बिटक्वाइनको उच्च कारोबारले दक्षिण कोरिया चिन्तित, प्रतिबन्ध लगाउन गर्दैछ यस्तो तयारी

बिजमाण्डू
२०७४ पुष २८ गते १२:१८ | Jan 12, 2018

सोल। दक्षिण कोरियामा भर्चुअल करेन्सीप्रति मानिसको क्रेज अत्यधिक बढेपछि सरकार नै नियन्त्रणको कडा अभियान थालेको छ। कानुन मन्त्री पार्क स्याङ कीका अनुसार दक्षिण कोरियाले क्रिप्टोकरेन्सी एजेन्सीहरु बन्द गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

दक्षिण कोरियामा भर्चुअल करेन्सीको विस्तारमा रोक लगाउने अहिलेसम्मका सबै प्रयास बिफल भएको छ। कानुनमन्त्रीले देशका सबै किप्टोकरेन्सी एजेन्सीहरु बन्द गर्ने बताएसँगै बिटक्वाइनका साथै अन्य भर्चुअल युनिट्सको मूल्यमा ह्रास आएको छ।

मन्त्री पार्क भन्छन्- ‘यो बबल फुट्यो भने त्यसको नतिजा भयानक हुन्छ। त्यसैले कानुन मन्त्रालयले ट्रेडिङ प्लेटफर्ममार्फत भैरहेको भर्चुअल करेन्सीको लेनदेनमै रोक लगाउन लागेको हो।’

उनका अनुसार क्रिप्टोकरेन्सीप्रति नागरिकको लगाव ‘पागलपन’कै रुपमा देखा परेकोले सरकार निकै चिन्तित छ।

दक्षिण कोरियामा क्रिप्टोकरेन्सीको कारोबार उच्च स्तरमा देखिएको छ। विश्वभरकै २० प्रतिशत बिटक्वाइनको कारोबार दक्षिण कोरियामा मात्रै भएको देखिएपछि सरकारले भर्चुअल करेन्सी एक्सचेन्जहरुलाई नै बन्द गर्ने अवस्थामा पुगेको हो।

कानुन मन्त्रीको चेतावनीपछि साउथ कोरियन एक्सचेन्ज बिथममा बिटक्वाइनको मूल्य १८ प्रतिशतले झरेको छ। यस्तै इथेरियम २३ प्रतिशतले कमजोर भएको बताइएको छ।

बिथम दक्षिण कोरियाको २० वटा भर्चुअल करेन्सी एक्सचेन्जहरुमध्येको एउटा एक्सचेन्ज हो। कर अधिकारीहरुले त्यहाँ छापा मारी कागजातहरुको जाँच गरेका छन्।

बित्तीय अधिकारीहरुले देशका ६ वटा स्थानीय बैंकहरुको पनि जाँच गरेका छन् जसले कर्पोरेट कस्टमरहरुलाई भर्चुअल एकाउन्ट खोल्न अफर गरेका थिए। एक महिनाअघि नै दक्षिण कोरियाली सरकारले आफ्नो बित्तीय संस्थाहरुलाई भर्चुअल करेन्सी कारोबारमा रोक लगाइसकेको छ।