नेपालमा पहिलो विद्युतीय गाडीको कथा: पाँच वर्ष भन्सारमा थन्कियो, १२ लाखको गाडी २५ लाख पुग्यो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ माघ २ गते १४:१७ | Jan 16, 2018
नेपालमा पहिलो विद्युतीय गाडीको कथा: पाँच वर्ष भन्सारमा थन्कियो, १२ लाखको गाडी २५ लाख पुग्यो


काठमाडौं। प्रमोद भण्डारीले सन् १९९८ मा रुसबाट अटोमोवाइल इन्जिनियरीङमा स्नातकोत्तर सकेर नेपाल फर्कदा त्यसपछिको यात्रा कसरी अघि बढाउने भन्ने बारे सोचेका पनि थिएनन्। अरुभन्दा फरक केही गर्न चाहन्थे। फर्केपछि उनले गाडी मिस्त्रीका रुपमा पवित्र अटो वर्कसपमा काम थाले।


 
केहि बर्ष मिस्त्रीको काम गरेपछि विस्तारै उनले अटोमोबाइल क्षेत्रमा हात हाले। लोटस एनर्जीको भगिनी कम्पनीको रुपमा रहेको इको भिजनबाट उनले अटोजगतमा पाइला हाले। उनलाई फरक केही गर्नु थियो। त्यसैले लागे विद्युतीय परिवहनको क्षेत्रमा। 
 
सन् २०१० मा रेभा र महिन्द्रा मर्ज भएपछि हाल उनी अग्नि ग्रुपको अग्नि एनर्जीमा वरिष्ठ कार्यकारी प्रवन्धकका रुपमा काम गरिरहेका छन्। प्रदुषण रहित भेहिकलकै क्षेत्रमा अघि बढेका भण्डारीलाई काठमाडौंको धुलोधुँवाको राम्रै अनुभव छ। बिदेशबाट फर्केपछिका दिनहरु उनी सम्झन्छन्- 'ट्रकले फाल्ने धुवाँ मुखमा परेपछि सास नै रोकिए जस्तो हुन्थ्यो। धुँवा मुखमै नपर्ने उपाय के होला भनेर सँधै सोचिरहन्थें।'
 

सुरुमा उनीहरुले पाँचवटा विद्युतीय परिवहनबाट काम सुरु गरे। ‘त्यो बेला वातावरण संरक्षणका लागि जति पनि एनजिओले कार्यक्रम गर्थे हामी उक्त संस्थालाई समाइहाल्थ्यौँ र बिद्युतीय परिवहन खरिद गर्नका लागि प्रस्ताव गर्थ्यौँ’- उनी सुनाउँछन्। बिद्युतीय परिवहन विक्री गर्ने क्रममा उनीसँग रमाइला किस्साहरु पनि छन्। एक ग्राहकलाई कन्भिन्स गर्न उनलाई ठ्याक्कै ६ वर्ष ६ महिना लागेछ। अहिले ती ग्राहकले महिन्द्राको थप दुईवटा इभी खरिद गर्न लागेको भण्डारी बताउँछन्। 
 

नेपाली बजारमा इटुओ प्लस भित्र्याउँदा सुरुमा १२ वटाबाट सुरु गरेकोमा हाल ३० वटा थप ल्याएको उनले बताए। बिद्युतीय परिवहनप्रति ग्राहकको चासो र प्रयोगप्रतिको सचेतना बढेको उनको अनुभव छ। थप ल्याइएकामध्ये दशवटा इटुओप्लस बुकिङ भइसकेकोले पनि विद्युतीय परिवहनप्रतिको रुचि बढेको पुष्टि गर्छ। 
 
हाल ल्याइएका चारढोके इटुओप्लसप्रति ग्राहकले धेरै चासो देखाएको उनले बताए। भण्डारीका अनुसार चारढोके इटुओप्लसले १ सय ४० किलोमीटर माइलेज दिन्छ। पहिलेको दुईढोके इटुओप्लसले १ सय २० किलोमीटर माइलेज दिएको उनको भनाई छ। 
 
