ठूला शहरबाट निस्कने फोहोरले भरिन थाले डम्पिङ साइट, ‘रिसाइकल कन्सेप्ट’बाट यसरी हुन्छ कमाइ

बिजमाण्डू
२०७४ फागुन ३ गते १५:४९ | Feb 15, 2018

सन् २०१२ मा विश्व बैंकले विश्वका ठूला शहरहरुबाट उत्पादन हुने फोहोरको बारेमा अध्ययन गर्यो। अध्ययन प्रतिवेदन अनुसार विश्वका ठूला शहरहरुबाट वर्षेनी १.३ अर्ब टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ।

Tata
GBIME
Nepal Life

शहरी जनसंख्यामा भैरहेको निरन्तर बृद्धिका कारण आगामी सन् २०२५ सम्ममा यो परिमाण बढेर २.२ अर्ब टन पुग्ने अध्ययनमा प्रक्षेपण गरिएको छ।
विश्वमा विकास जति बढी भैरहेको छ यससँगै फोहोरहरुपनि बृद्धि भैरहेको छ। फोहोरहरुलाई कसरी विसर्जन गर्ने भन्ने बारेमा पनि नयाँ प्रयोगहरु हुन थालेका छन्।  

लामो समयदेखि विश्वका बिभिन्न शहरहरुको फोहोर प्रशोधन गर्दै आएको चीनले गत जनवरीमा  अबदेखि लाखौं टन बराबरको बिदेशी फोहोर आयात तथा प्रशोधन रोक्ने जनाएको छ। पश्चिमी देशहरुले हरेक बर्ष जहाजमा राखेर लाखौं टन फोहोर प्रशोधनकालागि चीन पठाउने गरेको थियो। अब चीनले प्रशोधनका लागि ति फोहोरहरु नलिने खबरले बाँकी विश्वलाई गम्भीर संकटमा पारिदिएको छ।

संयुक्त राष्ट्रसंघले महासागरमा प्लास्टिकको मात्रा बढ्नु पृथ्वीकै लागि जोखिम भएको बताएको छ। समुद्री जीवन समाप्ति हुने जोखिमले चिन्तित भएको महासंघको एक प्रतिवेदनमा भनिएको छ।

विश्वका केही उद्यमीहरुले ‘रिसाइकल कन्सेप्ट’माथि काम गरिरहेका छन्। ‘बितेका केही महिनाहरुमा हामीले प्लास्टिकले वातावरणमा पार्ने असरहरुका बारेमा चेतनामूलक अभियान चलाइरहेका छौ। यसबाट वातावरण जोगाउने मात्र होइन आय आर्जन पनि गर्न सकिने उदाहरण अघि सारेका छौं।’- यूनोमिया नामक वातावरणिय कन्सल्ट्यान्सीका पिटर जोन्स भन्छन्।

सहज समयमा उपभोक्ताहरु वातावरणिय जोखिम घटाउने विषयलाई आफ्नो प्राथमिकतामा राख्दैनन्। हरित क्षेत्रमा काम गर्दै गर्दा आइडिया छ भने प्रशस्त पैसा पनि कमाइने पिटर बताउँछन्।

साना बालबालिकाले प्रयोग गर्ने न्याप्पीहरुले हरेक वर्ष लाखौं टन फोहोर उत्पादन हुन्छन्।  बर्षेनी बेलायतमा मात्रै तीन अर्ब न्यापीहरु फालिन्छन् भने २० अर्ब न्यापीहरुले अमेरिकाका ल्याण्डफिल साइटहरु भरिने  गरेका छन्।

‘वेस्ट टु एरोमाटिक्स’ १६ अर्ब डलरको यस्तै परियोजना हो जसले प्लास्टिकबाट प्रयोगजन्य सामाग्रीहरु बनाउँछ।  डच रिसर्च फर्म बायोरिजोनले सुरु गरेको यो परियोजना अन्तर्गत प्लास्टिकबाट वातावरण जोगाउनुकासाथै केमिकल उद्योगहरुबाट निस्कने हानिकारक रसायनहरुको ब्यबस्थापन समेत गर्ने गर्छ। यसले न्याप्पी र स्यानिटरी  उत्पादनहरुबाट निस्कने प्लास्टिकबाट कमर्सियल प्रोडक्टहरु बनाएर बेच्ने गरेको छ। न्यापी र स्यानिटरी प्याडबाट आरामदायी बेन्च बनाएर बेच्दा कम्पनीले कमाइसँगै वातावरण जोगाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।

