अवैध मोबाइल पक्रन प्राधिकरणले ल्यायो नयाँ ‘ट्रयाकिङ सिस्टम’, १ सेकेण्ड पल्सरेट लागू हुने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ माघ २३ गते ०९:३० | Feb 6, 2018
अवैध मोबाइल पक्रन प्राधिकरणले ल्यायो नयाँ ‘ट्रयाकिङ सिस्टम’, १ सेकेण्ड पल्सरेट लागू हुने
काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले आयात हुने अवैध ह्याण्डसेटहरुलाई ट्र्याकिङ गर्न इक्विपमेन्ट आइडेन्टी रजिष्ट्री इआइआर प्रणाली लागू गर्ने भएको छ।
 
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार इआइआर प्रणाली संचालनकालागि प्राधिकरणले नियमावलीको मस्यौदा समेत तयार पारिसकेको छ। 


 
उनले भने- ‘इआइआर प्रणालीको फाइनल रिपोर्ट आइसकेकोको छ। छिट्टै सरकार र सम्वन्धित निकायको समन्वयमा प्राधिकरणले इआइआर सेवा लागू गर्नेछ।’
 
प्राधिकरणले आइएमआइ म्यानुअल रजिष्ट्रेशन गर्ने गरेको जानकारी दिँदै अर्यालले म्यानुअल रजिष्ट्रेशन सिस्टमलाई वेव बेस अनलाइनमा परिमार्जन गर्ने योजना बनाएको समेत बताए। 
 
उनका अनुसार वेव बेस अनलाइन प्रणालीमार्फत अवैध, राजश्व छलेर ल्याइएका  तथा आपराधिक गतिविधीमा प्रयोग गरिएका मोबाइल ट्रेस गर्न सजिलो हुनेछ। 
 
प्राधिकरणले उक्त सिस्टम अन्तर्रगत ह्वाइट, ग्रे र ब्ल्याक लिस्ट बनाएको अर्यालले बताए।   
 
यसैगरी प्राधिकरणले पल्स रेटमा प्रति सेकेण्ड अनुसारको नयाँ मूल्य निर्धारण गर्न लागेको समेत प्रवक्ता अर्यालले जानकारी दिए।
 
६ महिना अघि प्राधिकरणले पहिलो चरण अन्तर्गत १० सेकेण्डको पल्स रेट निर्धारण गरिसकेको छ। 
 
‘समयको नाप माइक्रो सेकेण्ड, नानो सेकेण्डमा आइसकेकोले ग्राहकको फाइदाको लागि चरणवद्धरुपमा पहिला १० सेकेण्डबाट सुरु गरि अहिले १ सेकेण्डमा पल्सरेटको निर्धारण गर्ने योजना बनाएका हौं।’- अर्यालले भने। 
 
उनका अनुसार एक सेकेण्ड पल्सरेट निर्धारणको लागि सेवा प्रदायकले सफ्टवेयर राख्ने समय मागेका छन्। काम सकिने बित्तिकै एक सेकेण्ड पल्स रेट निर्धारण हुने उनले जानकारी दिए।
 
मोबाइलसँग जोडिएका आपराधिक गतिविधी नियन्त्रण गर्नका लागि मोवाइलमा हुने १५ अंकको आइएमइआइ (इन्टरनेशनल मोबाइल इक्विपमेन्ट) नम्बर गत वर्ष देखि नै प्राधिकरणले दर्ता गर्न सुरु गरेको थियो।   
 
प्राधिकरणले प्रति महिना ४ लाख २० हजार भन्दा बढी ह्याण्ड सेट दर्ता गर्दै आएको पनि अर्यालले जानकारी दिए।
 

Tata
GBIME
Nepal Life