एमाले र माओवादीबीच सात बुँदे सहमतिमा हस्ताक्षर, नाम नेपाल कम्युनिस्ट पार्टी, अध्यक्षबारे मौन

बिजमाण्डू
२०७४ फागुन ८ गते ०६:०९ | Feb 20, 2018
काठमाडौँ।नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्। 
 

पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ।पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय यसमा खुलेको छैन। यसमा माओवादीको माओवाद र एमालेको जनताको बहुदलीय जनवादलाई दुवैलाई असर नपर्ने गरी सैद्धान्तिक विषयमा विन विन स्थिति बनाइएको देखिएको छ। 
 
एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमतिमा उल्लेख छ। यही आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन  र अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गरिने पाँचौँ बुँदामा उल्लेख छ। 
 
आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा सम्पन्न गरिने सातौँ बुँदामा उल्लेख छ। पार्टी एकता संयोजन समितिका एमालेका तर्फबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलले सहमतिमा हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्। 

Tata
GBIME
Nepal Life