१६ महिनामै माछापुच्छ्रेका सिइओ निरज श्रेष्ठले दिए राजीनामा, सञ्चालकसँग मतभेद

बिजमाण्डू
२०७४ फागुन ७ गते १२:१९ | Feb 19, 2018
१६ महिनामै माछापुच्छ्रेका सिइओ निरज श्रेष्ठले दिए राजीनामा, सञ्चालकसँग मतभेद
काठमाडौं। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन्। २०७३ असोज १७ गते चार वर्षका लागि सिइओ नियुक्त भएका श्रेष्ठले १६ महिनामै बैंक छाडेका हुन्। उनले असोज २८ गतेबाट बैंकको नेतृत्व सम्हालेका थिए।

Tata
GBIME
Nepal Life


सञ्चालक समितिसँगको मतभेदका कारण उनले राजीनामा दिएको एक संचालकले बताए। श्रेष्ठले नेतृत्व सम्हालेपछि बैंकको प्रगतिप्रति सञ्चालक सन्तुष्ट हुन नसकेपछि श्रेष्ठ र संचालकबीच समितिको सम्बन्ध चिसिएको थियो।  
 
 तात्कालीन सिइओ तुलसीराम गौतम बाहिरिएपछि श्रेष्ठ बैंकले बैंकको नेतृत्व सम्हालेका थिए। श्रेष्ठ बाहिरिएपछि संचालक समितिले नायब महाप्रबन्धक अर्जुन थापालाई निमित्त सिइओको जिम्मेवारी दिएको छ।
 
तात्कालीन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठ ग्लोबल आइएमइ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर माछापुच्छ्रे बैंक गएका थिए। उनी २०७१ सालको भदौमा एनआइसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आइएमइ गएका थिए।
 
करियरको सुरुवातमा १३ बर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठले त्यसपछि तात्कालीन एस फाइनान्सको व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा नौ बर्ष बिताएका थिए। ग्लोबल आईएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङ हेर्ने गरि महाप्रबन्धक थिए।