सन्दीप लामिछानेलाई सानिमाले ९ लाख ६० हजारको प्रायोजन गर्यो, आइपिएलमा छनोट भएपछि दोब्बर रकम

बिजमाण्डू
२०७४ फागुन १० गते १७:०६ | Feb 22, 2018

काठमाडौं। नेपाली राष्ट्र क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ।

Tata
GBIME
Nepal Life

इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले बिहीवार सम्मान गर्दै दुई वर्षको लागि सम्झौता थप गरेको हो। बैंकका सिईओ भुवन दाहालले दुई वर्षको लागि सम्झौता नवीकरण गरेको र सम्झौता रकम यसअघिको भन्दा दोब्बर रहेको बताए।'हामीले दुई वर्षको लागि सम्झौता थप गरेका छौँ। यसअघि मासिक २० हजार थियो अब मासिक ४० हजार भएको छ।' दाहालले भने। सिईओ दाहाल र सन्दीपले सम्झौतापत्रमा आदानप्रदान गरे।

सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा सनसनी प्रदर्शन गरेपछि क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा सन्दीपले सानिमा बैंकको साथ पाएका थिए।त्यसयता सन्दीपले सिनियर टिममा डेब्यु गर्दै हङकङ र अष्ट्रेलियामा समेत खेलिसकेका छन् भने आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन्।

दिल्ली डेयर डेभिल्सले बेस प्राइज २० लाख भारुमा सन्दीपलाई किनेको हो।नामिबियामा सम्पन्न डिभिजन टू मा नेपाललाई शीर्ष दुई स्थानमा पुर्यााउने क्रमाम सन्दीपले ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए। खेलेका प्रत्येक खेलमा विकेट लिएका सन्दीप म्यान अफ दी सिरिज समेत घोषणा भएको थियो।

यसैगरी कप्तान पारस खड्काले नेपालका लागि सर्वाधिक २४१ रन बनाएका थिए। सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै खेलाडीलार्इ सानिमा बैंकले सम्मान गरेको हो।यस्तै आइपीएलमा छनोट भएर नेपालको गौरब बढाएको भन्दै बैंकले सन्दीपलाई दोहोरो सम्मान गर्यो । बैंकका ब्रान्ड एम्बासडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीले) सन्दीप र पारसलाई सम्मान गरे।सम्झौता नवीकरणसँगै सम्मानित भएपछि सन्दीपले दुई वर्षअघि सिप्यानको सहयोगमा सानिमासँग जोडिएको स्मरण गर्दै आफूहरु नेपाललाई चिनाउन लागि परेको बताए।

'मैले दुई वर्ष अगाडी क्रिकेट जर्नी सुरु गरेको थिएँ। यू-१९ वर्ल्डकप खेलेर बनाउँदा धेरै खुशी लागेको थियो। त्यसपछि सिप्यानले सानिमा बैंकसँग जोडिदिनु भयो। त्यसतिखेर अझै राम्रो गरौँ अझै मेहनत गरेर नेपाललाई चिनाउन भनेर लागि परेका थियौँ। नेपालको लागि अझै धेरै गर्नुछ भन्ने लागिरहेको थियो। मलाई सहयोग गरिदिनुभएकोमा सानिमालाई धन्यवाद।'

यस्तै सन्दीपले क्रिकेट खेल्ने राम्रो वातावरण भएमा नेपाली क्रिकेट धेरै माथि पुग्ने बताए। 'सबैको साथ र सहयोग छ हामी अझै धेरै मेहनत गर्नेछौँ। हाम्रो लक्ष्य भनेको वर्ल्डकप र टेष्ट मान्यता पाउँ भन्ने हो। राम्रो वातावरण भए हामी अझै माथि पुग्छौँ।'उनले भने।यस्तै कप्तान पारसले दुई वर्षअघि सन्दीपलाई गरेको लगानीको केही रिजल्ट अहिले आएको बताए।