तपार्इँले कस्तो तेल खानुहुन्छ? तेल राम्रो नभए रोगको भूमरीमा पर्नुहोला

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ माघ १९ गते ०९:४० | Feb 2, 2018
तपार्इँले कस्तो तेल खानुहुन्छ? तेल राम्रो नभए रोगको भूमरीमा पर्नुहोला
काठमाडौं।तपार्इले खानेकुरामा प्रयोग गर्नुभएको तेल कस्तो छ? अखाद्य तेलका कारण धेरै रोगको भूमरीमा पर्ने सम्भावना रहन्छ।त्यसैले तेल प्रयोग गर्नुअघि सचेत हुन आवश्यक छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार राम्रोसँग प्रशोधन गरिएको तेल प्रयोग गर्नुपर्छ।भटमास,तोरी,मकै र सूर्यमुखी तेल आलोपालो गर्नु स्वास्थ्यका लागि लाभदायक हुने उनले बताए।
 
उनले भने, 'भटमासमा पाइने फ्याटी एसिडका कारण पोषणको हिसाबले भटमासको तेल राम्रो हुन्छ। भटमासको तेल धेरै समयसम्म राख्दा नराम्रो गन्ध आउने भएकोले धेरै उपभोक्ताले मकै र सूर्यमुखी उपभोग गर्छन्।'

Tata
GBIME
Nepal Life


 

तेल प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा
तेल खरीद गर्नुअघि त्यसको उत्पादनका बारेमा ध्यान दिनुपर्छ।बजारमा नाम नसुनेका ब्राण्ड सस्तोमा पाएमा उपयोग गर्नु हुँदैन।
 
‘तेलको प्याकेट खोलेपछि नराम्रो गन्ध आएमा त्यो उपभोग गर्नुहुँदैन।सस्तो पायो भन्दैमा ब्राण्डनै नचिनेका तेल भरसक प्रयोगमा ल्याउनु ठीक हुँदैन, वस्तीले बिजमाण्डूसँग भने, तेलको प्याकेट खोलेपछि पारदर्शी भाँडोमा राख्दा र तेल जति रंगहीन भयो त्यतिनै राम्रो मानिन्छ।‘उनका अनुसार तोरीको तेलमा अत्याधिक गन्ध आएमा सर्तक रहनुपर्छ। 
 
मुटु रोग विशेषज्ञ डा. रविकुमार बरालका अनुसार एकपटक खानेकुरा फ्राइ गरिसकेको तेल फेरी प्रयोगमा ल्याउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ। सर्वसाधारणले एकपटक फ्राइका लागि प्रयोग गरिएको तेललार्इ धेरै पटक प्रयोगमा ल्याउने गरिएको पाइएको छ। पटक/ पटक प्रयोगमा ल्याइएको तेलले स्वास्थ्यमा गम्भिर असर गरिरहेको हुन्छ।
 
‘न्यून गूणस्तरयुक्त तेल प्रयोगले रक्त संचार हुने साना तथा मझौंला नसालाई विगार्छ। मुटु मृगौला हातखुट्टा मस्तिष्क लगायतका मुख्य धमनीमा नकारात्मक असर पार्छ। न्यून गूणस्तर तेलले शरीरका नसामा बोसो जमाइदिन्छ,उनले भने, रगतनलीहरुमा बोसो जमेपछि रक्तसंचार बन्द हुन्छ। कोलेस्ट्रोल बढेसँगै ब्रेन स्ट्रोक, हर्टअट्याक, हात खुट्टा मर्ने, किड्नी फेल लगायतका जोखिम हुन्छ।‘
 
स्याचुरेटेड फ्याटी एसिड नामक केमिकल नभएको तेल प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुनेछ।     
 
