संस्थागत लगानीकर्तालाई बाटो खोल्दा पनि बुटवल पावरको ३३ प्रतिशत एफपिओ बिक्न बाँकी

बिजमाण्डू
२०७४ फागुन ८ गते १६:२२ | Feb 20, 2018
काठमाडौं। करिब एक वर्षअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४२५ रुपैयाँमा एफपिओ निष्काशन गर्यो ।

Tata
GBIME
Nepal Life

दोस्रो बजारमा २७ सय रुपैयाँ भन्दा धेरैमा यो कम्पनीको शेयर किनबेच भइरहेको थियो। कम्पनीले चार अर्ब ४१ करोड रुपैयाँको एफिओ निष्काशन गर्दा ४० अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। त्यस्तै नेपाल एसबिआइ बैंकले ९७१ रुपैयाँमा एफपिओ निष्काशन गर्दा दोस्रो बजारमा १४ सय रुपैयाँमा यसको शेयर कारोबार भइरहेको थियो। बैंकले ६ करोड ५८ लाख रुपैयाँको एफिओ निष्काशन गरेकोमा ३ अर्ब ८९ करोड रुपैयाँको आवेदन परेको थियो। 
 

स्ट्यान्डर्ड चार्टार्ड बैंकले निष्काशन गरेको एफपिओको मूल्य १२९० रुपैयाँमा थियो तर निष्काशन अवधिमा दोस्रो बजारमा यसको मूल्य २ हजार रुपैयाँ थियो। बैंकले एफपिओ निष्काशन गरेपछि १०० प्रतिशत बोनस शेयर दिएर पनि एक हजार रुपैयाँको हाराहारीमा कारोबार भैरहेको छ। बैंकले ३ अर्ब ३० करोडको एफपिओ निष्काशन गरेकोमा ३८ अर्ब २० करोड रुपैयाँको आवेदन परेको थियो। 
 
पोखरा फाइनान्सले २२० रुपैयाँमा निष्काशन गर्दा दोस्रो बजारमा यसको शेयर २५० रुपैयाँमा कारोबार भइरहेको थियो। फाइनान्सले २१ करोड ६४ लाख रुपैयाँको एफपिओ निष्काशन गर्दा ७२ करोड रुपैयाँको आवेदन परेको थियो। यी चारवटा उदाहरण हेर्दा अतिरिक्त सार्वजनिक निष्काशन (एफपिओ)मा मागको तुलनामा आवेदन धेरै भएको देखिन्छ। तर यो वर्ष बुटवल पावर  कम्पनीले निष्काशन गरेको एफपिओमा समय थप गर्दा पनि पर्याप्त आवेदन पर्न सकेको छैन। 
 
कम्पनीले पहिलो चरणमा माघ १५ देखि १९ गतेसम्म आइपिओ बिक्री खुला गर्योो। तर यो अवधिमा जम्मा २८ प्रतिशत मात्रै बिक्री भयो। उसले आव्हान पत्रमा ढिलोमा फागुन १५ सम्म आवेदन दिन सकिने उल्लेख गरेको छ। पहिलो चरणमा एफपिओ बिक्री नभएपछि नेपाल धितोपत्र बोर्डले संगठित संस्थालाई पनि आवेदन खुला गरिदियो। 
 
तर, यो समय बित्न लाग्दा पनि कम्पनीको एफपिओ ६७ प्रतिशत मात्रै बिक्री भएको छ। तोकिएको समयसम्म पनि एफपिओ बिक्री नभए शेयर प्रत्याभूति गर्ने आठ संस्थाले एफपिओ किन्नेछन्। 
 
किन बिक्री भएन?
मंगलबार बुटवल पावर कम्पनीको शेयरको अन्तिम मूल्य प्रति कित्ता ५५७ रुपैयाँ कायम भएको थियो। कम्पनीले ४०१ रुपैयाँ प्रिमियम थप गरी ५०१ रुपैयाँमा एफपिओ बिक्री खुला गरेको छ।

यसअघि एफपिओ निष्काशन गरेका कम्पनीको तुलनामा बुटवल पावरको दोस्रो बजार मूल्य र एफपिओ बिचको फरक असाध्यै कम छ। कम्पनीको एफपिओमा लगानी गर्ने लगानीकर्ताको पैसा न्यूनतम ३० दिन 'होल्ड' हुन्छ।


पछिल्लो एक वर्षमा बुटवल पावरको शेयरमा भएको उतारचढाव।

एफपिओकै हाराहारीमा बजारमा कम्पनीको शेयर पाइने र पैसा पनि होल्ड हुने भएकाले लगानीकर्तालाई एफपिओले आकर्षित गर्न नसकेको एक विश्लेषक बताउँछन्। 'प्रतिफल दिने समयमा पनि कम्पनीको शेयर मूल्य धेरै माथि गएको छैन। यस्तो अवस्थामा लगानीकर्तालाई एफपिओको पछि लाग्ने भन्दा पनि दोस्रो बजारमा अरु कम्पनीको शेयर खरिद बिक्री गर्नु नै उपयुक्त हुन सक्छ,' ती विश्लेषकले भने।
 

बुटवल पावरको दोस्रो बजारमा भएको एक वर्षको करोबारलार्इ हेर्ने हो भने अधिकतम ७८३ रुपैयाँ र न्यूनतम ४७५ रुपैयाँसम्ममा कारोबार भएको छ। बुटवल पावरले एफपिओ निष्काशन गर्ने र चिनियाँ कम्पनीसँग मिलेर एक हजार मेगावाट क्षमताका जिलिवद्युत आयोजना निर्माण गर्ने खबर सार्वजनिक भएपछि शेयर मूल्य बढेको थियो। 
 
हालको वासलात
कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी एकअर्ब ८१ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड रुपैयाँमा जम्मा भएको छ।

कम्पनीले लाभांशमार्फत ४९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। खिम्ती जलविद्युत आयोजनाबाट प्राप्त हुने प्रतिफल नै उसको लाभांशको मुख्य स्रोत हो।  
 

कम्पनीको आम्दानी स्रोत
कम्पनीको हालको आम्दानीको स्रोत दुर्इ वटा प्रोजेक्टमार्फत उत्पादन भएको विद्युत बिक्रीबाट रहेको छ। कम्पनीले ५.१ मेगावाट क्षमताको आँधी खोला र १२ मेगावाट क्षमताको झिम्रुक जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत बिक्री गरेर आम्दानी गर्दै आएको छ।

साथै कम्पनीले खिम्ती जलविद्युत आयोजनाबाट ठुलो लाभांश प्राप्त गर्दै आएको छ।कम्पनीले आँधी खोला अपग्रेडिङ प्रोजेक्ट, कावेली 'ए' हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, खुदी हाइड्रोपावर प्रोजेक्ट, लोअर मनाङ मर्स्याङ्दी प्रोजेक्ट र ङादी हाइड्रोपावर निर्माण गरिरहेको छ। यी कम्पनीले पूर्ण रुपमा उत्पादन थालेपछि बुटवल पावरको आम्दानी बढ्दै जानेछ।
 

साथै पावरले चिनिया कम्पनीसँग मिलेर एक हजार मेगावाट क्षमतामा प्रोजेक्ट निर्माण गर्ने सम्झौता गरिसेको छ। यसले पनि भविष्यमा बुटवल पावरका लगानीकर्ता सबै भन्दा धेरै लाभांन्वित हुनेछन्।