काठमाडौं।गाडी किन्दै हुनुहुन्छ?गाडी किन्नुअघि आफ्टर सेल्स सर्भिस र पार्टसको मूल्य भने हेरेर मात्रै किन्नुहोला।
गाडी किनेर मात्रै हुँदैन आवश्यक पार्ट्सको मूल्य, सहजै पाउने व्यवस्था र सर्भिसिङ सुविधा सबैभन्दा महत्वपूर्ण हुन्छ।अहिले नेपालमा गाडी बिक्री गर्ने कम्पनीले बिक्रीपछिको सेवामा बढी लगानी गरिरहेका छन्।जुन गाडीको पार्टपूर्जा सहज रुपमा पाइन्छ र मर्मत सहज हुन्छ ती गाडीको ‘रिसेल भ्यालू’ पनि बढी छ।बिक्रीपछिको सेवालार्इ गाडी बिक्रेता कम्पनीले अझै परिस्कृत गर्दै गएका छन्।कुनै स्थानमा गाडी बिग्रिनेवित्तिकै त्यही गएर मर्मत गर्ने सुविधा समेत कम्पनीले दिन थालेका छन्।मोबाइल भ्यानमार्फत गाडीको मर्मत सुरु गर्ने प्रतिस्पर्धानै सुरु भएको छ।
प्रतिश्पर्धात्मक सेवा दिनका लागि कम्पनीहरुले सर्भिसिङ सेन्टरहरुमार्फत मर्मत सुविधा दिनेमात्र नभइ सडकमै समेत पुगेर मर्मत गरिदिनेसम्म गर्दछन्। महिन्द्रा, रेनल्ट, हुण्डाई, टाटा लगायतका विभिन्न गाडीका अधिकृत विक्रेताले यस्ता आफ्टर सेल सर्भिस राखेका छन्।
महिन्द्रा
ग्राहकले महिन्द्राको गाडी खरिद गरिसकेपछि १ वर्ष फ्रि सर्भिसिङको सुविधा लिन सक्छन्। काठमाडौं उपत्यकाभित्र कम्पनीले व्हिल इक्विप भ्यानमार्फत रोड साइड एसिस्ट सर्भिसिङ सुविधा दिँदै आएको सर्भिस हेड शिवसुदन श्रेष्ठले बताए।
पार्ट्सको नाम | केयुभि १०० | टियुभि ३०० | एक्सयुभि ५०० |
बजार मूल्य | बजार मूल्य | बजार मूल्य | |
रियर भ्यू मिरर | ३ हजार ३ सय ६० | ३ हजार ८ सय ९५ | २० हजार ८ सय ६९ |
हेड ल्याम्प | ७ हजार २ सय ७१ | ९ हजार ८ सय ९९ | ३३ हजार ४ सय ८ |
टेल ल्याम्प | ४ हजार ६ सय १६ | ३ हजार ६८ | १० हजार ३ सय चवालिस |
फ्रन्ट विन्डसिल्ड | ७ हजार ७ सय ४० | ११ अजार २ सय ६ | २२ हजार २ सय २३ |
एयर फिल्टर | १ हजार ९८ | १ हजार ६ सय २८ | २ हजार ९ सय २२ |
फ्युल फिल्टर | १ हजार १ सय ३१ | १ हजार ९ सय ६१ | ४ हजार ४४ |
इन्जिन आयल प्रति लिटर | ७ सय २९ | ७ सय ६५ | ६ सय ९० |
उनका अनुसार ग्राहकले मोवाइल सर्भिसिङ सेवाकालागि एनसेल र नेपाल टेलिकमको टोल फ्रि नम्बरमा सम्पर्क गर्न सक्नेछन्। उनले भने 'गाडी बिग्रेको स्थानमा हामी अन द स्पट पुगेर न्यूनतम ८० प्रतिशत मर्मत गर्नेछौँ, दुर्घटना भएमा गाडी निकाल्ने सुविधा पनि हामीले दिँदै आएका छौँ।' रिङरोडभित्र मोबाइल सर्भिसिङ चार्ज न्यूनतम एक हजार रुपैयाँ लाग्ने र बाँकी स्पेयरपार्ट्सको मूल्य गाडीको मोडल अनुसार छुट्टाछुट्टै लाग्ने उनले बिजमाण्डूलाई बताए। नयाँ गाडी खरिदकर्ताकालागि सर्भिसिङ सेवा निःशुल्क दिइनेछ।
