अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनमा गुगल, फेसबुक, अमाजोनको सहभागिता, क्लाउड फ्लायर डेटा सेन्टर

रासस
२०७४ फागुन १६ गते २२:०९ | Feb 28, 2018
काठमाडौँ। दश दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन बुधबार सम्पन्न भएको छ ।
 
नेपालमा पहिलो पटक आयोजना भएको यो सम्मेलनमा चार दर्जन देशबाट एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए । इन्टरनेट तथा नेटवर्क इन्जिनीयर, प्रविधिसम्बन्धी नीति निर्माता र विश्वका चर्चित गुगल, फेसबुक, अमाजोन जस्ता प्रविधि कम्पनीको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।
 
सम्मेलनमा इन्टरनेट तथा नेटवर्क प्रविधिमा पहिल्लो समयमा आएका परिवर्तन र भविष्यमा आउने प्रविधिको विषयहरूमा बहस भएको थियो ।नेपालबाट वायरलेस नेटवर्कका अभियन्ता महावीर पुनले आफ्नो पछिल्लो परियोजना ‘नेपाल इनोभेसन सेन्टर’बारे प्रस्तुति दिए । सेन्टरले ‘मेडिकल ड्रोन’, पानी प्रशोधन प्रविधि र तीनपाङ्ग्रे ट्याम्पोको ब्याट्री मर्मतका लागि काम शुरू गरिसकेको बताउँदै पुनले थप परियोजनामा सहकार्यका लागि विज्ञलाई आह्वान गरे। 
 
सम्मेलनकै अवसरमा चर्चित क्लाउड कम्पनी ‘क्लाउड फ्लायर’ले नेपालमा आफ्नो डाटा सेन्टर शुरू गरेको घोषणा गरेको छ । उक्त कम्पनीले भारतपछि दक्षिण एसियामा नेपालमा यस्तो सेन्टर स्थापना गरेको हो । यस्तो डाटा सेन्टरको सञ्चालनले नेपालमा इन्टरनेट ब्राउजिङ सेवा थप छरितो हुने र ‘इन्टरनेट ब्यान्डविथ’का लागि विदेशिने लागत न्यून हुने छ ।
 
एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्त नेटवर्क सूचना केन्द्र (एपिनिक) ले इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो ।
 

Tata
GBIME
Nepal Life