नेपाल टेलिकम १४ वर्ष पूरा, ग्राहकलाई अनलिमिटेड भ्वाइस प्याकेजदेखि रिचार्जमा बोनस अफर

बिजमाण्डू
२०७४ माघ २२ गते १६:२६ | Feb 5, 2018

काठमाडौं। नेपाल टेलिकमले आफ्नो सेवाको १४ वर्ष पूरा गरेको छ। यसै अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि बिभिन्न अफरहरु दिएको छ।

Tata
GBIME
Nepal Life

टेलिकमले भोलिदेखि फागुन ८ गतेसम्म ३५ रुपैयाँमा राति दश बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड भ्वाइस प्याकेज सुविधा दिने भएको छ।
ग्राहकले २४ घण्टाको लागि ५० रुपैयाँमा अल टाइम डाटा प्याकेजको सुविधा लिन सक्छन् भने १५ रुपैयाँमा राति १० बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड नाइट डाटा प्याकेजको सुविधा पनि लिन सक्छन्।

भोलिदेखि माघ २९ गतेसम्मकालागि ५०, १०० र २०० को रिचार्ज खरिदमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् भने ५०० र १०००को रिचार्ज खरिदमा १५ प्रतिशत बोनस प्राप्त गर्न सक्छन्। पीएसटीएन सेवाग्रहीले फागुन महिनामा २५ कल बराबरको छुट पाउनेबारे कम्पनीले जनाएको छ।

यसैगरी माघ २५ गतेदेखि एडिएसएल सेवाको स्पिड ५ एमबीपिएसमा स्तरोन्नति गर्ने जनाएको छ। माघ २५ गतेदेखि तीन महीनाको लागि ‘क्रस विलिङ’ अन्तर्गत  एडिएसएल सेवामा रिचार्ज गर्दा जिएसएम र सिडीएमएमा डाटा बोनस उपलब्ध गर्ने भएको छ।

कम्पनीका अनुसार माघ २५ देखि आगामी बैशाख २५ गतेसम्म भारतमा कल गर्दा प्रतिमिनेट २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रति मिनेटसम्मको प्याकेज पाउन सक्छन्।    

कम्पनीले हाल ७७ जिल्ला लगायत सातैवटा प्रदेशमा तारसहित र ताररहित सेवा दिँदै आएको छ।  कम्पनीका अनुसार गत साल भ्वाइस सेवामा १ करोड ८५ लाख ५८ हजार  प्रयोगकर्ता रहेका छन् भने टेलिघनत्व ६४.६३ प्रतिशत पुगेको छ। नेपाल टेलिकमको डाटा प्रयोगकर्ता ८९ लाख ३५ हजार प्रयोगकर्ता पुगेका छन् भने डाटा घनत्व ३१.१२ प्रतिशत पुगेको कम्पनीले बताएको छ।

स्थापनाकालमा ४ लाख २२ हजार ग्राहक रहेको नेपाल टलिकमको  हाल १ करोड ८५ लाख ग्राहक रहेको बारे प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन्। नेपाल टेलिकमले डाटा सेवा विस्तारका लागि भ्वाइस प्याकेज, म्युजिक स्ट्रिमिङ लगायतका सेवा विस्तार भएको राजभण्डारीले जानकारी दिइन्। उनका अनुसार जिएसएम प्रयोगकर्ताले फागुनको दोस्रो सातादेखि भ्वाइस मेल सर्भिस लिन सक्नेछन्।

कम्पनीको आधिकारीक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३४ स्थानमा ५० हजार लाइन र २६ हजार लाइन एडिएसएल क्षमता बृद्धि भएको छ।

कम्पनीले माघ ४ गतेदेखि एकिकृत बिलिङ सिस्टम संचालनमा ल्याएको बताउँदै प्रवन्ध निर्देशक राजभण्डारीले भनिन् 'कम्पनीले दिँदै आएको सिडीएमए, जिएसएम, वाइम्याक्स, एडीएसएल  लगायतका सबै सेवाग्राहीको बिलिङ सेवा सहज र एकिकृत रुपले उपलब्ध हुनेछ।'

उनका अनुसार मध्य पहाडी लोकमार्ग पूर्वी खण्ड प्रदेश १, २ र ३ मा पूर्वमा पाँचथरको चियो भञ्ज्याङबाट पश्चिमको धादिङ-गोरखाको आरुघाटसम्म नेपाल टेलिकमको अप्टिकल फाइबर विछ्याउन लागेको छ। यसमा लाग्ने लागत भने दूरसंचार विकासकोषबाट ब्यहोरिने उनले बताइन्।

टेलिकमले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा  लगायतका भुकम्प प्रभावित ४ क्षेत्रमा ५५ सर्भिस प्वाइन्टबाट विभिन्न नगरपालिका, विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा दिँदै आएको उनले बताइन्। उनले भनिन् 'भुकम्प प्रभावित क्षेत्रको बाँकी स्थानमा एक महिनाभित्र थप ५० प्रतिशत कार्य सम्पन्न गरिनेछ।'

कम्पनीको वित्तीय बिवरण बारे जानकारी दिँदै कुल आम्दानी आ.व २०७३/७४  मा ४४ अर्व ५९ करोड रुपैयाँ पुगेको उनले बताइन्। कम्पनीको नाफा १३.४२ प्रतिशतले वृद्धि  भई आ.व २०७३/७४ मा १५ अर्ब ३७ करोड पुग्नुका साथै प्रति शेयर आम्दानी वृद्धि भई आर्थिक वर्ष २०७३/७४ मा १०२  रुपैयाँ पुगेको पनि राजभण्डारीले जानकारी दिइन्। कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा सरकारलाई कुल २४  अर्ब ५४ करोड रुपैयाँ राजश्व तिरेको जनाएको छ।  

वार्षिकोत्सवका अवसरमा टेलिकमले  ९६  जना पूर्व कर्माचारीलाई सम्मान समेत गरेको थियो।