पर्सामा ३ करोडको लागतमा रिसोर्ट बन्दै, जंगल सफारी सहितको रिसोर्ट बैशाखदेखि संचालन हुने

बिजमाण्डू
२०७४ माघ २६ गते १३:४८ | Feb 9, 2018
पर्सामा ३ करोडको लागतमा रिसोर्ट बन्दै, जंगल सफारी सहितको रिसोर्ट बैशाखदेखि संचालन हुने

वीरगंज। बाराको जीतपुर बजारबाट दुई किलोमिटर पश्चिम लागियो भने पर्साको विरुवा चोक आउँछ । विरुवाचोकबाट करिब १ किलोमिटर उत्तरमा छ, पर्सागढी–३ बिरुवागुठीको झबराहा टोल ।

Tata
GBIME
Nepal Life

पर्साको राष्ट्रिय वन क्षेत्रसंग टाँसिएको भबराहामा पर्साकै पहिलो रिसोर्टको काम धमाधम भइरहेको छ । मिस्त्रीहरुले विजुली,फर्निचर तथा फिनिसिङको काम गरिरहेका छन् ।

३ करोड रुपैयाँको लागतमा निर्मित ‘इन्दु वाइल्डलाइफ रिसोर्ट’आगामी नयाँ वर्ष देखि सञ्चालनमा आउँदै छ। बैशाख १ देखि रिसोर्टको उद्घाटन गर्ने तयारी रहेको रिसोर्टका निर्देशक वीरेन्द्रलाल नेपालीले बताए । २६ जना शेयरधनीले सामुहिक लगानी गरी यो रिसोर्ट निर्माण गरिरहेको नेपालीले जानकारी दिए।

डेढ वर्ष अघिदेखि रिसोर्टको निर्माण शुरु भएको हो। ‘रिसोर्ट निर्माण गर्ने सपना धेरै पहिले देखेका थियौं’- निर्देशक नेपालीले भने,‘पर्यटकीय विकासमा पर्साको लागि यो ठूलो फड्को हो ।’

रिसोर्टको निर्माण कार्य झण्डै ८५ प्रतिशत सम्पन्न भईसकेको बताइएको छ। एक बिघा क्षेत्रफलमा निर्माण भइरहेको रिसोर्टमा १४ वटा एयरकन्डिसनर तथा ६ वटा स्वीट रुम गरी जम्मा २० वटा कोठाहरु हुने उनले जानकारी दिए।  

सेमिनार हल, रेस्टुरेन्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन पार्क र स्नूकर हल पनि बन्ने रिसोर्टले जनाएको छ । रिसोर्ट पर्सा राष्ट्रिय निकुञ्ज नजिकै भएकाले पर्यटकहरुले प्राकृतिक दृश्य, वन्यजन्तु अवलोकन, राभौरी भाथा, हात्ती सफारी तथा जीपमा जंगल सफारीको पनि प्याकेज राखेको छ । बालबालिकाकालागि  चिल्ड्रेन पार्क तथा स्वीमिग पुल पनि निर्माण भैरहेको छ।

रिसोर्टमा आदीवासी समुदाय धागडको रिती संस्कृतिलाई संरक्षण गरी उनीहरुको नाचगान देखाएर मनोरञ्जन दिइने बताइएको छ ।  थारु भन्दा पुराना जातिको रुपमा मानिने धागड समुदाय भवराहामै मात्र करिब १ हजार घर छन् । धागड समुदायले पनि आफ्नो संस्कृतिको जगेर्ना गर्ने र आयआर्जन गर्ने अवसरका रुपमा उपयोग गर्न सक्ने रिसोर्टका संचालकहरुको भनाई छ।

रिसोर्ट सञ्चालनमा आएपछि ४० जनाले प्रत्यक्ष रोजगारी पाउने तथा झाबराहा आसपासको व्यापार चलायमान हुने बताइएको छ।