बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक, यस्तो लतबाट हटाउन फ्याम्ली थेरापी चाहिन्छ




काठमाडौं। भक्तपुर बालकोटस्थित नोबेल स्कुलले ‘प्यारेन्टस मिटिङ’ बोलायो। दिदी बिरामी भएको कारण भान्जीको अभिभावक बनेर आफैँ मिटिङमा गएँ। मिटिङमा बच्चाहरुको समस्या सुनाउन स्कुलका प्रधानाध्यापकले आग्रह गरे।

प्रधानाध्यापकको आग्रह त ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुडो’ भनेझैं भयो।

अधिकांश अभिभावकहरुले आफ्ना बच्चाहरुको गम्भी0र समस्या सुनाए, जुन प्रधानाध्यापकले अपेक्षा गरेका थिएनन्। बालकोटकै कोपिलाले सुनाइन्,  ‘नर्सरीमा पढ्ने मेरो छोराले मलाई मोबाइल चलाएर आजित बनाइसकेको छ। स्कुलबाट गएदेखि मोबाइलमा गेम खेल्ने र टिभीमा कार्टुन हेर्ने बाहेक केही गर्दैन्। होमवर्क गर्न त परै जाओस् खाना खुवाउन समेत गाह्रो छ, मोबाइल चलाउँदै खाना खुवाउनु पर्छ।’

‘मेरो ६ वर्षकी छोरीलाई मोबाइल दिएन भने खानै खान्न। मोबाइल चलाएको बेला खोस्यो भने रिसाउने र झम्टिने गर्छे। अहिले उ मोबाइलको कुलतमा फसेजस्तो भएकी छे,’ बालकोटकै सुशीला खड्काले गुनोसो पोखिन्।
 
‘चलाइरहेको  फोन खोसियो बच्चाहरु झनक्क रिसाउँछन्। रुन्छन्, कराउँछन्। फोन खोस्नेमाथि झगडा गर्न पछि पर्दैनन्। फोन नपाउँदा उदास भएर कुनै पनि काममा अभिरुची नदेखाउने खालका एकोहोरा हुन्छन्,’  हरेक अभिभावहरुले आफ्नो बच्चाहरुको बारेमा बताएको साझा समस्या थियो यो।

अभिभावहरुको समस्या सुनेपछि प्रधानाध्यापकले भने, ‘सबै बच्चाहरुमा देखिएको डरलाग्दो समस्या हो यो। तर, यो समस्या स्कुलले मात्र समाधान गर्न सक्दैन।’‘बच्चाहरुको यस्तो स्वाभावले पढाइमा मात्र असर पर्छ कि!  उनीहरुको समग्र विकासमा ?’ अभिभावकहरुको यस्तो चिन्तालाई प्रधानाध्यापकले जवाफ दिन सकेनन्।

अभिभावकहरुको चिन्ता जायज थियो, किनकि बच्चाहरुको त्यस्तो स्वभावको कारण पढ्न ध्यान दिएका थिएनन्। न त खेल्थे,  न त परिवारहरुसँग कुराकानी नै गर्थे। खेलकुदमा लाग्ने समय मोबाइलमा झुम्मिँदा उनीहरुको शारीरिक विकासमा पनि बाधा भइरहेको थियो।

घर आएर सोच्न थालेँ, ‘कस्तो समस्या हो ? बालबालिकाको यस्तो लतले उनीहरुको भविष्यमा कस्तो प्रभाव पार्छ?’