‘कुनै खाद्य वस्तु तारेपछि त्यो तेललार्इ फेरी प्रयोगमा ल्याउने गरिन्छ।यस्तो तेलले स्वास्थ्यमा असर पर्छ’उनले भने,त्यस्तै घिउ र बोसोमा खानेकुरा पकाउनु पनि राम्रो होइन।‘बरालका अनुसार ‘पाम आयल’ स्याचुरेटेड फ्याटी एसिड (सामान्य तापक्रममा ठोस हुने) बढी हुने भएकोले स्वास्थ्यका लागि राम्रो मानिदैन।‘मिसावट नभएका कुनैपनि रिफाइन तेलले स्वास्थ्यलार्इ खराब गर्दैन्’उनले भने,तेलमा पोली अनस्याचुरेटेड (सामान्य तापक्रममा तरल हुने) फ्याटी एसिड मात्रा धेरै भएको तेल राम्रो मानिन्छ।

‘उनले बजारमा पाइने ‘पाम आयल’ तेल स्वास्थ्यवर्द्धक नहुने बताउँदै खानेकुरा तार्नका लागि ‘पाम आयल’ तेल बढी प्रयोग भइरहेको बताए।बरालका अनुसार वनस्पति घिउमा ट्रानस्फ्याटी एसिड पाइने भएकोले स्वास्थ्यलार्इ हानी गर्छ।उनले तेल लामो समय सम्म राख्दा अक्सिडेटेड हुने र गन्ध आउने लगायतका समस्या आउने बताए।
 

सर्वसाधारणले प्रयोग गर्ने माछाको तेल लाभदायक छ। माछाको तेलमा एचडिएल( हाइ डेनसिटी लिक्विड प्रोटीन) पाइन्छ। यो एक किसीमको बोसो नै हो जसले शरीरलाई फाइदा पुर्याउँछ र आवश्यक पनि छ। 
 
मिलमा उत्पादन हुने गरेका तेलमा स्याचुरेटेड फ्याटी एसिड कम हुने भएकोले कहिलेकाहिँ प्रयोगमा ल्याउन हुने उनी बताउँछन्। 
  

 
मकैको तेल (मेज आयल)
मकैको तेलमा रिफ्र्याक्टिभ इन्डेक्स १.४६५० देखि १. ४६८० सम्म हुनुपर्छ। यसको आयोडिन भ्यालु १ सय ३देखि १ सय २८ सम्म हुनुपर्छ। स्यापोनीफिकेशन भ्यालु भने १ सय ८७ देखि १ सय ९५ सम्म हुनुपर्छ। 
 
यसैगरि स्यापोनिफाई(तेलको बनोट, तेलमा भएका फ्याटी एसिड लगायतका तत्व) नहुने पदार्थ २० ग्राम प्रति किलो तेलमा नबढेको हुनुपर्छ। मकैको तेलमा एसिड भ्यालु ०.५ मिलीग्राम, पोटासियम हाइड्रोक्साइड प्रति ग्राम तेलमा नबढेको हुनुपर्छ। पेरोक्साइड (तेलमा समावेश भएको अक्सिजन) भ्यालु भने १० मिलि  इक्विभ्यलेन्ट पेरोक्साइड अक्सिजन प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ। 
 
सूर्यमुखी तेल
सूर्यमुखी तेल  फूलको पिनालाई सोल्भेन्ट एक्सट्राक्सन अथवा एक्सप्रेसन विधिबाट निकालिन्छ। सूर्यमुखी तेलमा रिफ्र्याक्टिभ इन्डेक्स १.४६६० देखि १.४६९० हुनुपर्ने विभागले जनाएको छ। विभागका अनुसार सूर्यमुखी तेलमा आयोडिन  १ सय १० देखि १ सय ४३ सम्म हुनुपर्छ भने स्यापोनीफिकेशन भ्यालु १ सय ८८ देखि १ सय ९४ हुनुपर्छ। यसमा स्यापोनिफाइ नहुने पदार्थ भने १५ ग्राम प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ।
 
सूर्यमुखी तेलको एसिड भ्यालु ४ मिलीग्राम पोटासियम हाइड्रोक्साइड प्रति ग्राम तेलमा नबढेको हुनुपर्छ ।पेरोक्साइड भ्यालु १० मिली इक्विभ्यालेन्ट पेरोक्साइड अक्सिजन प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्ने विभागले जनाएको छ। 
 
