किन पुगेन विराटनगर भन्सारको राजस्व ? राजस्वमा सबैभन्दा बढी मोटरसाइकलको योगदान

बिजमाण्डू
२०७४ माघ २ गते १६:४२ | Jan 16, 2018

विराटनगर ।विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

Tata
GBIME
Nepal Life

कार्यालयले यो अवधिमा १४ अर्ब ३७ करोड २६ लाख रुपैयाँ संकलन गर्ने राखेको थियो । लक्ष्यका तुलनामा ९६ प्रतिशतमात्र प्रगति हासिल भएको छ।कार्यालयले १३ अर्ब साढे ८३ करोड संकलन भएको जनाएको छ।गत साउन २८ र २९ गतेको बाढीपछि विराटनगर भन्सारको राजस्व असुली प्रभावित भएको कार्यालय प्रमुख मीमांस अधिकारीले बताए ।

बाढीका कारण साउन र भदौ महिनामा लक्ष्य हासिल नभएपछि त्यसको असर अद्र्धवार्षिक लक्ष्यमा परेको अधिकारीको भनाइ थियो ।साउनमा २ अर्ब १८ करोड ७१ लाखको लक्ष्यमा १ अर्ब ७० करोड ६९ लाख र भदौमा २ अर्ब ४९ करोड ९५ लाखको लक्ष्यमा १ अर्ब ८७ करोड ७८ लाख मात्र सङ्कलन भएको प्रमुखले जानकारी दिए ।

बाढीका कारण सीमावर्ती भारतीय क्षेत्रको मीरगञ्ज खोलाको पुल भत्किएपछि व्यवसायीले रिरुट गर्दै मर्मतपछि जोगबनी नाकाबाट २० मेट्रिक टन सम्मको मात्र ढुवानी गत मङ्सिर महिनादेखि सुरु भएको छ । जसअनुसार जोगबनी नाकाबाट सानो परिमाणका लोकल पैठारीका मालसामान र पेट्रोलियम पदार्थमात्र आयात भइरहेको छ ।

कार्यालयले साउन र भदौमा लक्ष्य हासिल नगर्नुको कारण पुल र रिरुटको समस्या नै भएको उनको दाबी थियो ।अधिकारीका अनुसार असोज, कात्तिक, मंसिर र पुस महिनामा भने कार्यालयले मासिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।असोजमा २ अर्ब १८ करोड ७१ लाखको लक्ष्यमा २ अर्ब ५२ करोड ६३ लाख तथा कात्तिक–मंसिर र पुसमा प्रत्येक महिना २ अर्ब ४९ करोड ९५ लाखको लक्ष्यमा क्रमशः २ अर्ब ७० करोड १८ लाख, २ अर्ब ५० करोड ९५ लाख र २ अर्ब ५१ करोड २८ लाख असुली भएको छ ।

पुल र रिरुटका कारण कतिपय व्यवसायीले विराटनगर नाका छाडेर काँकडभिट्टा र भैरहवा नाकाबाट कारोबार सुरु गरेका छन् ।विशेषतः औद्योगिक कच्चा पदार्थ भित्रने नाकाका रूपमा चिनिने विराटनगर भन्सारको राजस्व संकलनमा सबैभन्दा बढी योगदान गर्ने वस्तु भने मोटरसाइकल भएको छ ।
कार्यालयले मंसिर उपलब्ध गराएको महिनासम्मको ५ महिने तथ्यांक मोटरसाइकलको पैठारीले सबैभन्दा बढी ७ दशमलव १ प्रतिशत योगदान गरेको छ ।

मोटरसाइकलपछि हाइस्पिड डिजलको योगदान ५ दशमलव १९, पोलिथिन दानाको ३ दशमलव ५८, पेट्रोलको ३ दशमलव ४९ र पाँचौँमा तयारी कपडाको २ दशमलव ३८ प्रतिशत योगदान देखिएको छ ।छैठौँदेखि दशौँ नम्बरमा क्रमशः एलपी ग्यास, प्लास्टिकका सिट, एमएस बिलेट, सिआर सिट र कपर वायरको आयातले राजस्व असुलीमा योगदान गरेका छन् ।