आफैबाट जवाफ पाउन मुस्किल थियो।

गुगलमा सर्च थालेँ। सर्च गर्दै जाँदा धेरै लिंकहरु भेटिए। हामीले ध्यान नै नदिएको बालबालिकाहरुको यस्तो बानी डरलाग्दो समस्या रहेछ। यो विषयमा विश्वमा धेरै अध्ययन र अनुसन्धान भइसकेको रहेछ।
                       …

बेलायतको सञ्चार माध्यम इन्डिपेन्डेन्टले विश्वका टप एडिक्सन एक्सपर्टलाई उदृत गर्दै लेखेको छ, ‘बच्चाहरुलाई स्मार्टफोन चलाउन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनुजस्तै हो। बच्चाहरुलाई स्मार्टफोन कोकिन भन्दा खतरनाक हुन्छ।’

अझ खतरनाक कुरा त के भने यस विषयमा अनुसन्धान गरेका अधिकांश चिकित्सकहरुले स्मार्टफोनले बच्चाहरुको भविष्य नष्ट गर्छ भन्ने निष्कर्ष निकालेका छन्।

‘बच्चालाई त्यसरी सजिलै टेक्नोलोजीको प्रयोग गर्न दिनु भनेको वाइन र कोकिन दिनु सरह हो। हामी जति ध्यान बच्चाहरुले ड्रग्सको प्रयोग गरेकोमा दिन्छौं त्यत्ति नै ध्यान बच्चाहरु टेक्नोलोजिप्रति एडिक्ट भएको खण्डमा पनि दिनुपर्छ,’ बेलायत स्थित रिहाब क्लिनिककी विशेषज्ञ मान्डी सालिगरिलाई उदृत गर्दै इन्डिपेन्डेन्टले लेखेको छ।

अहिले १३ वर्ष भन्दा मुनिका बच्चाहरु धेरै डिजिटल टेक्नोलोजीसँग नजिक भएका छन्। जसले गर्दा उनीहरु आफ्ना अन्य क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन गर्न सक्दैनन्।

अनुसन्धानकर्ताहरुले धेरै अभिभावकहरुले सोच्दै नसोचेको निष्कर्ष निकालेका छन्। जुन यथार्थ नेपाली अभिभावहरुको लागि कल्पना बाहिरको कुरा हो।

सालिगरिका अनुसार उमेर नपुगेका बच्चाहरु पोर्नोग्राफीक(यौन सम्बन्धी) फोटोहरु बढी आदान प्रदान गर्ने र एडल्डहरुले हेर्ने यौन भिडियोहरु हेर्ने गर्छन्। सालिगरिको क्लिनिकमा करिब १६ देखि २० वर्षका किशोर किशोरीहरु आफूलाई लागेको लत (एडिक्सन)को उपचार गराउँन आउँछन्। कहिलेकाहीँ त यो भन्दा पनि कम उमेरका बच्चाहरु उपचारको लागि आउने गरेको उनले बताएकी छिन्।

सालिगरिलाई उदृत गर्दै इन्डिपेन्डेन्टले लेखेको छ- ब्रिटेनमा भर्खरै १५ सय शिक्षकहरुमा सर्भे गरिएको थियो। जसअनुसार, दुई तिहाइ शिक्षकहरुले पाँच कक्षा भन्दा मुनिका विद्यार्थीहरुले यौनसँग सम्बन्धित कुरामा चासो बढाएकाले आफूहरु त्रसित बनेको बताएका थिए। पछिल्लो तीन वर्षमा दुई हजार भन्दा बढी बच्चाहरु सेक्ससँग सम्बन्धित तस्बिर एक अर्कासँग साटेको कारण पक्राउ परिसकेका छन्।

सालीगरिकोमा उपचारको लागि आउने १३ देखि १४ वर्षका कतिपय बच्चाहरु सेक्सटिङ (मेसेजमा सेक्सको कुरा गर्नु) लाई सामान्य मान्छन्। उनीहरुको अनुसार कसैलाई फोनमार्फत् नग्न तस्बिर पठाउनु सामान्य कुरा हो। तर, त्यो कुरा बाबुआमाले थाहा पाएपछि मात्र नराम्रो हुने ती बच्चाहरुको बुझाइ छ। बच्चाहरुलाई यदि आत्म सम्मान र पहिचानका कुरा सिकाउने हो भने यस्ता क्रियाकलापबाट जोगिन सक्ने सालिगरिलाई उदृत गर्दै इन्डेपेन्डेन्टले लेखेको छ।
                        …

