प्रधानमन्त्री ओलीले बुढीगण्डकी परियोजना उल्टाउने, खोसिएको बुढीगण्डकी फेरि चीनकै पोल्टामा!

बिजमाण्डू
२०७४ फागुन ८ गते ११:५० | Feb 20, 2018
काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चिनियाँ कम्पनीबाट खोसिएको बुढीगण्डकी जलविद्युत आयोजना  फेरि चिनियाँ कम्पनीलाई नै दिने प्रधानमन्त्री केपी ओलीले संकेत गरेका छन्।  

Tata
GBIME
Nepal Life


 

गत बिहीबार प्रधानमन्त्री चुनिएपछि साउथ चाइना मर्निङ पोष्टसँगको ‘एक्सक्लुसिभ’ कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दबाबका कारण कुनै पनि परियोजनाहरु ‘स्क्रयाप’ हुन नहुने बताए। उनले भने- ‘हाइड्रोपावर प्रोजेक्टहरुको निर्माण नै हाम्रो प्राथमिकता हो। त्यसैले हामी बुढीगण्डकी परियोजनालाई फेरि ब्यूँझाउछौं।’
 
गत जुनमा चीनको गेजुवा ग्रुपलाई बुढीगण्डकी परियोजनाको लागि ड्याम बनाउने कन्ट्रयाक्ट दिइएकोमा भारतको तीब्र दवावपछि देउवा सरकारले प्रोजेक्ट ‘स्क्रयाप’ गरेको थियो। 
 
अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग बढिरहेकोमा तत्काल हाइड्रोपावर परियोजनाहरु बिकास गरी पेट्रोलियममाथिको निर्भरता घटाउन अत्यावश्यक भएको बताएका थिए।
 
साउथ चाइना मर्निङ पोष्ट लेख्छ – ‘नेपाल पेट्रोलियम पदार्थका लागि भारतको भर पर्नुपर्ने अवस्था छ। नेपालमा गत पाँच वर्षमा इन्धन आयात खर्च तीन गुनाले बढेको छ जसबाट  नेपालको भारतसँगको ब्यापार घाटापनि उच्च देखिएको छ। गत आर्थिक वर्षको भारतसँगको ब्यापार घाटा  झण्डै ६ अर्ब डलर रहेको छ। नेपालको कुल ब्यापार घाटामध्ये भारतसँगको ब्यापार घाटा ८० प्रतिशत रहेको छ।’


 
नेपालले हाइड्रोपावर परियोजनाहरु अघि बढाएपनि भारत र चीनको दवावमा पर्ने गरेको भन्दै नेपालले केही परियोजनाहरु भारतलाई र केही चीनलाई दिनुपर्ने अवस्था रहेको विश्लेषण समाचारमा गरिएको छ। 
 
प्रधानमन्त्री ओलीले यसअघिको कार्यकालमा भारतसँग टक्कर लिएपछि भारतले नेपालमा नाकाबन्दी लगाएको कारण ओलीले चीनसँग निकटता बढाउनका लागि केही महत्वपूर्ण परियोजनाहरु चीनलाई दिएको भनिएको छ। 
 
अन्तर्वार्ताका क्रममा भारतसँगको सम्बन्धका बारेमा ओलीले ‘केयरफुल्ली’ कुरा गरेका थिए। ओलीले भने- ‘भारतसँग सँधै नेपालको सुमधुर सम्बन्ध रहँदै आएको छ। केही विषयहरुमा हामीबीच ‘मिसअन्डरस्ट्यान्डिङ’ भएको थियो। तर भारतीय नेतृत्वले हामीलाई भविष्यमा कुनै पनि ‘इन्टरफियरेन्स’ नगर्ने आश्वासन दिएका छन्। दुबै देशले एक अर्काको स्वाधिनता तथा स्वतन्त्रताको सम्मान गर्छ।’ 
 
ओली नेतृत्वमा आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री ओलीसँगको तिक्तता सुधार्ने प्रयास गरेका थिए। उनले ओली नेतृत्वमा आएलगत्तै तीनपटकसम्म टेलिफोन वार्ता गरेका थिए। त्यसैगरी दुई देशको सम्बन्ध सुधार गर्ने वातावरण तयार गर्न मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा पठाएका थिए। 
 
