैंकमा आवेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि नैतिकताका आधारमा भन्दै उनले नबिल छाडेर मेगा बैंकको संस्थापक सिइओ बनेका थिए। मेगामा ८ बर्ष काम गरेपछि उनले बाहिरिने समयमा सेञ्चुरीमा चार बर्षका लागि करार सम्झौता गरेका हुन्।

शशिनले छाडेपछि नबिलमा अरु चार जनाको नाम पनि चर्चामा छ, तर पछिल्लो समय बलियो  गरी नाम शाहकै आएको छ। नबिल सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेल, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, बैंकका पूर्व सञ्चालक कृष्ण शर्मा र पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको नाम चर्चामा छ।

यता मेगा बैंकले भने अनुपमा खुँजेलीलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने योजना बनाएको छ। यद्यपी प्रमुख कार्यकारी अधिकृत छनौटका लागि भन्दै समिति भने बनाइसकेको छ। यसअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न भन्दै पनि समिति बनाएको थियो।

तीन महिना खुँजेलीको काम हेरेर पूर्ण सिइओको जिम्मेवारी दिने योजना सञ्चालक समितिको हो।शाहले छाडेपछि खुँजेली कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकी छन्।