स्मार्टफोनले बच्चाहरुलाई गर्ने असर यतिमा मात्र सीमित छैन्। इन्डिपेन्डेन्टले प्रकाशित गरेको सामाग्रीका अनुसार स्मार्टफोनले बच्चाहरुको सिक्ने क्षमता र आत्मअनुशासन कम हुन्छ। साथै बालबालिकाको मानसिक र सामाजिक विकासमा स्मार्टफोनको लतले असर गर्छ।

अझै पनि यो विषयमा अध्यन अनुसन्धान हुन बाकी नै छ। तर, अहिलेसम्म भएका अध्यन तथा अनुसन्धानहरुले डरलाग्दो तथ्य भने उजागर गरिसकेको छ।

डाक्टर ग्यारी स्माल साइक्याट्रिकको प्रोफेसर हुन्। उनले यो विषयमा धेरै अध्यन अनुसन्धान गरेकी छिन्। उनका अनुसार स्मार्टफोनको लतबाट बच्चाहरुलाई छुटाउन गाह्रो हुन्छ। बच्चाहरुको यही स्मार्टफोन लतका कारण भविष्यमा केही गर्न सक्दैनन्।

फ्यामली फिजिसियन डाक्टर लिम काइ हुङको अनुसन्धानले स्मार्टफोनको प्रयोगले बच्चाहरुलाई ५ वटा भन्दा बढी असर पर्ने देखाएको छ। आँखाको समस्या, घाटीको समस्या, औला तथा निकट भविष्यमा स्मार्टफोनको लतले बच्चाहरुलाई दीर्घरोगी बनाउने उनको अनुसन्धानको निष्कर्ष छ।

स्मार्टफोनले गर्ने असर यतिमै सीमित छैनन्।
                               …

न्युयोर्क पोस्टले टप एडिक्सन एक्सपर्टहरुलाई उदृत गर्दै भनेको छ,  ‘स्मार्टफोन चलाउने केटाकटीको दिमागको फ्रोन्टल कोर्टेक्समा नराम्रो असर पर्छ। फ्रोन्टल कोर्टेक्सले शरीर सञ्चालनको मुल तत्वलाई नियन्त्रण गर्ने गर्छ। आवेग नियन्त्रण गर्ने काम पनि फ्रोन्टल कर्टेक्सकै हो।’

न्युयोर्क पोस्टको उक्त लेखमा भनिएको छ, ‘स्मार्टफोन चलाउँदा केटाकेटीको फ्रोन्टल कर्टेक्समा जस्तो असर पर्छ, त्यस्तै असर कोकिन लिने मानिसको फ्रोन्टल कर्टेक्समा परेको हुन्छ। अर्थात्, बालबालिकाका लागि स्मार्टफोनको अम्मल भनेको कुनै वयष्कका लागि कोकिनको अम्मलजस्तै हो।’

एडिक्सन एक्सपर्टहरुले स्मार्टफोनलाई ‘डिजिटल ड्रग्स’को उपनाम दिएका छन्।

डोपामाइन हार्मोनले मानिसहरुलाई आनन्द महसुस गराउँछ। स्माटफोन चलाउँदै गर्दा बालबालिकाको शरीरमा डोपामाइन हार्मोन उत्सर्जन ह्वात्तै बढेको हुन्छ। सोही कारण बालबालिकाहरु मोबाइलमा झ्याम्मिन्छन्। मोबाइल खोस्दा झर्किने र रिसाउने हुन्छन्।

