सुमार्गीको गम्भिर आरोपपछि कान्तिपुरको बचाऊ, ‘कालोधनलार्इ बैधता दिन कपोकल्पित आरोप’

बिजमाण्डू
२०७४ माघ २ गते २१:४३ | Jan 16, 2018
काठमाडौं।कान्तिपुर मिडिया ग्रुपले अजय सुमार्गीले लगाएको आरोप कपोकल्पित र भ्रामक भन्दै कालोधनलार्इ बैधता दिन खोजेको आरोप लगाएको छ।

Tata
GBIME
Nepal Life

समूहले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै तीनकुनेमा रहेको जग्गा चार वर्षअघि आफूहरुलार्इ आवश्यक नभएर बिक्री गरेको बताउँदै जग्गा बिक्रीपछि कारोबार समेत अन्त्य भइसकेको जिकिर गरेको छ।सुमार्गीले सोमबार मुक्ति टावरमा पत्रकार सम्मेलन गर्दै कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहियाले तिनकुनेमा रहेको जग्गा फिर्ता नगरेको भन्दै आफूलार्इ संचारमाध्यममार्फत ब्ल्याकमेलिङ गरेको आरोप लगाएका थिए।

'जहाँसम्म उनले कैलाश सिरोहिया र रामेश्वर थापासमेतको नाममा रहेको काठमाडौं, तीनकुनेको जग्गा किनेको सन्दर्भ छ, त्यसबारे पनि हामी प्रस्ट्याउन चाहन्छौं । उक्त जग्गा आफूलाई आवश्यक नरहेको परिप्रेक्ष्यमा हामीले बिक्री गर्ने निर्णय लिएपछि एउटा वाणिज्य बैंकका सीईओको सहजीकरणमा खोजिएका खरिदकर्ता (सुमार्गी) लाई त्यो बेचिएको थियो, समूहद्धारा जारी विज्ञप्तिमा भनिएको छ, सुमार्गीसँग उक्त जग्गाको कारोबार त्यसै बेला अन्त्य भइसकेको सन्दर्भमा, झन्डै चार वर्षपछि अहिले आएर अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक छैन । निज सुमार्गीसँग त्यो जग्गाको एउटा कारोबारबाहेक कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको कहिल्यै कुनै आर्थिक कारोबार भएको/गरिएको छैन।भूकम्पले भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीं–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन।' 
 

सुमार्गीको अर्बौं रकमलाई ‘अवैध’ ठहर गरेको र त्यसको स्रोत शंकास्पद रहेको अध्ययन प्रतिवेदन बुझाइसकेको  अवस्थामा कारवाही नहुनु कानुनी राजको ठाडो उल्लंघन भएको जनाउँदै समूहले उनीमाथि कारबाही अगाडि नबढाउन सम्पत्ति शुद्धीकरण विभागमाथि राजनीतिक शक्तिविशेषको तीव्र दबाब रहेको आरोप समेत लगाएको छ।

सुमार्गीले सोमबार पत्रकार सम्मेलन गर्दै कठिन परिस्थितीमा सिरोहियाको जग्गा किनेको तर अहिले पूरानै मूल्यमा जग्गा माग्दा नदिएपछि बदनाम गर्न श्रृंखलाबद्ध रुपमा समाचार सम्प्रेषण गरिएको गम्भिर आरोप लगाएका थिए।
 

'म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो । राज्यको प्रचलित कानुनबमोजिम नै थियो । दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो, उनले भनेका थिए, मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ । अहिले  सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ।'

सुमार्गीले कुनैपनि ठूलो व्यवसाय गर्दा कान्तिपुरका प्रकाशकलार्इ गोल्डेन शेयर दिनुपर्ने अवस्था रहेको आरोप समेत लगाएका थिए।'नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन शेयर । यो त्यस्तो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्दछ, उनले भनेका थिए, निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे । निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरू अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ।'