त्रिशुली, नुवाकोट, धादिङ लगायत रिङरोड बाहिर पनि कम्पनीले मोवाइल सर्भिसिङ सेवा दिँदै आएको उनी बताउँछन्। रिङरोड बाहिरको क्षेत्रमा लाग्ने टेक्निसियन, डिजेल लगायतका सामाग्री अनुसार शुल्क लिँदै आएको उनले जानकारी दिए। कम्पनीले केयुभि १००, टीयुभि ३०० र एसयुभि ५०० सेग्मेनटका गाडीका स्पेर पार्ट्सको बजार मूल्यसूची नै तोकेको छ।
टाटा
टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदीले पनि बिभिन्न ठाउँमा सर्भिसिङ सेन्टर खोलेको छ। कार, युभि लगायत विभिन्न सिरीजका गाडीमा आफ्टर सेल्स सर्भिसपनि फरक किसिमले तय गरिएको कम्पनीका उप प्रवन्धक अर्जुन कार्कीले बताए।
पार्ट्सको नाम | टियागो | टिगोर |
एयर फिल्टर | १ हजार ३ सय १० | १ हजार ३ सय १० |
फ्यूल फिल्टर | १ हजार १ सय १३ | १ हजार १ सय १३ |
ओयल फिल्टर | ३ सय ४३ | ३ सय ४३ |
लुकिङ ग्लास | ३ हजार ५ सय १५ | ३ हजार ५ सय १५ |
फ्रन्ट बम्पर | ४ हजार ८ सय १२ | ४ हजार ८ सय १२ |
रियर बम्पर | ५ हजार ५ सय ५६ | ७ हजार ९१ |
हेड लाइट | ८ हजार १ सय ५६ | ८ हजार १ सय ५६ |
टेल ल्याम्प | ३ हजार ९ सय ४१ | ३ हजार ६३ |
फ्रन्ट विन्ड सिल्ड ग्लास | १५ हजार ७ सय १६ | १५ हजार ७ सय १६ |
रियर विन्ड सिल्ड ग्लास | ६ हजार १ सय ७० | ५ हजार ९ सय ६६ |
उनका अनुसार प्यासेन्जर भेहिकलमा तीन हजार, पाँच हजारदेखि दश हजार किलोमीटर माइलेजको अवधिभित्र कम्पनीले फ्रि सर्भिसिङको व्यवस्था दिँदै आएको छ। ग्राहकले नयाँ तथा पुराना सिरिजको गाडी खरिद गरेपछि माइलेज खपत भएको आधारमा सर्भिसिङ सुविधा लिन सक्नेछन्। कम्पनीले गाडीको स्पेयर पार्ट्स प्रतिश्पर्धा विश्लेषणका आधारमा बिक्री गर्ने गरेको उनले जानकारी दिए। 'अरु कम्पनीको तुलनामा टाटा भेहिकलको स्पेयर पार्ट्सको मूल्य कमै छ' उनले दावी गरे।
रेगुलर सर्भिसिङमा फास्ट मुभिङ पार्ट अन्तर्गतका एयर फिल्टर, आयल फिल्टर, फ्यूल फिल्टर, एक्सिलरेटर केबल, लुब्रिकेन्ट, ब्याट्री लगायतका सामान तुलनात्मक रुपमा सस्तो रहेको उनले बताए। उनका अनुसार गाडीको बम्पर, लुकिङ ग्लास, हेड लाइट लगायतका पार्ट नफुटुन्जेल फेर्नु पर्दैन। टाटाको टियागो र टिगोर खरिद गर्दा ग्राहकले दश हजार किलोमीटर कुदाइको अवधिभित्र फ्रि सर्भिसिङ गर्न सक्छन् भने ग्राहकले बोल्ट र जेस्ट लगायतका गाडी पाँच हजार किलोमिटर कुदाइको अवधिसम्म फ्रि सर्भिसिङ गर्न सक्छन्।