भारतसँगको ‘डिप्लोम्याटिक’ सम्बन्ध राम्रो बनाउने तर्फ ओली सचेत देखिएपनि उनी चिनियाँ पक्षसँग हात बढाउन इच्छुक देखिएको विश्लेषण छ।  अन्तर्वार्ताका क्रममा उनले भनेका थिए- ‘भारतसँगको खुला सिमाना तथा ब्यापक संजाल कायम रहेको भएपनि हामीले यो बिर्सनु हुँदैन कि हाम्रा दुईवटा छिमेकी छन्। हामी कुनै एक देशसँगमात्र निर्भर रहने वा कुनै एक देशलाई मात्र बिकल्प मान्ने काम गर्न चाहँदैनौं।’ 
 
ओलीले पूर्वाधार विकासलाई नै चीनसँगको सम्बन्ध निकट बनाउने मानकका रुपमा लिएका छन्। उनले भने- ‘प्रविधिले नै हामीलाई निकट ल्याउँछ। तपाईं विश्वास गर्नुहुन्छ? सन् १९७० मा मेरो घर पूर्वी नेपालबाट काठमाडौं आइपुग्न दुईदिन लाग्थ्यो!’


 
चीनले आफ्नो रेलवे संजाल सिगात्से हुँदै केरुङसम्म ल्याएपछि नेपालमा पनि त्यसको बिस्तार गर्न धेरै सजिलो हुने ओलीको भनाई छ। अन्तर्वार्तामा उनले भनेका छन् –‘ नेपाल र चीनबीचको दूरी घटाउने अन्य  तीनवटा सडक परियोजनाहरु बनिरहेका छन् र केही वर्षमै ति सडकहरु निर्माण सम्पन्न भैसक्ने छ। हामीले चीनको  रेलवे संजाललाई पूर्वपश्चिम रेल परियोजनामा जोड्न सक्यौ भने यसले नेपालको चीन र भारतसँगको ब्यापार सम्बन्धमा क्रान्ति नै ल्याउँछ।’
 
चीनले सन् २०२० सम्ममा नेपालको सिमानासम्म रेलवे संजाल बिस्तार गर्ने लक्ष्य राखेको छ। यसै संजाललाई चीनले काठमाडौंसम्म बिस्तार गर्न विषयमा इच्छा समेत जाहेर गरिसकेको छ। तिब्बतको केरुङ नेपालको सीमानाका रसुवागढीबाट २५ किलोमिटर पर मात्र पर्छ। 
 
पूर्वाधार निर्माण तथा उर्जा बाहेक ‘साइबर कनेक्टिभिटी’ बिस्तारका लागि ओलीले तीब्र आकांक्षा राखेका छन्। नेपालले गत वर्षनै केरुङ रसुवागढी नाकाबाट अप्टिकल फाइबर बिछ्याएर चीनसँग सहकार्य सुरु गरी भारतसँगको साइबर एकाधिकार खोसिसकेको छ।
 
अन्तर्वार्ताका क्रममा ओलीले भारतसँगका बिभिन्न मुद्दाहरुमा आन्तरिक तथा द्विपक्षीय छलफल गर्ने बताएका छन्।  २५ हजार नेपाली भारतीय सेनामा रहनुका साथै अन्य २० हजार नेपाली भारतीय प्रहरी तथा सुरक्षा दस्तामा रहेको भन्दै यस विषयमा पनि आवश्यक सुधारका लागि छलफल गरिने बताए।
 
ओलीले भनेका छन्- ‘नेपालले नयाँ यात्रा थालेको छ । आधुनिक युगमा हामी पुराना तथा ‘आउटडेटेड’ सबै टपिकहरुमा आन्तरिक तथा आपसी छलफल गरी आवश्यक सुधारहरु थाल्छौं। पुराना बिषयहरुलाई अपडेट गर्न चाहन्छौं। हामी नयाँ नेपालमा बस्न चाहन्छौं।’