निजी क्षेत्रलार्इ खुशी पार्दै प्रधानमन्त्री ओली, व्यवसायी राखेर परामर्श समूह बनाउने

बिजमाण्डू
२०७४ फागुन १२ गते २०:१३ | Feb 24, 2018
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलार्इ उच्च प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रको परामर्श समूह बनाउने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेका व्यवसायी र प्रतिष्ठित व्यवसायीसहितको परामर्श समूह बनाउने जानकारी दिए।नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यो जानकारी दिएका हुन्।यो समूहले औद्योगिक क्षेत्रका समस्या समाधानका साथै लगानीको वातावरण बनाउन भूमिका खेल्दै प्रधानमन्त्रीलार्इ सल्लाह सुझाब दिने बताइएको छ।
 

प्रधानमन्त्री ओलीले आर्थिक विकासको नेतृत्वदायी भूमिका लिन तयार हुन निजी क्षेत्रलार्इ आग्रह गरे।'मेरो यो अवधिको प्रमुख लक्ष्य र अभियान भनेकै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउने हो। महासंघ जस्तो निजी क्षेत्रको संशक्त प्रतिनिधिमुलक संस्था र नेतृत्वनै मेरो कार्यक्रमलाई सफल पार्ने उर्जा हो, इन्जिन हो,उनले भने, अवको आर्थिक विकासको नेतृत्वदायी भूमिका लिन तपार्इहरु तयार हुनुहोस्।'

ओलीले उद्योग र व्यवसाय विस्तारमा लाग्न आग्रह गर्दै व्यवसायिक क्षेत्रका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।'तपाईहरु मुलुकभित्र उद्योग व्यवसाय विस्तार गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक वातावरण बनाउने काममा आजैबाट लाग्नुहोस। मैले के गर्नुपर्छ ठोस सुझाव ल्याउनुहोस।मुलुकको समृद्धिका लागि तपाईहरुले ल्याउने जुनसुकै सहयोग गर्न म तयार छु, उनले भने, प्रधानमन्त्री ओलीले अव कुनै प्रकारको श्रम समस्या नआउने र औद्योगिक व्यवसायिक वातावरण सुमधुर बन्नेछ।'
 
महासंघकी अध्यक्ष भवानी राणाले मुलुकलाई अव आर्थिक समृद्धितर्फ अगाडी बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन्।अध्यक्ष राणाले मुलुक राजनीतिक रुपमा पूर्णत नया“ संरचनामा रूपान्तरण भएकाले प्राप्त उपलव्धीलाई संस्थागत गर्दै अव जनताका मुहार उज्यालो बनाउने अभियानमा सरकार लाग्नु पर्ने सुझाव दिर्इन्। उनले अवको अभियान भनेको आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड दिँदै सरकारको आर्थिक विकासको कार्यक्रममा निजी क्षेत्रले पूर्णत सहयोग गर्ने प्रतिवद्धता जनार्इन्।
 
राणाले उद्यमी व्यवसायीहरुले कर लगायत स्थानीय तहमा अहिले पनि निकै धेरै समस्या ब्योहोर्नुपरेको बताउँदै संघीय राज्य प्रणालीमा गएपछि कर लगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको बतार्इन्।उनले अबको दशकलार्इ समृद्ध नेपाल निर्माणको दशक घोषणा गर्नुपर्ने बतार्इन्।
 
भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायतको उपस्थिती रहेको थियो।