मोबाइल सर्भिस सेवा संचालनमा ल्याउनका लागि इक्विप्ड भ्यान तयार गर्दै गरेको प्रविधि प्रवन्धक कुमार भण्डारीले जानकारी दिए। सिप्रदीको मोबाइल सर्भिसिङ सुरु भएपछि कम्पनीले गाडी बिग्रिएको स्थानका साथै ग्राहकको घरमै गएर पनि मर्मत सेवा दिने उनले बताए। फेब्रुअरीदेखि सिप्रदीले टाटाको गाडी प्रयोगकर्ताकालागि ‘मोबाइल सर्भिसिङ’ दिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोबाइल सर्भिस काठमाडौं वरपरका क्षेत्रका लागि हुनेछ। टियागो खरिदकर्ताले गाडी १० हजार माइलेज कुदेको अवधिमा फ्रि सर्भिसिङ गराउन सक्छन्। सर्भिसिङ गराउँदा ग्राहकले पाँच हजार शुल्क तिर्नुपर्ने उनले बताए। वार्षिक एक पटक गाडी सर्भिसिङ गराउँदा पाँच हजार रुपैयाँ लाग्छ भने पाँच वर्षसम्म उक्त दरमा सर्भिसिङ गराउन सक्छन्।
देशभर सिप्रदीको २४ वटा सर्भिसिङ सेन्टर छन्। काठमाडौँमा भने सिप्रदीको सोल्टीमोड र बालकुमारीमा दुईवटा आफ्नै सोरुम रहेको छ भने शंखमुल र सानेपामा दुईवटा आधिकारीक सोरुम छ।
हुण्डाइ
हुण्डाइ गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले गाडी खरिद गरिसकेपछि चार वर्षसम्म फ्रि सर्भिसिङको सुविधा दिएको छ।
पार्टसको नाम | क्रेटा मूल्य सूची | भेर्ना सूची |
क्लिनर एस एयर | एक हजार २५ | एक हजार ३१ |
इन्जिन वेल फिल्टर | चार सय ४२ | तीन सय १३ |
मिरर एय आरआर भिउ | ५ हजार ९ सय ५ | १९ हजार ४७ |
कभर एस फआर बम्पर युपिआर | ५ हजार ८ १४ | ४ हजार ७५९ |
कभर आरआर बम्पर युपिआर | ४ हजार एक सय ११ | ५ हजार ८०५ |
ल्याम्प एस हेड | १५ हजार ८ सय ७८ | १० हजार ७६२ |
ल्याम्प एस आरआर कम्विनेसन | ७ हजार २ सय ४७ | ५ हजार ४४४ |
ग्लास एस डव्लु सिल्ड | १४ हजार ६४५ | १५ हजार ४५७ |
ग्लास एस टि गेट | ९ हजार ७४३ | ९ हजार ७४७ |
कम्पनीको सर्भिस सुपरभाइजर दुर्गेन्द्र महर्जनका अनुसार ग्राहकले हरेक चार महिनामा सर्भिसिङ सुविधा लिन सक्नेछन्। ग्राहकले गियर बक्स इन्जिनमा ३ वर्ष र इलेक्ट्रिक कम्पोनेन्टमा २ वर्षको वारेन्टी पाउन सक्ने उनले बताए। ग्राहकले फ्रि सर्भिसिङ गर्दा गाडीमा प्रयोग हुने मोबिल लगायतका सामाग्रीको शुल्क भने तिर्नुपर्ने हुन्छ।
