नयाँ परियोजनालार्इ पूँजी जुटाउन अरुण कावेलीले रोज्यो हकप्रदको बाटो, आयोजनाको पिपिए हुँदै

बिजमाण्डू
२०७४ फागुन ८ गते १७:४७ | Feb 20, 2018

काठमाडौं। नयाँ प्रोजेक्ट निर्माणको लागि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एफपिओ निष्काशनको बाटो छाडेर हकप्रदको विकल्प रोजेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यस भन्दा अगाडी ३०१ रुपैयाँमा एफपिओ निष्काशनको निर्णय स्थगित गरी शतप्रतिशत हकप्रद निष्काशनको लागि विशेष साधारणसभा डाँक्ने निर्णय गरेको हो।कम्पनीले ३ सय १ रुपैयाँमा एफपिओ निष्काशनको निर्णय गरेको थियो।कम्पनीका सचिव रञ्जु अधिकारीले एफपिओको मूल्य भन्दा कममा शेयर कारोबार भएपछि हकप्रदको विकल्प रोजेको बतार्इन्।

कम्पनीले सुरुमा शेयर निष्काशन गर्दानै एक सय रुपैयाँको वेस प्राइसमा ८४ रुपैयाँ प्रिमियम थप गरी प्राथमिक शेयर निष्काशन गरेको थियो। बजारको मूल्य अनुसार एफपिओ निष्काशन गर्दा सुरुमा निष्कशन गरेको भन्दा पनि कममा निष्काशन गर्नुपर्ने देखिएकोले कम्पनी पछाडी हटेको उनले बतार्इन्।
कम्पनीले आफ्नै लगानीमा कावेली बि क्यासकेड जलविद्युत निर्माण गर्न दुर्इ महिना भित्रमा पिपिए गर्ने योजना बनाएको अधिकारीले बताइन।

यो परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाउन कम्पनीले हकप्रदको बाटो रोजेको उनले बताइन। 'नयाँ प्रोजेक्ट निर्माणको लागि अहिलेको अवस्थामा बैंकबाट ऋण लिँदा धेरै ब्याज तिर्नुपर्ने भएकाले थप आर्थिक भार गर्नुपर्छ।' अधिकारीले भने।कम्पनीको अहिले भएको ७०:३० को पूँजी संरचनालार्इ परिवर्तन गरी ५१:४९ बनाउन थप प्रिमियमा एफपिओ निष्काशन गर्न लागेको थियो। यो संरचना यथावत राखेर कम्पनीले एक सय प्रतिशत हकप्रद २ महिना भित्रमा नै निष्काशन गर्ने तयारी रहेको कम्पनीले जानकारी दियो।

कम्पनीको हालको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड १४ लाख रुपैयाँ रहेको छ। कम्पनीले यसै पूँजीमा शत प्रतिशत हकप्रद दिँदा चुक्ता पूँजी एक अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले ९.९४ मेगावाट क्षमताको कावेली बी क्यासकेडको प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा निर्माण गर्ने योजना बनाएको छ। यसको लागि कम्पनीले एक अर्ब ७८ करोड रुपैयाँ जुटाउनु पर्नेछ। जसमा कम्पनीले अहिले प्रस्ताव गरेको हकप्रद र जगेडा कोष प्रयोग गर्दा ९५ करोड ४४ लाख रुपैयाँ जुटाउनेछ। थप नपुग ८३ करोड ४८ लाख रुपैयाँ बैंक ऋणबाट जुटाउनु पर्नेछ। कम्पनीले बैंकको तरलताको समस्यालार्इ मध्यनजर गर्दै अहिले भएकै शेयरधनीमार्फत अर्को परियोजना निर्माण गर्ने भएको हो।