डा. बेथानी ब्रोकसाइरले बिहेव्यरल न्युरोसाइन्समा विद्यावारिधि गरेकी छिन्। न्युयोर्कपोस्टले उनलाई उदृत गर्दै लेखेको छ, ‘डोपामाइन प्रेम हार्मोन हो। यो कामोत्तेजना बढाउने हार्मोन पनि हो। जुवामा लिन जुवाडेको शरीरमा पनि यही हार्मोन उत्सर्जन भएको हुन्छ। लागू औषधमा लिन भएको अम्मलीले पनि यही हार्मोनले गर्दा आनन्द पाएको हुन्छ।’

विभिन्न अध्ययनले स्मार्टफोनका अम्मलीहरूमा डिप्रेसन र चिन्तासँगै आक्रामकता पनि बढी हुने देखाएको छ। त्यस्ता मानिस जीवनका वास्तविकताबाट टाढै हुन्छन्।
                                             

नेपालमा धेरै बालबालिकाहरु स्मार्टफोनको अम्मली भए पनि केही अध्यन अनुसन्धान भएको छैन। स्वयम् अभिभावहरुले बच्चाहरुको यस्तो लत थाहा पाए पनि केही गर्न सकिरहेका छैनन्।

यस्तो स्मार्टफोन एडिक्सनको पीडित उपचार गराउन आएका छन कि छैनन् त?

मनोचिकित्सक बासु आचार्य भन्छन्, ‘नेपालमा यो सम्बन्धि अध्यन अनुसन्धान नभएको सत्य हो। तर, एडिक्सन पीडित नभएका भने होइनन्। नेपालमा पनि बालबालिकाहरु स्मार्टफोन एडिक्सनबाट पीडित छन्।’

आचार्यका अनुसार नेपालमा यस्तो समस्या विशेषगरि शहरी क्षेत्र तथा मध्यम वर्गीय परिवारमा विकराल रुपमा छ। यस्ता उपचार गराउन धेरै अभिभावकहरु बच्चा लिएर आएको आचार्य सुनाउँछन्। वर्षेनी यस्तो समस्या बढ्दै गएको आचार्यको कथन छ।

बच्चाहरुलाई स्मार्टफोन दिएर भुलाउने र अभिभावकहरु ढुक्कले बस्ने गरेको कारणले पनि बच्चाहरु स्मार्टफोनको एडिक्सनमा परेको आचार्य सुनाउँछन्। भन्छन्,  ‘बच्चाहरुलाई स्मार्टफोनको पहुचबाट ननिकाल्ने हो भने बच्चाहरुलाई सुधार्न सकिन्न। यस्तो लतमा फसिसकेका बच्चाहरुलाई फ्याम्ली थेरापी नियमित गर्नुपर्छ।’

‘बच्चाहरुको यस्तो लत छूटाउन के गर्ने त? ’

बच्चाहरुलाई स्मार्टफो खेल्न दिनुभन्दा अन्य खेल खेल्न प्रेरित गर्नुपर्छ। किताबमा पढ्ने बानी लगाउने र समय कटाउन घुमाउने र फुटबल क्रिकेटजस्ता खेलकुदमा लगाए बच्चाहरुको समग्र विकास हुने आचार्य बताउँछन्। उनका अनुसार खाना खाँदा, पढ्दा र सुत्ने बेला डिजिटल ग्याजेटबाट बालबालिकाहरुलाई टाढा राख्ने हो भने बच्चाहरु स्मार्टफोन एडिक्सनमा सजिलै फस्दैनन्।

विभिन्न अध्ययन अनुसन्धानहरुमा बच्चाहरुको स्मार्टफोनको लतबाट छुटाउन डिजिटल बस्तुदेखि पर राख्नुपर्ने उल्लेख छ। मोबाइल टिभी र अन्य ग्याजेट बच्चाहरुलाई चलाउन नदिँदा रोए भने फकाउन अन्य उपाय अपनाउनुपर्ने न्युयोर्क पोष्ट र इन्डिपेन्डेन्टले लेखेको छ।

Share this Story

   

बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक, यस्तो लतबाट हटाउन फ्याम्ली थेरापी चाहिन्छ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.