कम्पनीले शनिबार बाहेकका दिनमा कुपण्डोल स्थित सर्भिसिङ सेन्टरबाट ९ देखि ५ बजेसम्म मोबाइल सर्भिसिङ दिँदै आएको छ। सिनामंगलस्थित सर्भिसिङ सेन्टरबाट भने चौबिसै घण्टा सर्भिस दिँदै आएको बताएको छ। कम्पनीको धापासी, कुपण्डोल, बानेश्वर, सिनामंगल लगायत चारवटा सर्भिसिङ सेन्टर छन्। काठमाडौं उपत्यकाभित्र पाँच सयदेखि १ हजार रुपैयाँसम्म सर्भिस चार्ज लाग्ने सर्भिस सुपरभाइजर महर्जनले बताए।
सामान्यतया सर्भिसिङ खर्च काम र गाडी अनुसार हुने उनले बताए। सानो गाडी सर्भिसिङ गर्दा न्यूनतम ३ हजार लाग्ने र ठूलो गाडी सर्भिसिङ गर्दा न्यूनतम ४ हजार लाग्ने कम्पनीले दर तोकेको छ।
सुजुकी
सुजुकी मोटर्सको अधिकृत विक्रेता सिजी मोटोकर्पले नयाँ गाडी खरिद गरेकै समयमा ८ वटमा फ्रि सर्भिसिङ कुपन दिन्छ।
नन कमर्सियल भेहिकलमा वारेन्टी बढी हुने बिरेन्द्र ओली बताउँछन्। फ्रि सर्भिसिङ कुपन भएको खण्डमा लेबर चार्ज नलाग्ने तर पार्ट्सको शुल्क लाग्ने उनले जानकारी दिए। मोबाइल सर्भिसिङ सुविधा दिँदै आएको कम्पनीले नजिकैको डिलरबाट सेवा दिँदै आएको उनी बताउँछन्। मोबाइल सर्भिसिङकालागि न्यूनतम १५ सयदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लाग्ने उनले बताए। मोबाइल सर्भिसिङ सुविधा काठमाडौं लगायत उपत्यका बाहिरका क्षेत्रमा पनि उपलब्ध रहेको उनले बताए।
कम्पनीको पुल्चोक र धोबीघाट लगायतका दुई सर्भिसिङ सेन्टर छन् भने महाराजगंज, मित्रपार्क, बौद्ध, जडीबुटी, अनामनगर, नयाँबजार लगायतका क्षेत्रमा आधिकारिक सर्भिसिङ सेन्टर रहेको उनले जनाए।
फक्सवागन
फक्सवागन गाडीको अधिकृत विक्रेता पूजा इन्टरनेशनल नेपालले हरेक गाडीको खरिदमा चार वर्षकालागि पाँचवटा फ्रि सर्भिसिङ दिँदै आएको छ।
कम्पनीका बिक्री उप-प्रवन्धक आशुतोष गौतमका अनुसार कम्पनीले पहिलो पटक दिने सर्भिसिङमा गाडीको माइलेज क्षमता जाँच्छ। गाडी सर्भिसिङ गराउँदा लेबर चार्ज र वासिङ चार्जको शुल्क भने लाग्दैन। पार्ट्सको तथा मोविलको शुल्क भने लाग्ने कम्पनीले जनाएको छ। गाडी खरिद गरेको पहिलो वर्षमा कम्पनीले ‘फर्स्ट जेनरल चेकअप’ गर्छ।
ग्राहकले गाडी सर्भिसिङकालागि २५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान छ। कम्पनीको बालाजु र यूएन पार्क लगायतका क्षेत्रमा गरी दुईवटा सर्भिसिङ सेन्टर छन्। कम्पनीले कालोपुल र पानीपोखरीमा सर्भिसिङ सेन्टर बिस्तारको योजना बनाएको छ।
मोबाइल सर्भिसिङकालागि कम्पनीले उपत्यकाभित्र र बाहिर सेवा दिँदै आएको जनाएको छ। कम्पनीका अनुसार मोबाइल सर्भिसिङकालागि न्यूनतम ५ सय रुपैयाँ शुल्क लाग्नेछ भने आवश्यक पार्टपूर्जाको शुल्क भने छुट्टै लाग्नेछ।