इभि (इलेक्ट्रिक भेहिकल) क्षेत्रमा ट्रली बस आएदेखिको सुधार हेर्ने हो भने सकारात्मक रुपमै अघि बढेको देखिन्छ। हाल सर्वसाधारणले पनि इभिप्रति निकै उत्सुकता देखाउन थालेका छन्।
 

भण्डारीका अनुसार महिन्द्राले रेभा भित्र्याउँदा ताका उनीहरुले घरघर गएर इलेक्ट्रिक भेहिकलसम्बन्धी जानकारी दिनुपरेको थियो।
 
बजारमा अहिले महिन्द्राको इटुओप्लस लगायत अरु बिभिन्न कम्पनीको इभी गुड्न थालिसकेका छन्। पहिला रेभा सडकमा गुडेका बेला यसको सानो साइज र डिजाइनले नै सर्वसाधरणको ध्यान तान्थ्यो। तर हाल बजारमा आएका इटुओप्लसको बनोट अरु गाडी झैँ सामान्य भएकाले त्यति नोटिस हुँदैन। 
 
दोस्रो विद्युतीय सवारी ‘रेभा’
नेपालमा विद्युतीय सवारीको इतिहास ट्रलीबसबाट सुरु भएको हो। दोस्रो सवारीका रुपमा रेभाले नेपाली बजारमा प्रवेश गर्यो। तर रेभा भित्र्याउने कोशिश सफल हुन पाँच वर्ष लाग्यो। 
 
सन् २००२ मा रेभा ल्याउन पहल भयो। त्यसबेला विद्युतीय परिवहनलाई १० प्रतिशत भन्दा बढी भन्सार नलाग्ने नियम थियो। त्यसैअनुसार पाँचवटा रेभा खरिद गरेलगत्तै भन्सारको नियम फेरियो। इभीमा पनि अन्य गाडीमा झैं भन्सार लाग्ने भयो। त्यसैकारण रेभा पाँच वर्षसम्म भन्सारमा थन्किएको भण्डारीले स्मरण गरे।
 
पाँच बर्षपछि (सन् २००७) मा १२ लाखमा ल्याइएको रेभा २५ लाखमा बिक्री गर्ने गरी नेपाल भित्रिन पुग्यो।  त्यसलगत्तै सरकारले इभीमा ४० प्रतिशत भन्सार लाग्ने नियम बनायो।
 
हाल इभीको भन्सार दर घटेर १० प्रतिशत छ, लोडसेडिङ समस्या छैन र मानिसहरुमा विद्युतीय सवारीप्रति उत्सुकता पनि बढेको छ। यी सबै कुराले आफूहरुलाई उत्साहित बनाएको भण्डारी सुनाउँछन्।  


 
विद्युतीय परिवहनको बजार
रेभा बजारमा उतार्दा कम्पनीले घर घर पुगेर विद्युतीय परिवहनबारे जानकारी दिने र कन्भिन्स गर्ने काम गर्थ्यो।  मानिसहरु बत्ती बाल्न नपाउने समयमा बिजुलीले चार्ज गरेर गाडी कसरी हाँक्ने भनेर सोध्थे। रेभा ४ घण्टा चार्ज गर्दा ८० प्रतिशत ब्याट्री चार्ज हुन्थ्यो। हामी सँधै २० प्रतिशतभन्दा तल पुगेपछि ब्याट्री प्रयोगमा नल्याउन भन्छौं।
  
