भारतको जिएसटीले कपडा आयात गिरावट, अवैध रुपमा कपडा आयात बढ्यो, नेपालले गर्दैछ कडार्इ

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ माघ २८ गते १०:१६ | Feb 11, 2018
भारतको जिएसटीले कपडा आयात गिरावट, अवैध रुपमा कपडा आयात बढ्यो, नेपालले गर्दैछ कडार्इ

विराटनगर । भारतले वस्तु तथा सेवा कर (जिएसटी) कार्यान्वयनमा ल्याएपछि कपडा आयातमा ह्रास आएको छ।

Tata
GBIME
Nepal Life

भारतबाट वैध रुपमा कपडा आयात घटेको विराटनगर भन्सारको तथ्यांकबाट समेत देखिन्छ।जिएसटीको कार्यान्वयन र भारतका निर्यातकर्ताले आयात–निर्यात सङ्केत नम्बर (आइइसी कोड) लिनैपर्ने अनिवार्य नियमले कपडाको आयात घटेको हो।‘भारतबाट विराटनगरमा कपडा निकासी गर्ने अधिकांश व्यापारी अझै असङ्गठित क्षेत्रका छन्’, व्यवसायी शङ्करलाल राठीले भने, ‘उनीहरूमध्ये धेरै जसोले आइइसी कोड लिएका छैनन् ।’

कपडाको  व्यापारमा संलग्न राठी भन्सारमा कपडाकै क्लियरिङ पनि गर्छन्।‘नेपालमा ५ हजारभन्दा बढी मूल्यको मालसामान भारतबाट पैठारी गर्दा भारतीय भन्सारले जारी गरेको बिल अफ एक्स्पोर्ट नेपालको भन्सारमा अनिवार्य रूपले पेश गर्नुपर्छ । आइइसी कोड लिएका भारतीय व्यापारिक फर्मले निकासी गरेको मालसामानको मात्र बिल अफ एक्स्पोर्ट भारतीय भन्सारमा बनाइन्छ । यही कारण उताकै व्यवसायी नेपालतर्फ कपडा निर्यात गर्न मान्दैनन् ।’उनले भने।

यसअघि भारतबाट आयात गरिने २५ हजार रुपैयाँ भन्दा बढीका मालवस्तुका हकमा मात्र नेपालतर्फका भन्सारमा बिल अफ एक्स्पोर्ट अनिवार्य थियो । गत भदौदेखि नेपालको भन्सार विभागले ५ हजारभन्दा बढीका मालवस्तुको पैठारीमा भारतीय भन्सारले जारी गरेको बिल अफ एक्स्पोर्ट पेश गर्नुपर्ने नियमलाई बाध्यकारी बनाएको हो ।

व्यवसायी राठीले भारतबाट आउने सर्टिङ, सुटिङ, कुर्तासुरुवाल, तत्रा, सारी, सुतीका थान कपडा लगायत सबै प्रकारका कपडाको पैठारी यही कारणले घटेको बताए ।‘कात्रोको कपडामा पनि १५ प्रतिशत भन्सार छ’, उनले भने, ‘जिएसटीका कारण अब भारतका निर्यातकर्ता न्यून विजकीकरण गर्न मान्दैनन् । त्यसैले नेपाल सरकारले भन्सार महसुलको दरलाई उल्लेखनीय ढङ्गले तल झार्नु आवश्यक छ ।’

विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको अद्र्धवार्षिक अवधिमा सुती कपडामात्र १४ करोड २७ लाख मूल्यको ३३ लाख ७० हजार मिटर पैठारी भएको थियो ।चालु आर्थिक वर्षको सोही अवधिमा ९ करोड १५ लाख मूल्यको २५ लाख ४० हजार मिटर सुती कपडा आयात गरिएको छ ।

अवैध आयात रोक्न सुरक्षाकर्मी सक्रिय
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले प्रशासनलाई कपडाको अवैध पैठारी भइरहेको जानकारी रहेको र सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई सक्रिय बनाइएको दाबी गरे ।

‘छ महिनामा राजस्व चुहावट समितिको औपचारिक बैठक ३ पटक भइसकेको छ र अनौपचारिक रूपमा धेरै छलफल भइरहेका छन्’, प्रजिअ आचार्यले भने, ‘कहाँकहाँबाट कपडाको अनधिकृत आयात भइरहेको छ भन्ने सुराक पनि हामीले पाएका छौँ । सोहीअनुसार सशस्त्र प्रहरीको परिचालन गरिएको छ । अवैध रूपमा ल्याइएका कपडालाई सुरक्षाकर्मीले निरन्तर पक्राउ गरिरहेका छन् ।’