दुई वर्षभित्रै भारतकै नम्बर एक हुने लक्ष्यमा वाइवाइ बिस्तार,न्युयोर्क स्टक छुने लक्ष्य

बिजमाण्डू
२०७४ माघ १५ गते १४:४३ | Jan 29, 2018
दुई वर्षभित्रै भारतकै नम्बर एक हुने लक्ष्यमा वाइवाइ बिस्तार,न्युयोर्क स्टक छुने लक्ष्य
विहार (पूर्णिया)। विराटनगरबाट दक्षिण पश्चिम हुँदै ९८ किलोमिटर यात्रा गरेपछि विहारको पूर्णिया जिल्ला पुगिन्छ। विराटनगरबाट साढे पाँच किलोमिटर धुलाम्मे बाटो हुँइकेपछि चर्चित नाका जोगबनी छिचोल्दै गर्दा ८ लेनको एक्सप्रेस हाइवे सुरु हुन्छ। 


 
अगाडि बढ्दै जाँदा पूर्णियाको मराङ औद्योगिक क्षेत्र नजिकै पर्ने शाखा बाटोको साइन बोर्डमा लेखिएको छ- सिजी फूड्स मे आपका स्वागत हे।
 
राजमार्गबाट शाखा बाटो हुँदै दुर्इ सय मिटर छिरेपछि सिजी फुड्सको भव्य भवन देखिन्छ। सवा दुर्इ घण्टाको यात्रापछि पुगिने उद्योगभित्र स्वागतका लागि उपल्ला तहका कर्मचारी तम्तयार थिए। 
 
‘तपार्इहरुलार्इ भारतको नयाँ उद्योगमा स्वागत छ,’ पूर्णिया प्लान्टका अपरेशन जिएम दिव्यराज घिमिरेले भने। घिमिरे चौधरी समूहको पहिलो प्लान्ट सिक्किममा लगाउँदादेखि नै नेपालबाट गएका कर्मचारी हुन्। उनले २०१५ मा पूर्णिया प्लान्ट सञ्चालनमा आएदेखि नै त्यहाँको जिम्मेवारी पाएका हुन्।
 
चाउचाउ उत्पादन कक्षमा पुग्नुअघि उनै घिमिरेले सचेत गराउँदै भने- हामी पूर्ण हाइजेनिक उत्पादनमा विश्वास गर्छौ, त्यसैले ‘हेयर सेफ्टी क्याप’ लगाउनुहोला। 
 
अस्पतालमा जस्तै टाउकोमा हरियो जाली टोपी लगाएर उत्पादन कक्षभित्र हाम्रो टोली छिर्‍यो। उत्पादनको सुरुवाती चरणको मैदा मुछ्ने ठाउँमा पुर्‍याउँदै गर्दा घिमिरेले चाउचाउ बारे जानकारी पनि बाँड्न थाले। 
 
चाउचाउ उत्पादन गर्दा कतैपनि हातको प्रयोग हुँदैन। मैदा मुछ्नेदेखि चाउचाउ प्याकिङ गर्ने सबै काम मेशिनले नै गर्छ। आधुनिक प्रविधिको समुचित प्रयोग गर्दै बिहारको करखानामा उत्पादन भइरहेको छ- नेपाली ब्राण्ड 'वाइवाइ'। 
 
१६ हजार १ सय ८७ वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो उद्योगभित्र दैनिक तीन सिफ्टमा काम भइरहेको छ। दैनिक पाँच सय कर्मचारी वाइवाइ उत्पादनमा खटिएका छन्। 
 
उद्योगमा 'ह्वाइट कलर जब' गर्ने सबै कर्मचारी नेपाली छन् तर 'ब्लू कलर जब' गर्ने पूर्णियाका स्थानीय छन्। 
 
डलर अर्बपती विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहको भारतमा ९ वटा वाइवाइका प्लान्ट छन्। वाइवाइ युरोपमा पनि फैलिन थालेको छ। युरोपको सर्वियामा प्लान्ट खुलिसकेको छ। ती सबै प्लान्टको उपल्लो तहमा नेपाली कर्मचारी छन्। ब्लू कलर जब पूर्णियामा जस्तै स्थानीयले जागिर पाएका छन्। 
 
सिक्किमबाट वाइवाइ प्लान्ट सुरु भएपछि अहिले उत्तराखण्डको रुद्रपुरमा दुर्इ वटा प्लान्ट, छैंगाउँमा दुर्इ वटा, सिल्चरमा दुर्इ वटा, विहारको पूर्णिया र आन्द्र प्रदेशमा एउटा प्लान्ट सञ्चालनमा छन्। ती सबै प्लान्टको उपल्लो तहमा नेपाली कर्मचारी छन्। 
 
‘हामीले विश्वभरी नेपालसँगै नेपालीको दक्षतालार्इ समेत स्थापित गराएका छौं,’ अध्यक्ष विनोद चौधरीले भने, 'यसले पनि हामी सक्षम छौं भन्ने प्रमाणित गरेको छ।‘ उनका अनुसार, वाइवाइलाई मात्र होइन, नेपाली दक्षतालाई पनि 'ग्लोबल' बन्न सहयोग पुर्‍याइरहेको छ। 


