जाजु समूह पनि अटोमोबाइल व्यवसायमा, काइनेटिक कम्पनीका इलेक्ट्रिक सवारी साधन भित्र्यायो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ फागुन ९ गते २०:१७ | Feb 21, 2018
जाजु समूह पनि अटोमोबाइल व्यवसायमा, काइनेटिक कम्पनीका इलेक्ट्रिक सवारी साधन भित्र्यायो
विराटनगर । विराटनगरको जाजु ग्रुपले भारतको काइनेटिक कम्पनीका इलेक्ट्रिक अटो र ट्रिपर भित्र्याएको छ ।एफएमसीजी उद्योगमा संलग्न यो समूह काइनेटिक कम्पनीमार्फत् अटोमोबाइलका क्षेत्रमा प्रवेश गरेको हो ।

Tata
GBIME
Nepal Life


‘अटो र ट्रिपर गरी अहिले चार प्रकारका साधनहरू ल्याएका छौँ’, ग्रुपका सञ्चालक आशिष जाजुले भने, ‘निकट भविष्यमा इलेक्ट्रिक कार र मोटर साइकल पनि ल्याउनेछौ ।’पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीको वृद्धि गर्ने लहर विश्वव्यापी रूपमा चलिरहेका बेला नेपालमा यस्ता समयसापेक्ष हुने उनले बताए।
 
सञ्चालक आशिषले भारतको काइनेटिक कम्पनी त्यहाँको प्रसिद्ध र ब्रान्डेड रहेको उल्लेख गरे ।विराटनगर पिपल चोकमा ‘ग्रीन मोटर्स’ शोरुममा चार प्रकारका सवारी साधन राखिएको छ ।दुर्इ प्रकारका अटो सेग्मेन्टका सवारी साधन छन्। काइनेटिक सफर लिथियम नामको अटोमा ५ क्विन्टलसम्म मालसामान बोक्न सकिन्छ ।
 
त्यस्तै काइनेटिक सफर गार्बेज नामको अर्को अटो फोहर सङ्कलन र ढुवानी गर्न काम लाग्छ । यसको पछाडिको डालालाई चालकले स्वचालित रूपमा उल्टाएर फोहर उत्सर्जन गर्न सक्छन् ।चारै प्रकारका अटोलाई बिजुलीमा ८ घण्टा चार्ज गर्नुपर्ने र फुल चार्ज गरिएपछि ८० किलोमिटर चलाउन सकिने जाजुले बताए ।शोरुम उद्घाटन विराटनगर महानगरका प्रमुख भीम पराजुलीले गरे ।
 
जाजुले फोहर बोक्न काम लाग्ने ५ लाख मूल्यको काइनेटिक गार्बेज प्रमुख पराजुलीमार्फत् महानगरपालिकालाई प्रदान गरे ।चारै सेग्मेन्टका सवारी साधनको  ३ वर्षको वारन्टी र ब्याट्रीको  ५ वर्षको भएको जाजुले बताए।