गोल्डेन ओकको पेटेन्ट चोरेर गोल्डेन इगल उत्पादन भएको पुष्टी, उत्पादन बन्द, २५ हजार जरिवाना

बिजमाण्डू
२०७४ माघ २८ गते १४:३३ | Feb 11, 2018
गोल्डेन ओकको पेटेन्ट चोरेर गोल्डेन इगल उत्पादन भएको पुष्टी, उत्पादन बन्द, २५ हजार जरिवाना



काठमाडौं । हिमालयन डिष्ट्रलरीले उत्पादन गर्ने मदिरा 'गोल्डेन ओक'को पेटेन्ट र डिजाइन चोरी गरेर साँग्रीला डिष्ट्रलरीले 'गोल्डेन इगल' मदिराको उत्पादन गरिरहेको पुष्टि भएको छ। 

उद्योग विभागले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १९ अनुसार साँग्रीला डिष्ट्रलरीलाई गोल्डेन इगल मदिरा उत्पादन तथा विक्रि वितरणमा रोक लगाउने निर्देशन दिने निर्णय समेत गरेको छ।

विभागले निर्णयपर्चा खडा गरिसकेको छ, अब केही दिनमा हामी फैसलाको कपि पनि दिन्छौं, उद्योग विभाग स्रोतले बिजमाण्डूलाई जानकारी दियो। हिमालयन डिष्ट्रलरीले उत्पादन गर्ने गोल्डेन ओकको पेटेन्ट, डिजाइन र ट्रेडमार्क चोरी गरेको आरोपमा विभागले साँग्रिला डिष्ट्रलरीलाई २५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय समेत गरेको छ।

विभागले गोल्डेन इगल नामको मदिरा उत्पादन तथा विक्रि वितरण गरेको पाइएमा जफत हुने ठहर समेत गरेको छ।

हिमालयन डिष्ट्रलरीले उत्पादन गर्दै आएको गोल्डेन ओकको ट्रेडमार्क (शब्द चित्र) तथा लोगोको दुरुस्तै नक्कल गरेर साँग्रीला डिष्ट्रलरीले गोल्डेन इगल मदिरा उत्पादन गर्दै आएको थियो। मदिरा उत्पादन गरेपछि साँग्रीला डिष्ट्रलरी गोल्डेन इगलको ट्रेडमार्क दर्ता माग गर्दै उद्योग विभाग पुगेको थियो।

Tata
GBIME
Nepal Life

आफ्नो ब्राण्डको ट्रेडमार्क नक्कल गरेर माग गरिएको दर्ता रोक्न आग्रह गर्दै हिमालयन डिष्ट्रलरी पनि विभागमा पुगेको थियो। 


विभागमा सुरुमा साँग्रीला डिष्ट्रलरीले हिमालयन डिष्ट्रलरीले भन्दा पहिले २०७२/०४/०२ गते दर्ता नम्वर ३९१३१ बाट आफ्नो ब्राण्डको पेटेन्ट दर्ता गरेको दलिल दिएको थियो। तर विभागमा उक्त मितिमा साँग्रीला डिष्ट्रलरीले गोल्डेन इगलको कुनै पनि ट्रेडमार्क दर्ता नगराएको तथा दलिल दिने कम्पनीले त्यसको प्रमाण समेत बुझाउन नसकेको विभागले जानकारी दिएको छ।

विभागले यो मुद्दामा सुनुवाई सुरु गरेपछि साँग्रीला डिष्ट्रलरीका अधिकारीहरु वेपत्ता हुन थालेका थिए। विभागले आफ्नो रायमा लेखेको छ, कम्पनीले ट्रेडमार्क दर्ताको प्रमाण पेश नगरी भागी भागी हिंड्ने गरेको छ।

मुद्दा प्रक्रिया चलिरहँदा साँग्रिला डिष्ट्रलरीले आवेदन नम्वर ०६१२७५ बाट  गोल्डेन इगल,०६२८३० बाट गोल्डेन डक र ०६२८३२ बाट गोल्डेन ग्रेन नामको ट्रेडमार्क दर्ताका लागि आवेदन गरेको थियो। यी ट्रेडमार्क दर्ताविरुद्ध समेत विभागमा उजुरी परेको थियो। 

यो विषयमा मुद्दा फर्छयौटका लागि समेत साँग्रीला डिष्ट्रलरी विभागमा हाजिर भएको थिएन। सार्वजनिक सूचना समेत जारी गरेर बोलाउँदा समेत कम्पनीका अधिकारी आफ्नो मुद्दाको डिफेन्डमा नपुगेपछि विभागले राय पुस्तिकामा लेखेको छ, ऐनको म्याद भित्र विभागमा उपस्थित नभई, कुनै लिखित प्रतिक्रिया नै नदिइ उजुरी दावीलाई स्वीकार गरि बसेको देखियो।

हिमालयन डिष्ट्रलरीले उत्पादन गर्ने गोल्डेन ओक जस्तै नाम र लोगोमा गोल्डेन याक मदिरा उत्पादन भएपछि विभागले यस पहिले नै याकको उत्पादन बन्द गरेको थियो।