ब्याज दर प्रतिस्पर्धा रोक्न राष्ट्र बैंकको नयाँ अस्त्र, तीन महिने सीमा, सिसिडी केही खुकुलो

बिजमाण्डू
२०७४ पुष १९ गते १७:१३ | Jan 3, 2018
काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) गणना विधिलाई केही खुकुलो पार्दै मुद्दति निक्षेपको ब्याज दरमा कडाइ गर्ने भएको छ। अहिलेको ब्याज दर तानातको प्रतिस्पर्धालाई रोक्न राष्ट्र बैंकले निर्देशन जारि गर्न लागेको हो।
 
अबदेखि एक पटक तोकेको मुद्दति निक्षेपको ब्याज दर तीन महिना कटेपछि मात्र अर्को तोक्न पाइने छ। आज १० प्रतिशत तोकेर भोली नै १२ प्रतिशत पुर्याउने प्रबृत्ति बढेपछि राष्ट्र बैंकले कडाइ गर्न लागेको हो।
 
गत साता नबिल बैंकले १३.०२ प्रतिशत ब्याजमा साढे दुई अर्ब रुपैयाँ उठाउनका लागि त्यही दिन बिहानको पत्रिकामा साढे ११ प्रतिशत ब्याज दर तोकिएको सुचना प्रकाशित गरेको थियो। तोकिएको ब्याजभन्दा दुई प्रतिशत माथिसम्म मात्र बोलकबोल गर्न पाइने ब्यवस्थाका कारण नबिलले १० करोडमाथि पैसा राख्नेका लागि ब्याज साढे ११ प्रतिशत दिने सुचना निकालेको थियो। 
 
यसरी राष्ट्र बैंकको २ प्रतिशत बढ्न पाइने नीतिको दूरुपयोग भएपछि उसले त्यसमा कडाइ गर्न तीन महिना सीमा पनि तोक्ने भएको हो। यसबाट संस्थागत निक्षेप तानातान गर्न केही अंकुश लाग्ने राष्ट्र बैंकको धारणा छ।
 
यसबाहेक राष्ट्र बैंकले सिसिडी गणना विधिमा केही खुकुलो नीति लिन लागेको छ। अहिले सिसिडी गणना गर्दा अघिल्लो त्रैमासको कुल पूँजीलाई आधार मान्नु पर्ने ब्यवस्था छ। अब भने आजको सिसिडी गणना आजैको पूँजीका आधारमा गर्न सकिन्छ। 
 
अर्थात अहिले सिसिडी गणना गर्नु परे असोजसम्मको पूँजीका आधारमा गर्नु पर्छ। कात्तिकमा साधारणसभा भएर बोनस शेयर वितरण भए वा बीचमा हकप्रदको पैसा आए तत्कालै सिसिडीमा गणना गर्न मिल्ने ब्यवस्था राष्ट्र बैंकले गर्न लागेको हो।
 
'राष्ट्र बैंकले आफ्नो दायराभित्र रहेको गर्न सक्ने जति गर्न खोजेको छ' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'अब बैंकहरु पनि सुशासित भएर लगानी गर्नु पर्छ।' राष्ट्र बैंकले सिसिडी गणना विधि बैंकर्स संघको आग्रहमा खुकुलो बनाएको जनाएको छ। 

Tata
GBIME
Nepal Life