कसरी सफल भए गोविन्द घिमिरे नक्कली शेयर कारोबार गर्न?, गोबिन्दको विश्वासमा डुबे ब्रोकर

बिजमाण्डू
२०७४ माघ ३ गते १०:२६ | Jan 17, 2018
कसरी सफल भए गोविन्द घिमिरे नक्कली शेयर कारोबार गर्न?, गोबिन्दको विश्वासमा डुबे ब्रोकर


काठमाडौं। नवराज बस्नेत आफुले बेचेको शेयरको पैसा लिन शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिज पुग्छन्। उनले सानिमामाइ हाइड्रोपावर कम्पनीको ७ सय कित्ता शेयर बिक्री गरेका थिए। 
 
पैसा लिन सेक्युरिटिज पुगेका नवराज बस्नेत अचानक प्रहरीको फन्दामा पर्छन्। किन पक्राउ परेको भन्ने कारण उनलाई थाहा हुँदैन। 
प्रहरीले सोधखोज गर्ने क्रममा नवराजको वास्तविक नाम शिव तिमल्सिना भएको खुल्छ। 
 
अर्कोतिर शेयर किन्ने रुक्मिणी बस्नेत हुन्छिन्। 


 
प्रहरीको अनुसन्धानमा दुबै नक्कली क्रेता/बिक्रेता रहेको खुल्छ। नक्कली कारोबार गराउने वास्तविक ब्यक्ति को हो? प्रहरीको अनुसन्धानले सिन्धुपाल्चोक स्थायी घर भएका गोविन्द घिमिरेको रणनीतिमा सबै दुई नम्बरी काम भएको खुल्छ।
 
जब नक्कली कारोबारको जालो च्यातिन्छ, त्यतिबेला घिमिरेको 'पोर्टफोलियो' ७० लाख रुपैयाँभन्दा बढिको पुगिसकेको थियो। नियमित कारोबार गर्दै आएका घिमिरेले खटाएका व्यक्तिलार्इ ब्रोकरले शंका गर्ने कुनै ठाउँ थिएन। उनीप्रति ब्रोकर विश्वस्त भएकै कारण उनले ल्याएको शेयर प्रमाणपत्रका आधारमा कारोबार सहज रुपमा भइरहेको थियो। 
 
कसरी परे फन्दामा
गोविन्द घिमिरेले २०७१ साल फागुनबाट नक्कली शेयर करोबार गरिरहेका थिए। उनले अग्रवाल सेक्युरिटिजबाट चिलिमे हाइड्रोपावर कम्पनीको १३ हजार ५ सय कित्ता र श्रीहरि सेक्युरिटिजबाट नेशनल हाइड्रोपावर कम्पनीको नक्कली शेययर प्रमाणपत्रका आधारमा कारोबार गरेका थिए। 
 
ब्रोकर कम्पनीको राम्रो विश्वास जितेका गोविन्दले शेयर ऋण लिन ब्ल्याङक ट्रान्सफर (बिटी) गर्दै कारोबार गरिरहेका थिए। यसो गर्दा शेयर प्रमाणपत्र पाएपछि ब्रोकरले मार्जिन ऋणको लागि सिफारिस गरिदिन्छ। यसमा ब्रोकर कम्पनीले शेयर प्रमाणपत्रको रुजु (भेरिफाइ) गर्दैनन्। 
 
भेरिफाइ नहुने अबस्थाको फाइदा उठाउँदै उनले बैंकबाट मार्जिन ऋण लिन्छन्। बैंकले पनि ब्रोकरले पठाएको कागजात भएकाले त्यतिधेरै सोधिखोजी गर्दैनन्। यसरी उनले सिद्धार्थ डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्सबाट एक करोड रुपैयाँभन्दा बढिको मार्जिन ऋण लिन पनि लिएका थिए। 
 
मार्जिन ऋणका लागि आवेदन बारम्बार आउन थालेपछि बैंकलाई शंका लाग्न थाल्छ। उसले शेयर प्रमाणपत्र भेरिफाइ गर्न सुरु गर्छ। ऋण सिफारिस गरेका दुबै ब्रोकरलार्इ बैंकले गोविन्द घिमिरेको कागजातप्रति शंका लागेको जानकारी गराउँछ। गोविन्द घिमिरेले प्रयोग गरेको नागरिकतामा केहि केरमेट पनि भएको भेटिन्छ। 
 
त्यसपछि दुबै ब्रोकरले प्रमाणपत्र भेरिफाइ गर्दा शेयर प्रमाणपत्र नक्कली भएको भेट्टाउँछन्। बैंक र ब्रोकरले घिमिरेको वद्माशी फेला पार्दासम्म ढिलाइ भइसकेको हुन्छ। उनी फरार भइसक्छन्। 
 
बैंकले घिमिरेले लिएको मार्जिन ऋण भूक्तानीका लागि ताकेता गरेपछि ब्रोकरहरु तिर्न बाध्य हुन्छन्। अहिले ब्रोकरसँग गोविन्द घिमिरेको ४० लाख रुपैयाँ बराबरको सक्कली शेयर प्रमाणपत्र छ।
 
नियामकको सक्रियता
पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरिद बिक्री गरेको प्रमाण भेटिएको भन्दै अग्रवाल सेक्युरिटिजलार्इ १० लाख रुपैयाँ जरिवाना गरेको छ।  त्यस्तै नेशनल हाइड्रोपावरको नक्कली शेयर कारोबार गरेको भन्दै श्रीहरि सेक्युरिटिजलाई पनि दश लाख रुपैयाँ जरिवाना गरेको छ।
 
यसैगरी ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेको भन्दै बोर्डले धितोपत्र दलाल कम्पनी श्रीहरि सेक्युरिटिज र अग्रवाल सेक्यूरिटिजलाई ५० हजार रुपैयाँको थप जरिवाना गरेको छ। धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्ने हुन्छ। उनीहरुले विश्वासका आधारमा कारोबार भएकाले घिमिरेको कागजात राम्रोसँग राखेका थिएनन्। 
 
जानीजानी वा बदनियतपूर्ण नक्कली कारोबार गर्न झुट्टा विवरण वा कागजात बनाएको भन्दै बोर्डले अग्रवाल सेक्युरिटिजका कार्यकारी प्रमुखलार्इ पचास हजार रुपैयाँ जरिवानासमेत गरेको छ। सिप्रबीमा पनि कारोबार भएको हुँदा बोर्डले ५० हजार रुपैयाँ जरिवान गरेको छ। यसका प्रमुख कार्यकारी अधिकृतले समयमा सूचना दिएर थप कारोबार हुन नदिएको भन्दै उनलार्इ भने ब्यक्तिगत रुपमा कारवाही गरेको छैन। 
 
कारवाहीमा पर्नेमा अग्रवाल सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत भुवनेश्वर यादव र श्रीहरी सेक्युरिटिजका तत्कालिन प्रमुख कार्यकारी अधिकृत *सन्दिप जालान रहेका छन्। उनी त्यसपछि नासा सेक्युरिटिजमा पुगेका थिए। त्यहाँबाट पनि राजिनामा गरेर बाहिरी सकेका छन्।
 
कारोबार गर्न आयो भन्दैमा आवश्यक कागजातको चेक जाँच नगरी कारोबार गरेको भन्दै बोर्डले उनीहरुलार्इ कारबाही गरेको बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए।(* सन्दिप जलान हुनुपर्नेमा भूलवस अन्यथा हुन गएकोमा क्षमापार्थी छौं)

Tata
GBIME
Nepal Life