रेभा बजारमा स्थापित गर्नु चानचुने काम थिएन। त्यसताका विद्युत प्राधिकरणको लोडसेडिङ सेड्युलमा बेलुका १२ बजेदेखि विहान ४ बजेसम्म मात्र बत्ति जाँदैनथ्यो। रेभाले ८० प्रतिशत चार्जले ८० किलोमीटरको माइलाज दिन्थ्यो। सामान्यतया काममा हिड्ने सर्वसाधारण दैनिक ७० किमी गुड्न आवश्यक नरहेको र ४ घण्टा सजिलै चार्ज गर्न सक्ने समय हुने कुराबारे कन्भिन्स गराउनै गाह्रो थियो। त्यतिखेर जो जतिले कन्भिन्स भएर रेभा किने उनीहरुले अहिलेपनि रेभा नै चलाइरहेको भण्डारी बताउँछन्।  
 
नेपालमा इकोभिजनले सन् २००५ देखि रेभालाई ब्यापारिक रुपमा बजारमा उतारेपनि त्यसको ५ वर्षपछि नै अग्नि ग्रुप अन्तर्गत अग्नि एनर्जीले यसको बजार प्रवर्द्धन गर्न थाल्यो। भण्डारी भने सन् २००२ मा रेभा इम्पोर्ट गरेदेखि नै आजसम्म पनि इभी प्रवर्द्धनमा लागिपारेका छन्। अहिले किया र बिवाइडीले इभीका लागि फास्टचार्जर ल्याउनु इभी प्रवर्द्धनका लागि सकारात्मक पक्ष भएको भण्डारी बताउँछन्। उनी भन्छन्- ‘हामी फरक ढंगले इभी प्रवर्द्धनमा लागिरहेका छौँ। इजि होम चार्जिङ सुविधा दिनु हाम्रो मुख्य उद्देश्य हो।’ 
 
फास्ट चार्जरबाट ग्राहकले आफ्नो इभि  छिटै चार्ज गर्न सक्छन्। यसबाट २० मिनेटदेखि आधा घण्टामा ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ। 
 
‘इभी’ अर्थात सिटी भेहिकल 
नेपालको सडक अब्यबस्थित भएकाले इभीलाई अहिले नै हाइवे भेहिकलका रुपमा अघि बढाउन उपयुक्त नभएको भण्डारी बताउँछन्। लङ ड्राइभ जानसक्ने भेहिकललाई हाइवे भेहिकल मानिन्छ। कियाले ठाउँ ठाउँमा चर्जिङ स्टेश राख्न पहल गरिसकेको छ। कियाले चार्जिङ स्टेशन राख्नका लागि वर्क आउट गर्नु समग्र इभीहरुको लागि सकारात्मक हो भन्ने भण्डारीको बुझाइ छ। 
 
अहिले मेचिदेखि महाकालीसम्म इभि लिएर जाने आँट कमैले गर्छन्। भण्डारीका अनुसार दक्ष प्राविधिक नहुनुले पनि इभी प्रयोगकर्तालाई उपत्यकाबाहिर समस्या पर्छ। 
 
उपत्यकाबाहिर पुगेको बेला इभी बिग्रिएमा काठमाडौंबाटै प्राविधिक बोलाएर मर्मत गर्नुपर्ने अवस्थामा बाहिरको यात्रा गरेर जोखिम मोल्ने आँट सवारीधनीले गर्न सक्दैनन्। त्यसैले इटुओ प्लसपनि हाइवे सवारी होइन। इटुओप्लस सिटी कार हो। काठमाडौं, पोखरा, भैरहवा, बिराटनगरमा इटुओप्लस संचालनमा आएको छ। हामीले सुरुमै ग्राहकलाई सिटी एरिया बाहेकका स्थानमा इटुओ नचलाउन अनुरोध गरेका छौँ। 
 
