इँटा उद्योगमा सय भन्दा बढीले पाए रोजगारी, इँटा बोकेर मासिक ४० हजार भन्दा बढी आम्दानी

रासस
२०७४ फागुन १ गते १५:१२ | Feb 13, 2018
इँटा उद्योगमा सय भन्दा बढीले पाए रोजगारी, इँटा बोकेर मासिक ४० हजार भन्दा बढी आम्दानी


रामपुर। रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ ।

Tata
GBIME
Nepal Life

रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर परिवारको लालनपालनसँगै छोराछोरीको पढाइ खर्चका लागि सहज भएको कामदार किशोरी बैठ्ठा बताउँछन्। रौतहटबाट रोजगारका निम्ति यहाँ आउनुभएको उनले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ३० हजारभन्दा बढी कमाइ गर्छन्।

यहाँ काम गर्ने सबैजसो कामदार तराई क्षेत्रका छन् । रौतहटकै अर्का मजदुर दिनेश रावत कुर्मीले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ४० हजारसम्म आम्दानी गर्छन् । इँटा उद्योगमा मजदुरी गरेर उनले ११ जनाको परिवारको गुजारा चलाउँदै आएका छन्। उनले भने, “विदेश गएर कमाउने पैसा नेपालमै कमाउन सकिन्छ, दाम कमाउनकै निम्ति विदेश जानुपर्ने अवस्था छैन”।

पूर्वी पाल्पामै एकमात्र आधिकारिक रुपमा सञ्चालित उक्त इँटा उद्योगबाट बेरोजगार युवालाई पर्याप्त आम्दानी गर्ने अवसर मिलेको छ । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सो उद्योगमा रु डेढ करोडभन्दा बढी लगानी गरेको सञ्चालक सुन्दर देवकोटा बताउँछन् । यहाँ दैनिक ४० हजारको हाराहारीमा इँटा उत्पादन हुने गरेको छ । प्रतिइँटाको मूल्य १४ रुपैयाँ ५० पैसा पर्छ । 

 काम र परिश्रमअनुसार मजदुरलाई सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको अर्का सञ्चालक सीताराम देवकोटा बताउँछन् । यहाँ उत्पादित इँटा गुणस्तर र टिकाउ रहेकाले माग दिनानुदिन बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योगमा काम गर्ने सबैजसो मजदुरले घरायसी खर्च र छोराछोरीको पढाइ खर्च राम्रोसँग चलाउँदै आएका छन् । सो उद्योगमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत जिल्लामा खपत हुन्छ ।