आन्तरिक पर्यटकलाई लक्षित गरेर पर्बतमा पनि क्यानोनिङ, बस्नका लागि होमस्टे बिस्तार

रासस
२०७४ माघ १ गते १२:३८ | Jan 15, 2018
फलेवास, पर्वत। साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी तथा विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ। 


 
जिल्लाकै मनोरम तथा बाह्रैमास एकै किसिमले सञ्चालन हुने खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो। हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिए। 
क्यानोनिङका लागि खोलामा सम्भाव्यता अध्ययन भइसकेको र यसै सातादेखि नियमितरुपमा सञ्चालनमा ल्याइएको उनले बताए। पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ। 
 
स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिएको गुरुङले जानकारी दिए। यहाँसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ। कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ। 
 
एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालनमा ल्याइएको क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थापन, पूर्वाधार निर्माण तथा अन्य विविध तयारीसमेत भइरहेको स्थानीयवासी राजन गुरुङले जानकारी दिए। 
 
नेपालका लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ सञ्चालन हुँदै आएकामा साविक धौलागिरि अञ्चलमा पहिलोपटक सञ्चालन भएको हो। 

Tata
GBIME
Nepal Life