इटुओप्लसले एनसेलसँग टाइअप गरी सर्भरसँग कनेक्सन गर्छ। यसबाट गाडी सिधै महिन्द्राको भारतस्थित सर्भरसँग कनेक्ट हुने र नेटवर्क भएको क्षेत्रमा अटोमेटिक रुपमै सफ्टवेयर अपडेट भैरहने कम्पनीले जानकारी दिएको छ। यसबाट सवारीधनीले जहाँसुकैबाट पनि एपको सहयोगबाट गाडीको अवस्थाबारे जानकारी पाउनसक्ने ब्यबस्था पनि कम्पनीले मिलाएको छ। यसमा मोवाइलकै भरमा गाडीको ढोका, एसि लगायतका सिस्टम अपरेट हुने सुविधा समेत छ। महिन्द्राको रेभा र इटुओप्लस गरी हालसम्म चार सय भन्दा बढी इभी सडकमा छन्। 
 
युनिभर्सल फास्ट चार्ज आवश्यक
फास्ट चार्जको सुविधा दिनु अघि दक्ष प्राविधिक उत्पादनमा आफूहरु केन्द्रित भएको भण्डारीले जानकारी दिए। कम्पनीले सुरु गर्न लागेको फास्ट चार्ज सुविधा सबै किसिमका इभीका लागि हुने उनले बताए। नेपालमा अहिले १० वटा औद्योगिक क्षेत्र छन्। भण्डारीका अनुसार महिन्द्राले हरेक औद्योगिक क्षेत्रमा फास्ट चार्ज राख्ने तयारी गरेको छ। 
 

उनी भन्छन्- ‘फास्ट चार्ज सुविधा राख्ने नै हो भने युनिभर्सल राखौँ भन्ने हाम्रो मान्यता हो। विद्युत प्राधिकरणले राखेको फास्ट चार्ज उपयोग गर्न प्रत्येकले ६० लाखको बिवाइडी किन्नै पर्छ।’
 
सरकारले फास्ट चार्जर राख्दा सबै युभिलाई हुने गरि (युनिभर्सल चार्जर) राख्नुपर्ने भण्डारीको सुझाव छ। ब्याट्री डिस्पोजेबल प्लान ल्याएमा माटोको उर्बरा शक्तिमा नकारात्मक असर नपर्ने उनी बताउँछन्। हालसम्म प्रयोगमा आएका ब्याट्रीहरु बिग्रिएपछि कवाडीमा बिक्री गरिन्छ तर त्यसपछि त्यसको लिड प्रयोगमा त आउँछ तर एसिड भुइँमै फालिन्छ। यसप्रति भने उनी चिन्तित छन्। 
 
इभीका लागि हालको जनशक्ति पर्याप्त नभएको मात्र होइन नगण्य छन्। कम्पनीले बीसवटा इभी बराबर एउटा दक्ष प्राविधीक जनशक्ति राख्ने योजनामा समेत काम गरिरहेको उनले बताए। कम्पनीले हाल २० जनालाई तालिम दिइरहेको छ। कम्पनीले अर्को वर्ष महिन्द्राको प्यासेन्जर भ्यान ल्याउने योजना समेत बनाएको छ। 
 
आउँदो दश वर्षपछि संसारभर विद्युतीय सवारीसाधन नै प्रयोगमा आउनेमा भण्डारी विश्वस्त छन्। छिमेकी देश भारतमै पनि प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक गाडी उत्पादक कम्पनीलाई २० प्रतिशत विद्युतीय सवारी बनाउनै पर्ने निर्देशन दिइसकेका छन्।
 
नेपालमा भने गाडी बनाउने बिषयलाई मजाकका रुपमा लिइन्छ भन्ने भण्डारीलाई लाग्छ। तर सरकारले पहल गर्ने हो भने नेपालमै इन्जिनियरिङ पढेका नयाँ जेनरेसनले गाडी बनाएर गुडाउन सक्ने भैसकेका छन्। उनी भन्छन्- ‘मात्र सरकारको सपोर्ट चाहिन्छ। पर्यावरणको सुरक्षा र विद्युतीय सवारीको विकास, दुबै राम्ररी गर्न सकिन्छ।’ 

Tata
GBIME
Nepal Life