काठमाडौं। भिसा कार्डबाट बस्तु तथा सेवा खरीद गर्नेहरुले प्रति कारोबार २ देखि १० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन्।
तपाई भिसा कार्ड बोकेर केही सामान किन्न जानु भयो। र भुक्तानी कार्डबाट गर्नु भयो भने कारोबार संख्याका आधारमा नगद फिर्ता पाउनु हुने छ।
गत दसैंतिहारमा पनि बैंकहरुले प्रत्येक कारोबारमा १० प्रतिशत नगद फिर्ता दिने स्किम ल्याएका थिए। अहिले भने सबैले १० प्रतिशत छुट पाउँदैनन्। नगद फिर्ता दिने स्किम नेपाल इन्भेष्टमेन्ट बैकको नेतृत्वमा सेञ्चुरी बैंक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, एनसिसी बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैक र टुरिज्जम विकास बैंकले ल्याएका हुन्।
यसपालीको स्किम दसैंतिहारको जस्तो आकर्षक भने छैन। अघिल्लो स्किममा ५०० रुपैयाँको सामान किन्ने बित्तिकै ५० रुपैयाँ फिर्ता पाइन्थ्यो। अब भने ५०० को सामान किन्नु भएमा जम्मा १० रुपैयाँ मात्र फिर्ता पाइन्छ।
कम्तिमा ५०० का दरले तीन पटकसम्म कारोबार गर्दा २ प्रतिशत मात्र नगद फिर्ता हुन्छ। महिनाभरीमा ४ पटकदेखि १५ पटकसम्म कारोबार गर्नेले पाँच प्रतिशत नगद फिर्ता पाउँछन्। १६ पटकदेखि ३० पटकसम्म कारोबार गरेमा सात प्रतिशत र त्योभन्दा बढि पटक कारोबार गरेमा मात्र १० प्रतिशत नगद फिर्ता हुन्छ। नगद फिर्ता ५०० देखि १० हजार रुपैयाँसम्मको कारोबारमा लागू हुन्छ। १० हजारमाथि जतिसुकै रुपैयाँको सामान किने पनि एक हजार रुपैयाँसम्म मात्र फिर्ता हुन्छ।
पुरानो स्किम प्रत्येक कारोबारमा लागू हुन्थ्यो भने यसपालीको स्किम महिनाबारी रुपमा लागू गरिएको छ। स्किम माघ १ गतेबाट लागू हुने छ। ट्रायलका रुपमा एक महिनासम्म स्किम लागू हुन्छ। त्यसपछि स्किमलाई लम्ब्याउने नलब्याउने बारे बैंकहरुले निर्णय गर्ने आइतबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्।
पस मेसिन जुनसुकै नेटवर्कको भए पनि नगद छुट पाइन्छ। यसपालीको स्किमको फाइदा भनेको सपिङ मल र रेष्टुरेन्टवाहेकका ठाउँबाट कारोबार गरे पनि नगद फिर्ता हुन्छ। बैंकहरुले अस्पताललगायका जुनसुकै रिटेलरको मेसिन प्रयोग गरेर कारोबार गरे पनि नगद फिर्ता हुनेछ।
अहिले यी बैंकका साढे १६ लाख भिसा कार्ड जारी गरेका छन्। यी बैंकको नेटवर्कमा १६ सय पस मेसिन छन् प्रणालीमा ४५ सय वटा मेसिन सञ्चालनमा छन्। दसैंतिहारको स्किममा कार्ड घोटेर कारोबार गर्नेको संख्या ५२ प्रतिशतले बढेको बैंकहरुले दावी गरेका छन्।