शहरको ‘भ्यालेन्टाइन इकोनोमी’, टिनएजरलार्इ तान्यो टेड्डी र ‘हार्टलभ’ले, अधबैंशेलार्इ ‘शो-पिस’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन १ गते १७:५१ | Feb 13, 2018
शहरको ‘भ्यालेन्टाइन इकोनोमी’, टिनएजरलार्इ तान्यो टेड्डी र ‘हार्टलभ’ले, अधबैंशेलार्इ ‘शो-पिस’

काठमाडौं। १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे। पहिले जस्तो एक दिनमात्र मनाउने चलन बदलिएको छ।

Tata
GBIME
Nepal Life

हिजोआज  भ्यालेन्टाइन सप्ताह नै मनाइन्छ। भ्यालेन्टाइन फिभरबाट काठमाडौं गुलाबी बनेको एक साता भइसकेको छ। एक साता अघिदेखि नै व्यापारिक कम्प्लेक्समा राता बेलुन, टेडी बियर, चकलेट तथा राता लुगाको व्यापार बढेको छ। भ्यालेन्टाइन डेलाई व्यापारिक रुपमा प्रयोग गर्ने अवसरका रुपमा मल तथा कम्प्लेक्सले विभिन्न कार्यक्रम गरी ग्राहकहरु आकर्षित गरिरहेका छन्।

दरबारमार्गको आर्चिज गिफ्ट सपमा उपहार खरिद गर्नेहरुको भिड छ। एक हप्तादेखि नै टिनएजरदेखि अधबैंसेसम्म  गिफ्ट खरिदका लागि आइरहेको प्रवन्ध निर्देशक सुनिल थापाले बताए। गत वर्षको तुलनामा भने संख्या केही पातलो भएको थापाको अनुभव छ। तर नियमित ग्राहकहरु भने आइरहेको उनले बताए।

पहिले पहिले कार्डहरुमात्र धेरै बिक्री हुने गर्थ्यो। अहिले भ्यालेन्टाइनकै लागि ‘स्पेसल उपहार’को ट्रेन्ड आएको थापा बताउँछन्।  भ्यालेन्टाइन डेका लागि प्राय कपल सोकेस, चकलेट, सिरानी, स्पेसल कार्ड, आर्टिफिसियल रोज,  हर्ट, टेड्डी वियर लगायतका उपहार धेरै बिक्री हुने गरेको छ।सामान्य रुपमा भ्यालेन्टाइन डेकालागि ५ सय देखि २५ सय सम्ममा उपहार खरिद गर्ने गरेको थापाको भनाई छ। युवापुस्ताले एक सयदेखि ५ सय सम्मका चकलेट खरिद गर्ने ट्रेन्ड रहेको पनि थापाले बताए।

कपलको चित्र कोरिएको सिरानी गिफ्ट दिने नयाँ ट्रेन्ड सुरु भएको छ। यसको ८ सय देखि एक हजारसम्म पर्छ। यस्तै कपल सोकेस ५ सय ७५ देखि १२ सयसम्ममा पाइन्छ। कार्डहरु २ सय ५० देखि ५ सयसम्ममा छन्। ‘लभहर्ट’ पनि टिनएजरले अधिक रुचाउने गिफ्ट हो। यो सस्तो पनि छ। लभ हर्ट १ सय ७५ देखि १ सय ९५ रूपैयाँमै पाइने भएकाले पनि टिनएजरलाई यसले आकर्षित गरेको थापा बताउँछन्। एक हजारदेखि २५ सयसम्म पर्ने टेड्डी वियर पनि युवापुस्ताको रोजाइ हो। अधबैंसेहरुले भने शोपिसहरु रुचाउने गरेको थापाको अनुभव छ।

कमलादी स्थित रोयल ड्याफोडिल्स फ्लावर्सकी मीना तामाङ श्रेष्ठ रोज डेका दिन एक लाख पचास हजारको रेड रोज विक्रीमा दंग छिन्। पसलबाट ग्राहकले डच, लोकल, टाटा रोज लगायतका गुलाब खरिद गरिरहेको उनले बताइन्। उनका अनुसार डच रोज तीन दिनसम्म नओइलिने, लोकल रोज एक दिनमै ओइलिने र टाटा रोज एक दिनसम्म नबिग्रने उनले जानकारी दिइन्।