पश्चिमा देशहरुमा स्यान्डविच अनि ब्रेडहरु  निकै धेरै खपत हुन्छ। तर उत्पादनका क्रममा यहि ब्रेड नै आधाभन्दा बढी फ्याँकिने गर्छ। यसरी खेर जाने ब्रेडहरुलाई बियर बनाउन प्रयोग गर्न सकिन्छ। पर्यावरणिय क्याम्पेनर ट्रिस्ट्राम स्टुआर्टले यसरी फ्याँकिएका ब्रेड संकलन गरी बियर बनाउन थालेका छन्। उनले बेकरीहरु तथा स्याण्डविच मेकरहरुबाट पाउरोटीका खेर गएका टुक्राहरु बटुलेर बियरमा यिस्टसँगै प्रयोग गर्छन्।

सन् २०१५ मा लण्डनमा खोलेको उनको कम्पनीले दक्षिण अफ्रिका र न्यूयोर्क शहरमा समेत शाखा खोलिसकेको छ। उनले कमाउने नाफा सन् २०२५ सम्ममा विश्वभरबाट खाद्यान्नजन्य फोहोर आधाले घटाउने  परियोजनामा प्रयोऊ गरिरहेका छन्।

रिसाइकल गर्न सकिने बस्तुहरु अन्तर्गत प्लास्टिक तथा कार्डबोर्डमात्र पर्दैनन्। पुराना भएपछि वा बिग्रिएपछि फ्याँकिने विद्युतीय उपकरणहरुले पनि विश्वलाई फोहोर पारिरहेको छ। यस्ता फोहोरहरुलाई ‘इ-वेस्ट’ भनिन्छ। यसमा स्मार्टफोन, कम्प्यूटर तथा टेलिभिजनहरु पर्छन्।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनका अनुसार विश्वमा हरेक वर्ष ५ करोड टन ‘इ-वेस्ट’ उत्पादन हुन्छ। यसमध्ये एक चौथाइ मात्र इ वेस्टहरु रिसाइकल हुन्छन्। इ वेस्टमा सुन, चाँदी तथा तामाजस्ता बहुमुल्य धातुहरु भएपनि यसको रिसाइकलमा धेरैको चासो गएको देखिन्न।

चीनको गूयू शहरलाई ‘इ-वेस्ट ग्रेभयार्ड’ अर्थात  विद्युतीय माध्यमबाट उत्पादन हुने फोहोरको चिहान भनिन्छ। यहाँ वर्षेनी १ करोड ६० लाख टन फोहोर थन्क्याइन्छ। यहाँ कामदारहरुले हातैले धातुहरुलाई प्लास्टिकबाट छुट्याउँछन् र फेरि अर्को विद्युतीय उपकरणमा प्रयोग गरिन्छ। इ वेस्टका कारण यो शहरमा मानिसको स्वास्थ्यमा समस्या देखिन थालेको छ। यहाँ यस्ता फोहोरहरुमा हुने विषाक्त लिडहरुले मानवस्वास्थ्यमा गम्भीर असर पर्ने बिज्ञहरु बताउँछन्।

यस्ता फोहोरहरुबाट मानव क्षति रोक्न र शहरी क्षेत्रमा ‘इ-वेस्ट’को समस्या समाधानकालागि अमेरिकाको ब्लु ओक जस्ता स्टार्टअपहरुले रिसाइकल परियोजनाहरुमा काम गरिरहेका छन्। उनीहरुले मिनि रिफाइनरी निर्माण गरी यस्ता सामाग्रीहरुबाट प्रयोगजन्य वस्तुहरु छुट्याउने र पुनर्प्रयोग गर्न सकिने सामाग्रीहरुबाट बिभिन्न ब्यावसायिक उत्पादन गरिरहेका छन्।