 
भारतमा ३० प्रतिशत बजार
भारतमा सबैभन्दा धेरै बिक्ने चाउचाउ हो- म्यागी। नेपालको वाइवाइले भारतमा म्यागीसँग प्रतिस्पर्धा गरिरहेको छ। अहिले म्यागीको बजार ४५ प्रतिशत छ भने वाइवाइको ३० प्रतिशतको हाराहारीमा छ। चोधरीको अहिलेको लक्ष्य हो- भारतमा म्यागीलाई उछिन्ने गरि उत्पादन बढाउन प्लान्ट बिस्तार गर्ने। त्यही भएर वाइवाइले भारतका विभिन्न ठाउँमा नयाँ नयाँ प्लान्ट लगाइरहेको छ।
 
‘हाम्रा केही एड्भान्टेज छन्, जसका कारण भारतका धेरै स्थानमा हाम्रो प्लान्ट स्थापना भइसकेका छन्। केही स्थानमा निर्माण भइरहेका छन्,‘ उनले भने, 'हाम्रो पेनिट्रेशन बढ्दो क्रममा छ।‘ 
 
चौधरी समूहले राजस्थानको अजमेरमा वाइवाइ प्लान्टको शिलन्यास गरिसकेको छ। वाइवाइका ग्लोबल सिइओ जीपी शाहले भारतमा नुडल्सको बजार बढ्दो क्रममा रहेको र केही समयभित्रै म्यागीको लेभलमा पुग्ने दावी गरे। ‘हामी एक/दुर्इ वर्षभित्र नै भारतको पहिलो चाउचाउ कम्पनी बन्नेछौ’ उनले भने, 'हाम्रो प्लान्ट नेटवर्कले पनि यसलाई सघाउ पुर्‍याउनेछ।'


 
भारत बाहिर पनि एग्रेसिभ
वाइवाइ भारतमा मात्रै होइन विश्व बजारमै साम्राज्य खडा गर्न खोज्दैछ। बंगलादेशमा वाइवाइको प्लान्ट अप्रिलबाट सुरु हुँदैछ। समूहले इजिप्टमा उद्योग लगाउन सबै तयारी थालिसकेको छ भने किर्गिस्तानमा समेत प्लान्टका लागि छलफल अघि बढिरहेको चौधरीले बताए। 
 
उनका अनुसार, मेक्सिकोमा प्लान्ट लगाउन जग्गाको खोजी भइरहेको छ। ‘हामीले अमेरिकामा होइन मेक्सिकोमा प्लान्ट लगाउने निष्कर्षमा पुग्यौ। मेक्सिकोमा प्लान्ट लगाउँदा अमेरिका, यूरोप लगायतका देशमा पनि निकासी गर्न सकिन्छ भन्ने लाग्यो’ उनले भने। चौधरीका अनुसार केन्यामा समेत वाइवाइको प्लान्ट लगाउन छलफल सुरु भएको छ।


 
नेपाली ब्राण्ड एम्बेस्डर
भारतलगायतका विश्वभरी वाइवाइको प्लान्ट लगाउने ‘मोरल’ सहयोग नेपालीबाट पाएको चौधरीले बताए। २०४६ सालपछि आएको परिवर्तनसँगै विश्वभरी नेपाली अध्ययन र कामका लागि जाने क्रम सुरु भयो। यो सुरुवातसँगै वार्इवार्इको समेत विश्वबजार जाने बाटो खुल्यो।
 
‘विदेश जाने हरेक नेपालीले वाइवाइ चाउचाउ लैजान थाले। नेपालबाट पठाउने गिफ्टमा पहिलो नम्बरमा वाइवाइ नै थियो। खाडी, अमेरिका र यूरोपमा नेपालीले वाइवाइ लिएर गए जसले बजारीकरण गर्न सजिलो भयो,’ उनले भने।


 
न्यूयोर्क स्टक एक्सचेञ्जको लक्ष्य
विनोद चौधरीले वाइवाइ कसरी ग्लोबल ब्राण्ड बन्दै छ भनेर आत्मकथामा पनि लेखेका छन्। चौधरी भन्छन्- रोजगार निम्ति विदेश जाँदा पनि नेपालीले वाइवाइसँग नाता तोड्न सकेका छैनन्। अनि सोच्छु, अरु कति देशका कति विमानस्थलमा नेपालीहरु वाइवाइसँग नाता गाँस्दै विदेशी भूमिमा ओर्लिरहेका होलान्। वाइवाइका कार्टुन ओसार्दै होलान्। विदामा घर फिरेका साथीसँग वाइवाइकै फरमाइस गरिरहेका होलान्। साथीले कोसेली ल्याइदिएको वाइवाइ छिट्टै निख्रिएला भनेर पुर्याइ पुर्‍याइ खाँदै होलान्।
 
कम्तिमा वाइवाइसँगै हुर्किएका पुस्ता जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ वाइवाइ नपुर्याइ म यो यात्रा  बिसाउँदिन। 
 
यी सम्पूर्ण कुराको धरातलमा उभिएर म के विश्वासका साथ भन्नसक्छु भने, सिजी फुड्स (ग्लोबल) कुनै दिन भारतको स्टक एक्सचेञ्ज हुँदै सिंगापुर र न्युयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत हुनेछ।

Tata
GBIME
Nepal Life