भारतबाट आयात हुने यस्ता गुलाबहरुको पनि थरीथरीका क्वालिटी हुन्छ जसअनुसार मूल्य निर्धारण गरिन्छ। उनका अनुसार डच रोजको ५० देखि ८० रुपैयाँ, लोकल रोज १५ देखि २५ रुपैयाँ र टाटा रोजको मूल्य २५ रुपैयाँमा बिक्री हुन्छ।  सामाजिक संजालको बढ्दो प्रयोगले स्पेशल कार्ड विक्री भने घटेको उनको अनुभव छ। उनले भनिन्, ' अहिले फेसबुक र इन्स्टाग्रामबाटै कार्ड पोष्ट गर्न पाइन्छ।'

बजारमा सक्कली मात्र होइन नक्कली गुलाबको पनि ब्यापार बढेको छ। कागज वा कपडाले बनेका ‘आर्टिफिसियल रोज’को ५० रुपैयाँ देखि २ सय ५० सम्म पर्छ।फूल र गिफ्ट सपहरुमात्र होइन राजधानीका ब्यापारिक कम्प्लेक्सहरु गुलजार छन्। भ्यालेन्टाइन डे आउनु सातादिन देखि नै मलहरुमा राता बेलुनहरुले सजिइसकेका छन्। चाबहिलको केएल टावरमा ‘दामी सेल अफर’ सुरु भइसकेको छ।जुत्ता, घडी, ज्याकेट, ट्राउजर, चस्मा लगायतका ४० वटा आउटलेटहरुले भ्यालेन्टाइन सेल दिइरहेको इभेन्ट म्यानेजर हिरामणी तिमल्सिनाले  जानकारी दिए।  यो अफर  आगामी फागुन १५ गतेसम्मकालागि भएको पनि तिमल्सिनाले बताए।

ग्राहकले दामी सेल अफर अन्तर्गत ५० देखि ९५ प्रतिशत सम्म छुट पाइरहेका छन्।  दामी सेलमा ५ हजार रुपैयाँ वा बढीको सामान खरिद गर्ने ग्राहकले स्योर सट दुईवटा एफक्युबको टिकट समेत पाउने व्यवस्था मिलाइएको छ भने  ५ सय वा सो भन्दा बढीको सामान खरिदमा लक्की ड्र मार्फत ५ हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन्। 

सेल अवधिभर सामान खरिद गर्ने ग्राहकले बम्पर पुरस्कारमा ५० हजार रुपैयाँ पर्ने मोबाइल सेट पाउने पनि तिमल्सिनाले जानकारी दिए।दामी सेल योजना अवधिभर  हरेक हप्ता फेसन सो, फ्रि फेस आर्ट लगायतका कार्यक्रमहरु पनि भैरहेको छ। प्रणय दिवसका दिन केएल टावरमा जोडीका लागि रमाइलो इभेन्ट राखिएको छ। तिमल्सिना भन्छन्- 'भ्यालेन्टाइन जोडीका लागि पेपर डान्स, गेम, चकलेट वितरण लगायतका विभिन्न आकर्षक कार्यक्रम बनाएका छौँ।'

यसैगरी बिजी मलमा पनि विन्टर मेगा सेल चलिरहेको छ। मेलामा ग्राहकले फेन्सी आइटममा ५० प्रतिशतसम्म छुट पाउन सक्ने र मोबाइल खरिदमा २५ प्रतिशतसम्म छुट पाइरहेको तिमल्सिनाले बताए। भ्यालेन्टाइन डेको साँझ ५:०० बजदेखि गायक अभिनास घिसीङ लगायत अन्य विभिन्न ब्याण्डको  कन्सर्ट आयोजना हुँदैछ। बिजी मलमा ४५ मुख्य आउटलेटले अफर दिइरहेको उनले बताए।

उनले भने 'ग्राहकले जुनसुकै सामानको  खरिदमा  पनि एउटा कुपन पाउनेछन्। कुपन लिएर लक्की ड्र गर्ने ठाउँमा गएपछि एउटा बल छान्न लगाइन्छ। बलमा १० हजारसम्मको सपिङ भौचर, मुभी टिकट लगायतको आकर्षक उपहारहरु जित्न सकिने बताइएको छ। बम्पर उपहारमा ग्राहकले ५० हजार बराबरको गिफ्ट पाउन सक्ने तिमल्सिनाले जानकारी दिए।