भटमासको तेल
भटमासमा रहेको खोटोको अधिकतम मात्रा जल संयोजन (हाइड्रेसन) र यान्त्रिक (मेकानिकल) र भौतिक प्रणालिद्वारा राम्ररी झिकेको हुनुपर्छ। भटमासको तेलमा रिफ्र्याक्टिभ इन्डेक्स १.४६५० देखि १.४७१० सम्म हुनुपर्छ। स्यापोनीफिकेशन भ्यालु भने १ सय ८९ देखि १ सय ९५ हुनुपर्छ। 
 
भटमासको तेलमा आयोडिन भ्यालु १ सय २० देखि १ सय ४० सम्म हुनुपर्छ।एसिड भ्यालु भने एक ग्राम तेलमा २.५ मिलिग्राम पोटासियम हाइड्रोक्साइड नबढेको हुनुपर्छ।
 
तेलमा पेरोक्साइड भ्यालु १० मिलि इक्विभ्यालेन्ट अक्सिजन प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ। स्यापोनिफाई नहुने पदार्थ  १५ ग्राम प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ भने फोस्फोरसको मात्रा ०.०२ प्रतिशत नबढेको हुनुपर्छ। 


 

तोरीको तेल
तोरीको तेल ब्रासिका जातका तोरी, सर्स्यू, रायो वा सलगम उपजातिबाट उत्पादन हुने गर्छ। यो तेलमा रिफ्र्याक्टिभ इण्डेक्स( ४० डिग्री सेन्टीगरेटमा)  १.४६४६ देखि १.४६६२ सम्म हुनुपर्छ। स्यापोनीफिकेशन भ्यालु भने १ सय ६८ देखि १ सय ७७ सम्म हुनुपर्छ। तेलमा आयोडिन भ्यालु ९६ देखि १ सय १२ सम्म हुनुपर्छ। स्यापोनिफाई नहुने पदार्थ भने १२ ग्राम प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ। एसिड भ्यालु भने ६.० मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रति ग्राम तेलमा नबढेको हुनुपर्छ। 
 
तोरीको तेलमा पेरोक्साइड भ्यालु १०.० मिलि इक्विभ्यालेन्ट सहित प्रति किलोग्राम तेलमा अक्सिजन नबढेको हुनुपर्छ। बेलियर टेस्ट २७.५ सेन्टिग्रेड ननाघेको हुनुपर्छ भने हेक्साब्रोमाइड टेष्ट दुई घण्टाको अवधिमा नेगेटिभ हुनुपर्छ। 
 
आयात गरिएको रेपसिड आयल
रेपसिड आयल ब्रासिका जातिका रायो, तोरी लगायतका ब्रासिका क्यामपेस्ट्रीस, बि.जन्सियो अथवा बि. नेप्स लगायतका उपजातिको सग्लो तथा इरुसिक एसिड तत्व घटाइएको तेल हनबाट निकालिएको हुन्छ। आयात गरिएको रेपसिड आयलमा रिफ्र्याक्टीभ इण्डेक्स ( ४० डिग्री सेन्टीगरेटमा) १.४६५ देखि १.४६९सम्म हुनुपर्छ। आयोडिन भ्यालु भने ९४ देखि १ सय २६ सम्म हुनुपर्छ।

रेपिसिड आयलमा स्यापोनीफिकेशन भ्यालु १ सय ६८ देखि १ सय ९३ सम्म हुनुपर्छ। स्यापोनिफाइ नहुने पदार्थ भने २० ग्राम प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ। एसिड भ्यालु ०.५ मिलीग्राम पोटासियम हाइड्रोक्साइड प्रति ग्राम तेलमा नबढेको हुनुपर्छ। परोक्साइड भ्यालु भने १ सय मिली इक्विभ्यालेन्ट पेरोक्साइड अक्सिजन प्रति किलोग्राम तेलमा नबढेको हुनुपर्छ।