सान्जेन र रसुवागढीको साधरण शेयर फागुन ११ गते देखि, सिआस्वाबाट मात्र आवेदन दिन पाइने

बिजमाण्डू
२०७४ माघ २० गते ०७:०० | Feb 3, 2018
काठमाडौं। साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाको एकै पटक फागुन ११ गते देखि पहिलो चरणको आइपिओ निष्काशन हुने भएको छ।
 
चिलिमे हाइड्रोपावरको सहायक प्रोजेक्ट सान्जेन र रसुवागढीले माघ महिना भित्रै पहिलो चरणको आइपिओ निष्काशन गर्ने योजना बनाएका थिए। तर धितोपत्र बोर्डले प्राथमिक शेयर हकप्रद तथा एफपिओ निष्काशनको लागि अनिवार्य रुपमा आस्वा प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएपछि दुबै कम्पनीले मिति सारेका हुन्। 
 
कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको अनुमतिको आधारमा साञ्जेनले यही माघ २४ गते भन्दा अगाडी निष्काशन गरिसक्नु पर्ने थियो।रसुवागढीले पनि यही महिना भित्रमा निष्काशन गरिसक्ने योजना बनाएको थियो। दुबै आयोजनाले माघ २८ गते आह्वान पत्र निष्काशन गर्ने चिलिमे हाइड्रोपावर कम्पनीका प्रवक्ता तुलसीराम ढकालले जानकारी दिए। 
 
दुबै आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी संचयकोषका कर्मचारी तथा संचयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावरका कर्मचारीलार्इ लक्षित गरेर शेयर निष्काशन गर्नेछ।
 
शेयर आवेदनका लागि डिम्याट खाता अनिवार्य गरिएको छ। धितोपत्र बोर्डले सिआस्वा अनिवार्य गरेको छ। साञ्जेन हाइड्रोपावर कम्पनीले ८७ करोड ६० लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ। त्यस्तै रसुवागढीले एक अर्ब ६४ करोड रुपैयाँको आइपिओ निष्काशन गर्नेछ। दुबै प्रोजेक्टले जम्मा शेयर पूँजीको २४ प्रतिशत निष्काशन गर्न लागेका हुन्।  
 

Tata
GBIME
Nepal Life